काठमाडौं- चीनमा फेरि अर्को भाइरसको संक्रमण फैलिएको छ। कोरोना भाइरसको त्रास कम भइनसकेको अवस्थामा तीनको शेदोङ र हेनान प्रान्तमा लंग्या नाम गरेको हेनिपा भाइरसको संक्रमण फैलिएको हो।
ग्लोबल टाइम्समा प्रकाशित समाचार अनुसार चीनको यी दुई प्रान्तमा यो भाइसका कारण ३५ जना संक्रमित भइसकेका छन्। 'लंग्या' नाम गरेको यो भाइरस हेनिपा भाइरसकै नयाँ प्रकार हो। त्यसकारण यसलाई लंग्या हेनिपा भाइरस भनिएको छ।
यो भाइरस जनावरबाट मानिसमा सर्ने (जूनोटिक) खालको हो। जनावरबाट मानिसमा सर्ने यो भाइरस मानिसबाट मानिसमा सर्ने वा नसर्ने भन्ने विषयमा भने अनुसन्धान भइरहेको छ। यदी मानिसमा सर्ने रहेछ भने यो कोरोनाभन्दा तीव्र रुपमा फैलन सक्ने बताइएको छ।
हालसम्म देखिएका संक्रमणका आधारमा तयार पारिएको रिपोर्ट अनुसार लंग्या भाइरस संक्रमितमा ज्वरोको समस्या धेरै मात्रामा देखिएको छ। यसका साथै ज्वरोसँगै खोकी, शरीरमा थकान र पीडा, भोक नलाग्ने, बान्ता हुने, मांसपेशीको दुखाई, रगतमा सेता रक्तकोष र प्लेटलेट्सको संख्यामा कमी हुने जस्ता लक्षण पनि देखिएको छ।
यो भाइरस छुचुन्द्राबाट मानिसमा सरेको अनुमान गरिएको छ। यसका साथै यो भाइरसको संक्रमण कुकुरमा ५ प्रतिशत, बाख्रामा २ प्रतिशत देखिएको पाइएको छ।
यसको संक्रमणबाट बँच्न जनावरको सम्पर्कबाट बच्ने र लक्षण देखिएमा आइसोलेसनमा बस्दै चिकित्सकको निगरानीमा रहन सुझाव दिइएको छ।
यो भाइरसका विषयमा थप अध्ययन भइरहेको पनि बताइएको छ।
यो भाइरस यसअघि सन् २०१९ मा पत्ता लागेको थियो।