काठमाडौं - छ्या ! कस्तो फोहोर रहेछ ट्वाइलेट त !
सलले मुख छोप्दै एक महिला शौचालयबाट बाहिर निस्किन्।
उनी निस्किदै गर्दा अर्की एक युवती शौचालय पस्नै लागेको थिइन्। उनी एकैछिन रोकिइन्। शौचालयभित्र पस्दा देखियो, त्यहाँ कसैले बान्ता गरेको रहेछ।
उनी त्यही बान्ता देखेर रोकिएको रहीछिन्। पिसाबले च्यापेर हतारमा पुगेकी उनी ‘छि छि’ भन्दै चर्पी भित्र पसिन्।
ह्वास्सै गन्हाउने गन्ध। चर्पीभित्र बच्चाले लगाएर छाडेको प्याम्पर। भुईभरी बान्ता। कुनै चर्पीमा त झन् ढोका पनि थिएन। पानी त थियो तर हात धुने साबुन थिएन।
यो फोहोर शौचालय हो, कान्ति बाल अस्पतालको।
कतिपय अभिभावकले त चर्पी बाहिरै आफ्ना बालबालिकालाई पिसाब समेत गराई रहेका थिए।
त्रिवि शिक्षण अस्पतालको शौचालयमा पुग्दा एक महिला भित्रबाट कराउँदै थिइन्।
‘म भित्र छु है बहिनी।’
उनी कराउनुको कारण थियो, चर्पीको चुकुल नहुनु। उनले हातले ढोकालाई धकेलेर शौच गर्दै थिइन्। भित्र रहेको चर्पीमध्ये उनी पसेकी चर्पीमा मात्र चुकुल थिएन।
कान्ति बाल अस्पतालको छेउमै रहेको त्रिवि शिक्षण अस्पतालको शौचालय भने सफा देखियो। यो अस्पतालको शौचालयमा पनि पानीको व्यवस्था थियो तर साबुन थिएन। गणेशमान सिंह भवन नजिक गाइनो वार्ड छेउमा रहेको शौचालयको एउटा ढोकाको चुकुल थिएन।
कुनै पनि संक्रमण र रोग फैलन नदिन अस्पतालका शौचालय सबैभन्दा सफा र व्यवस्थित हुनुपर्छ। तर उपत्यकाको सरकारी अस्पतालहरुको सबै शौचालयहरु पूर्ण रुपमा सफा छैनन्। प्रायजसो सरकारी अस्पतालमा जाँदा नाक थुनेर मात्रै जान सकिने अवस्था छ। कतै पानी छ त कतै साबुन छैन अनि कतै ढोकाको चुकुल छैन।
हामी कान्ति बाल अस्पताल सहित वीर, पाटन, त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको शौचालयको फिल्ड रिर्पोटिङका लागि पुगेका थियौ। यी अस्पतालहरुमध्ये सबैभन्दा फोहोर र दुर्गन्धित अस्पतालको रुपमा कान्ति बाल अस्पताल पायौँ।
शौचालय प्रयोग गरेबापत शुल्क
पाटन अस्पताल बाहेक यी चार वटा अस्पतालमा दिसा पिसाब गरेपछि हात धुनका लागि साबुनको व्यवस्था गरेको पाइएन। ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको शौचालय सफा थियो। साबुन र पानी दुवैको व्यवस्था गरिएको थियो। तर शौचालय प्रयोग गरेको बापत अस्पतालले भने शुल्क उठाउने व्यवस्था गरेको छ। पाटन अस्पतालको शौचालय प्रयोग गर्नेले पिसाब गरेबापत ५ र दिसा गरेबापत १० रुपैयाँ शुल्क अस्पताललाई बुझाउनुपर्नेछ।
अस्पतालमा पनि दिसा पिसाब गरेको पैसा लाग्छ ? शुल्क संकलन गरिरहेका अस्पतालका ती कर्मचारीलाई हामीले सोध्यौँ।
फोहोर गर्छन्। कतिले त ट्वालेटमा आएर सिरिन्ज हानेर जान्छन्। फोहोर नहोस्। अनि जथाभावी सिरिन्ज नफालोस् भनेर पैसा लिएका हौँ। उनले भने।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले नयाँ शौचालय निर्माण गरेको छ। यही साउनदेखि प्रयोगमा आएको शौचालय असारमा बनाइएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए।
नयाँ भएकाले शुक्रराज अस्पतालको शौचालय भने सफा छ। पानीको व्यवस्था गरिएको छ। तर साबुन छैन। नयाँ शौचालय प्रयोगमा आउनुभन्दा पहिले भने यो अस्पतालको शौचालय दुर्गन्धित हुने गर्दथ्यो।
कुनै बेला दुर्गन्धले पस्नै नसकिने वीर अस्पतालको शौचालय अहिले सफा हुने रहने गरेको छ। पानीको पनि व्यवस्था छ। तर साबुनको व्यवस्था छैन। फोहोर फाल्न डष्टबिन पनि राखिएको छ।
फोहोर शैचालयले बढाउँछ संक्रामक रोगको जोखिम
फोहोर शौचालय आफैँमा रोग फैलाउने एउटा माध्यम हो। त्यसमा पनि अस्पतालको शौचालय फोहोर हुँदा त्यसले संक्रामक रोगहरु फैलाउने जोखिम बढाउँछ नै। अस्पतालको शौचालय प्रयोग गर्ने भनेकै अधिकांश बिरामीहरुले नै हो।
फोहोर शैचालयले विभिन्न संक्रमणजन्य रोगको जोखिम बढाउने चिकित्सकहरु बताउँछन्। दिसा पिसाबको सही व्यवस्थापन नहुँदा हैजा, झाडापखाला फैलने संभावना हुने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए।
उनले भने, ‘शौचालयको सरसफाई र दिसा पिसाबको संक्रमणको व्यवस्थापनमा ध्यान दिइएन भने हैजा झाडापखाला जस्ता रोग फैलने डर हुन्छ।
फोहोर शैचालयले फैलाउन सक्ने संक्रामक रोगको जोखिम सबैलाई हुन्छ नै। तर विशेषगरी महिलाहरु यसको बढी जोखिममा पर्छन्।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका प्रमुख कन्सल्टेण्ट डा सन्देश पौडलका अनुसार फोहोर शौचालय र फोहोर पानीले महिलामा पिसाब र पिसाबको थैली संक्रमण हुने संभावना बढी हुने बताउँछन्। विशेषगरी शल्यक्रिया गरेका र डेलिभरी गराएका महिलाहरुमा घाउ पाक्ने र संक्रमण हुने संभावना रहने उनले बताए।
‘शौचालय फोहोर छन् भने महिलामा पिसाब र पिसाबथैलीको संक्रमण हुने संभावना बढी हुन्छ’ उनले भने, ‘डेलिभरी भइसकेको र सिएस गरेका महिलाहरु बढी जोखिममा पर्छन्।’
इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालकी उपाध्यक्ष सृजना भोमी फोहोर शौचालय विभिन्न संक्रमण फैलाउने एउटा माध्यम भएको बताउँछिन्। दिसाको माध्यमबाट सर्न सक्ने रोगहरु फैलने संभावना रहेको उनले बताइन्।
उनले भनिन्, ‘शौचालय फोहोर छ भने त्यही जुत्ता लगाएको गइन्छ। त्यही मानिस अस्पतालमा हिड्छन्। अस्पतालको शौचालय भनेको अधिकांश बिरामीले प्रयोग गर्ने हो। त्यसैले संक्रमणको एउटा माध्यम फोहोर शौचालय पनि हो।’
फोहोर शौचालय एउटा माध्यम भएपनि फोहोर हात अर्को प्रमुख माध्यम पनि हो। शौचालयको प्रयोग गरेपछि साबुन पानीले हात अनिवार्य धुनुपर्ने उनी बताउँछिन्। तर सरकारी अस्पतालहरुमा पानीको सुविधा भएपनि साबुनको व्यवस्था भने गरिएको छैन। ८० प्रतिशतभन्दा बढी रोगहरु हातको माध्यमबाट सर्ने गरेको उनी सुनाउँछिन्।
कुनै पनि संक्रमण नियन्त्रणका लागि हातको सफाई सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै उनी भन्छिन्, ‘शौचालयको प्रयोग गरेपछि हात धुनु अनिवार्य हुन्छ। हात धुने कामलाई प्रभावकारी बनाउँदै जान सकियो भने धेरै संक्रमण नियन्त्रण गर्न सकिन्छ। शौचालयमा त अनिवार्य हुन्छ नै। बाहिरी विभिन्न ठाउँ–ठाउँमा पनि हात धुन साबुन पानीको व्यवस्था गर्न आवश्यक छ।’