हालै विश्व स्वास्थ संगठनले मंकीपक्स भाइरसलाई 'अन्तरराष्ट्रिय जनस्वास्थ्य आपत्काल' को घोषणा गरेको छ। बिगतमा अफ्रिकी महादेशमा मात्र सिमित देखिएको मंकीपक्स भाइरस एक पछि अर्को देशमा फैलदो क्रममा छ। केहि समय अगाडी भारतमा पनि यो भाइरस पुष्टि भएको छ। नेपालमा पनि मंकीपक्स भाइरसको जोखिम देखिन्छ। सामान्यतय लक्षणको आधारमा संक्रमणको अनुमान गर्ने गरिन्छ। ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थिहरु सुन्निनु मंकीपक्सका प्रारम्भिक लक्षणहरु हुन्। ज्वरो आएको १ देखि ३ दिनमा पानी फोका जस्तो घाउ अनुहार र मुख भित्र देखिने, अनि शरीरका अरु भागहरु जस्तै हात, खुट्टा, छाती, गुप्तांग, गुद्वार जस्ता देखिने गर्दछ। यधपी नमुना परीक्षण पुष्टिको लागि अनिवार्य हुनेछ। धेरैजसो २ देखि ४ हप्तासम्ममा मंकीपक्स आफै निको हुने गर्दछ।
अफ्रिकी महादेश बाहिर फैलदै गैरहेको मंकीपक्सको बारेमा धेरैले अनुमान नगरेको र अचम्मित भएका देखिन्छन। ५० वर्षसम्म अफ्रिकी महादेशमा मात्र सिमित मंकीपक्स एक पछि अर्को देशमा देखिन थालेपछि यसको फैलने तरिकाको बारेमा पनि धेरै अनुसन्धानकर्ताहरु बीच बहस र चासो भएको देखिन्छ। संक्रमितको मुखको छिटा, शरीरको घाउ र फोकाका तरल पदार्थ, संक्रमितले प्रयोग गरेका कपडा वा सर(समानबाट सर्ने गर्दछ। यौन सम्पर्कबाट पनि संक्रमण सर्न सक्दछ। तर हाल संक्रमण विशेषत पुरुष-पुरुष सम्पर्क गर्नेहरुमा बढी देखिदै आइरहेको छ। हालै विश्व प्रसिद्ध मेडिकल जर्नल 'न्यु इंगलैंड जर्नल अफ मेडिसिन' मा प्रकाशित लेखका अनुसार लगभग सबैजसो संक्रमितहरु पुरुष-पुरुष सम्पर्क गर्नेहरु अथवा समलिंगीमा देखिएको भनिएको छ। 'युके हेल्थ सेक्युरिटी एजेन्सी' बेलायतले पनि संक्रमण पुष्टि भएका अधिकांशहरु समलिंगीहरु नै थिए।
लिंग वा गुद्वारमा घाउ-फोका देखिने गरेको र सम्पर्क गर्दा संक्रमितको सो घाउ-फोकाको तरल पदार्थबाट संक्रमण फैलिरहेको अनुसन्धानकर्ताको भनाइ छ। विभिन्न देशहरुमा गरिएको अध्यनहरुले संक्रमितमध्ये अधिकांशको घाउ तथा फोका गुप्तांग र गुद्वार वरिपरि देखाएका छन। र त्यस्ता घाउरफोका अधिकांशमा ५ भन्दा कम संख्यामा देखिएको छ। मंकीपक्स अफ्रिकी महादेश बाहिर नौलो भएको र मंकीपक्स संक्रमितको फोटोमा शरीर भरि फोकाहरु देखिने गरेको जस्तै हाल फैलिरहेको मंकीपक्स संक्रमितहरुमा भने देखिदैन। अर्थात् हाल देखिएको मंकीपक्स क्लिनिक्ली फरक स्वरुपमा प्रस्तुत भएर फैलिरहेको देखिन्छ।
अफ्रिकी महादेश बाहिर मंकीपक्सको कारण एकपछि अर्को संक्रमितको मृत्यु भएको जानकारी छैन। हाल फैलदै गैरहेको मंकीपक्स अनुबांशिक रुपमा पश्चिम अफ्रिकी महादेशमा देखिदै आइरहेको मंकीपक्ससँग मिल्दोजुल्दो भनिएको छ। पश्चिम अफ्रिकी महादेशमा देखिने मंकीपक्सको मृत्युदर तुलनात्मक रुपमा मध्य अफ्रिकी महादेशमा देखिने मंकीपक्स भन्दा कम छ। यसर्थ यसकारण पनि अफ्रिकी महादेशमा बाहिर फैलिरहेको मंकीपक्सको कारणले हालसम्म मृत्यु नभएको हुन पनि सक्दछ।
नेपालमा मंकीपक्स समुदायमा फैलिसके पछि मात्र पत्ता लाग्ने सम्भावना बढी देखिन्छ। भारतमा हालै मंकीपक्स पुष्टि भएको संक्रमितको विदेश भ्रमण इतिहास नदेखिएकोले मंकीपक्स भारतमा भित्र भित्र फैलिसकेको अनुमान गर्न देखिन्छ। मिल्दोजुल्दो लक्षण नदेखिएसम्म नमुना परीक्षण नपठाउने र नमुना परीक्षण नगरेसम्म मंकीपक्स भाइरस पुष्टि नहुने भएकोले पछिल्ला अनुसन्धानहरुमा (अफ्रिकी महादेश बाहिर फैलिएको) देखिएका लक्षणहरुलाई नै आधार मानेर मंकीपक्सको शंका गर्न सके संक्रमण निदानको नजिक पुग्न सकिनेछ। हाल फैलिरहेको मंकीपक्स संक्रमितहरुमध्ये अधिकांशमा घाउ-फोका गुप्तांग वा गुद्वार वरिपरी देखिने गरेका छन। यसर्थ गुप्तांग वा गुद्वारमा घाउ-फोका देखिएको भए त्यो मंकीपक्स पनि हुनसक्दछ है!
( पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)