मेभिल (न्युयोर्क)- विश्वचर्चित लेखक सलमान रूस्दीको स्वाथ्यमा क्रमिक सुधार आएको छ। उनको स्वास्थ्य स्थिर भएसँगै उनलाई चिकित्सकले भेटिलेटरबाट निकालेर सामान्य शय्यामा उपचार गरिरहेका छन्। उनी बोल्न थालेको छन्। रूस्दीका साथी आतिश तासीरले उनले ख्यालठट्टा गर्न थालेको सामाजिक सञ्जालमा लेखेका छन्।
विवादास्पद ‘सटानिक भर्सेस’का ७५ वर्षीय लेखकमाथि गत शुक्रबार पश्चिमी न्युयोर्कमा शुक्रबार आयोजित एक प्रवचन कार्यक्रममा २४ वर्षीय हादी माटरले चक्कु प्रहार गरी हत्याको दुष्प्रयास गरेका थिए। माटरले उनको घाँटी, पेट र हातमा चक्कुले पटक प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए।
यसैबीच, आक्रमणकारी माटरले हत्या र आक्रमणको आरोपमा आफू दोषी नभएको वयान दिएका छन् भने अभियोजकले त्यसलाई पूर्वनियोजित अपराध भनेका छन्। पश्चिमी न्युयोर्कमा भएको बहसका क्रममा न्यायाधिवक्ता जेसन स्मिटले अभियुक्त हत्याको योजनाका साथ ‘फर्जी प्रवेशपत्र लिएर कार्यक्रमस्थलमा पुगेको र त्यो अग्रिमरूपमा उसलाई हासिल भएको’ बताएपछि न्यायाधीशले जमानतबिना नै उनलाई हिरासतमा राख्न आदेश दिएका छन्। कालो र सेतो पोशाक अनि अनुहारमा ‘मास्क’ लगाएको अभियुक्तलाई न्यायाधीशसमक्ष उपस्थित गराइएको थियो।
लेखक, अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, सरकारी अधिकारीले रूस्दीको साहसको सराहना गर्दै आफ्नो जीवनलाई जोखिममा पारेर उहाँले वाक् स्वतन्त्रताका निम्ति योगदान गरेको बताएका छन्। उनीहरूले रूस्दीलाई विश्वभरका सताइएका लेखक एवम् पत्रकारका प्रेरणाका पुञ्ज भएका बताएका छन्।
लेखक एवम् कलाकार कल पेनले रूस्दी दक्षिण एशियालीका लागि उदाहरणीय एवम् आदर्श व्यक्ति हुन् भनेका छन्। स्वतन्त्र र खुला समाजका पक्षपाति रूसदी सत्य प्रस्तुत गर्न नहिच्किचाउने साहसी सर्जक भएको उनले बताएका छन्। रासस