काठमाडौं- जोन्सन एन्ड जोन्सनले सन् २०२३ देखि बेबी पाउडर उत्पादन र बिक्री पूर्ण रूपमा बन्द गर्ने भएको छ। अमेरिकामा यस पाउडरको बिक्री बन्द गरेको दुई वर्षपछि कम्पनीले यो निर्णय गरेको हो। जोन्सन एन्ड जोन्सनले महिलाहरूले गरेको ३८ हजार मुद्दाको सामना गरिरहेको छ।
जसमा जोन्सनको उत्पादनमा एस्बेस्टोस रहेको र त्यसैका कारण ती महिलालाई पाठेघरको क्यान्सर भएको आरोप लगाइएको छ। तर कम्पनीको अनुसन्धानले यसका उत्पादनहरू प्रयोग गर्न सुरक्षित रहेको देखाएको छ।
'विश्वव्यापी पोर्टफोलियो मूल्याङ्कनको एक भागको रूपमा, हामीले मकै पिठोमा आधारित बेबी पाउडर बनाउने व्यावसायिक निर्णय गरेका छौं,' जोन्सनको एक विज्ञप्तिमा भनिएको छ। मकै पिठोमा आधारित पाउडर विश्वका विभिन्न देशमा बिक्री भइसकेको पनि कम्पनीले जनाएको छ।
'विश्वभरका चिकित्सा विशेषज्ञहरूले दशकौंको स्वतन्त्र विश्लेषणले पुष्टि गरेको छ कि बेबी पाउडर सुरक्षित छ, यसमा कुनै एस्बेस्टोस छैन र क्यान्सर हुँदैन,' कम्पनीको विज्ञप्तिमा भनिएको छ।
रोयटर्सको रिपोर्टमा भनिएको छ कि यसको बेबी पाउडरमा एस्बेस्टोस हुन्छ। सन् २०२० मा कम्पनीले अमेरिका र क्यानडामा आफ्नो उत्पादन बेच्न बन्द गर्ने घोषणा गरेको थियो। त्यहाँ यो पाउडर सुरक्षित छैन भन्ने गलत सूचना फैलिएपछि धेरै मुद्दा दर्ता भएको र पाउडरको माग घटेको कम्पनीले जनाएको छ।
तर, त्यसपछि पनि कम्पनीले बाँकी देशहरूमा पाउडर बिक्री गरिरहेको थियो। हजारौं ग्राहकहरूले जोन्सन एन्ड जोन्सन विरुद्ध मुद्दा दायर गरेका छन् कि यसको पाउडरमा एस्बेस्टोस हुन्छ, जसले क्यान्सर निम्त्याउँछ।
सन् २०१८ मा समाचार एजेन्सी रोयटर्सले प्रकाशित गरेको एउटा अनुसन्धानमा जोन्सन एन्ड जोन्सन कम्पनीलाई यसको पाउडरमा एस्बेस्टोस छ भन्ने थाहा वर्षौंदेखि थाहा थियो भनिएको थियो। यो पाउडर हाइड्रेटेड म्याग्नेसियम मिसाएर बनाइन्छ जुन पृथ्वीमा पाइने खनिज हो र यो एस्बेस्टोसको छेउमा पाइन्छ। एस्बेस्टोस क्यान्सर निम्त्याउने पदार्थको रूपमा चिनिन्छ। बीबीसीबाट