पेरु- कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि पेरुमा संकटकाल लम्ब्याइएको छ। पेरुमा कोरोना भाइरसको सङ्क्रमणको चौथो चरण सुरु भएको घोषणा गरिएको छ। संकटकाल आगामी अगस्ट १ देखि २८ दिनसम्म लागू हुने उल्लेख गरिएको छ ।
'देशमा कोरोना भाइरसको महामारी बढ्दै गइरहेको छ, यसले मानव स्वास्थ्यलाई ठूलो चुनौती दिएको छ, त्यसैले सरकारले लागू गरेको संकटकाल फेरि लम्ब्याउने निर्णय भएको छ,' सरकारी एक अधिकारीले भने।
अघिल्लो हप्ता औसतमा ११ हजार मानिस दैनिक नयाँ सङ्क्रमित भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पेरुमा पछिल्लो एक दिनमा १४ हजार १८६ जना सङ्क्रमित भएका छन् भने ४१ जनाको मृत्यु भएको छ।
पेरुमा कोरोना भाइरसका कारण अहिलेसम्म ३८ लाख ७३ हजार ७०२ जना सङ्क्रमित र दुइ लाख १४ हजार १२० जनाको मृत्यु भएको छ। रासस