न्युयोर्क– अमेरिकाको न्युयोर्कमा आयोजित एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका साहित्यकार सलमान रूश्दीको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ।
सहयोगी एन्ड्रयु वाइलीले सलमानको एउटा आँखा गुम्ने सम्भावना रहेको बताए। ‘उहाँको पाखुराका नसाहरू काटिएका छन् र छुरा प्रहारबाट कलेजोमा क्षति पुगेको छ। रूश्दी बोल्न नसक्ने अवस्थामा उपचाररत हुनुहुन्छ,レ उनले भने।
सन् १९८८ मा प्रकाशित ‘द स्याटानिक भर्सेज’ नामक कृतिले मुसलमान समुदाय र मोहम्मदको अपमान गरेको आरोप लगाउँदै तत्कालीन इरानी सर्वोच्च नेता आयातोल्ला रूहोल्ला खोमेनीले फतवा जारी गरी रुश्दीको हत्या गर्ने आदेश दिएका थिए।
आक्रमण हुनसक्ने त्रासका कारण वर्षौंसम्म ‘भूमिगत’ जीवन बिताउँदै आएका सलमान रूश्दी र उनका सहयोगीमाथि शुक्रबार न्युयोर्कमा आक्रमण भएको थियो। आक्रमणपश्चात् हेलिकोप्टरमार्फत् अस्पताल पु¥याइएका उनको आकस्मिक शल्यक्रिया गरिएको थियो। उपचारमा सम्लग्न चिकित्सकका अनुसार रुश्दी अहिले बोल्न नसक्ने अवस्था छन् भने एउटा आँखाको ज्योति गुम्न पनि सक्ने देखिएको छ।
उक्त साहित्यिक कार्यक्रममा भाग लिइरहेका अमेरिकी विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक कार्ल लेभानले एएफपीलाई बताएअनुसार आक्रमणकारी रूश्दी बसेको मञ्चमा पुगी पटक–पटक र निर्मम तरिकाले छुरा प्रहार गरेका थिए ।
न्यूयोर्क राज्यको प्रहरीले आक्रमणकारी न्यूजर्सीको फेयरफिल्डका २४ वर्षीय हादी मटर भएको र उनले रूश्दीको घाँटी र पेटमा छुरा प्रहार गरेको जनाएको छ। छुरा प्रहारको कारण भने खुल्न सकेको छैन।
स्टेजमा रूश्दीको अन्तवार्ता लिइरहेका ७३ वर्षीय राल्फ हेनरी रीजको अनुहारमा पनि चोट लागेको थियो। उनलाई सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। रासस