काठमाडौं– भारतीय हास्यव्यंग्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था फेरि गम्भीर भएको छ। ९ दिनअघि अस्पताल भर्ना गरिएका श्रीवास्तवको अवस्था बीचमा केही समय सुधारोन्मुख देखिएपनि पुनः बुधबारदेखि गम्भीर भएको हो।
श्रीवास्तवलाई १० अगस्टमा कसरत गर्दै गर्दा हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको थियो। दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरेर उनलाई सोही दिन राति ‘एंजियोप्लास्टी’ गरिएको थियो। त्यसपश्चात पनि उनको होस नआएपछि उनलाई भेन्टिलेटर सपोर्टमा राखेर निगरानी गरिएको थियो। चिकित्सकहरुका अनुसार बुधबार राति उनको स्वास्थ्यमा केही सुधार आएको जस्तो देखिएपछि एक घण्टाका लागि भेन्टिलेटर सपोर्ट हटाइएको थियो। तर, पुनः उनलाई ज्वरो आउनेजस्ता समस्या देखिएपछि भेन्टिलेटर सपोर्टमै राखिएको छ।
बिहीबार भने उनको स्वास्थ्य थप बिग्रियो। भारतीय हास्य कलाकार सुनिल पालले श्रीवास्तवका परिवारसँग गरेको कुराकानी सार्वजनिक गर्दै भनेका छन्, ‘मैले राजुका भतिजसँग कुरा गरे। राजुको पछाडिको दिमागले काम गरेको छैन । डाक्टरहरु पनि आफ्नो सबै बल लगाएर प्रयास गरिरहेका छन् तर अब के हुन्छ भन्नेमा कसैसँग जवाफ छैन ।