आत्महत्याको विषयमा जनचेतना जगाउने अवसरको रुपमा हरेक वर्ष सेटेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ। यो वर्ष ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस– २०२२ मनाइदैछ।
आफ्नो जीवन अन्त्य गर्ने उदेश्यले गरिएको कार्य स्वरूप मृत्युवरण गरेको अवस्था आत्महत्या हो।
आफ्नो जीवन अन्त्य गर्ने उदेश्यले गरिएको प्रयास आत्महत्याको प्रयास हो। विश्वभर वर्षेनी आत्महत्याका कारण करिब ७० लाख मनिसहरू ज्यान गुमाउछन्। प्रत्येक ४० सेकेन्डमा विश्वभर एक व्यक्तिले आत्महत्या गरिरहेका हुन्छन् भने एक व्यक्तिले आत्महत्या गरिरहँदा करिब २०/२५ व्यक्तिहरुले आत्महत्याको प्रयास गरिरहेका हुन्छन्। प्रत्येक आत्महत्याले कम्तिमा १३५ जनालाई प्रत्यक्ष असर पारेको हुन्छ।
बिगत १० वर्षको अवधिमा नेपालमा ५३ हजार २ सय ९८ जनाले आत्महत्याको कारण आफ्नो ज्यान गुमाएका छन्। जस अनुसार आर्थिक वर्ष ०६९/०७० मा ३ हजार ९ सय ७४ जना, ०७०/०७१ मा ४ हजार ५ सय ४ जना, ०७१/०७२ मा ४ हजार ३ सय ३२ जना, ०७२/०७३ मा ४ हजार ६ सय ८० जना, ०७३/०७४ मा ५हजार १ सय २४ जना, ०७४/०७५ मा ५ हजार ३ सय १७ जना, ०७५/०७६ मा ५ हजार ७ सय ५४ जना, ०७६/०७७ मा ६ हजार २ सय ७९ जना, ०७७/०७८ मा ७ हजार १ सय ४१ जना, र ०७८/०७९मा ६ हजार ८ सय ३० जनाले आत्महत्या गरेको तथ्यांक छ। तथ्यांक हेर्दा गत आर्थिक वर्ष २०७८/७९ मा भने आत्महत्याबाट ज्यान गुमाउनेको संख्या ४.३५ प्रतिशतले घटेको देखिन्छ। नेपालमा अझै पनि हेरक दिन सरदर १९/२० जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको पाइन्छ। नेपालमा अहिलेसम्म आत्महत्याका प्रयासहरु गणना गर्ने कुनै प्रविधि वा प्रणाली छैन। आत्महत्याको रोकथामको लागि हाल हटलाईन सन्चालनमा छ। आत्महत्याको सोचाई आएका जो कोहिले पनि ११६६ मा सम्पर्क गरेर सेवा लिन सकिन्छ। यो सेवा २४ घन्टै सन्चालनमा छ।
आत्महत्याको जोखिमको कारकहरू
-मानसिक बिमारी
-उदासीनताको मनोरोग (डिप्रेसन)
-रक्सीको दुर्व्यसन
-सिजोफ्रेनियाको मनोरोग
-विगतमा आत्महत्याको प्रयास गरेको/ पारिवारिक इतिहास
-आत्महत्या गर्ने साधनमा सहज पहुँच
-द्वन्द्व, प्रकोप, हिँसा, दुर्व्यवहार, एक्लोपन, तथा आफन्त वा आफ्नो प्रिय वस्तु गुमाउनु जस्ता घटनाहरु
जोखिममा भएका व्यक्तिहरुको पहिचान कसरी गर्ने?
-विगतमा आत्महत्याको प्रयास गरेको/ पारिवारिक इतिहास
-सुसाइड नोट लेख्नु
-बारम्बार आत्महत्याको कुरा गर्नु
-हीनताबोध,हरेश,निराशा र आत्मग्लानी
-हालसालमा ठुलो घटना घटेको
-मानसिक बिरामी
-दुर्व्यसनी
-एक्लोपन
आत्महत्याको जोखिम भएका व्यक्तिलाई सम्हाल्ने तरिका
-जोखिमका कारणहरुको आंकलन गर्ने
-कुनै पनि व्यक्ति आत्महत्या गर्न चाहन्छ कि छैन भन्ने कुरा थाहा पाउन व्यक्तिलाई सीधा सोध्ने
-आत्महत्याका हरेक धम्की वा वचनलाई संवेदनशीलताका साथ लिने
-कुरा गर्नका निम्ति उपयुक्त समय र स्थानको पहिचान गर्ने
-समय दिने
-सहानुभूति/समभावका साथ सुन्ने
-भावनात्मक सहयोग गर्ने
-परिवारजन र मित्रहरुलाई सम्पर्क गर्ने र उनीहरुसँग बिरामीलाई जोडिदिने। सहयोगको निश्चितता गर्ने
-यदि धेरै जोखिम छ भने कहिल्यै एक्लो नछोड्ने
-मनोचिकित्सक, मनोविद, परामर्शकर्ताकहाँ पठाउने।
-धैर्यता पूर्वक सुन्ने, सहानुभूति दर्शाउने
-मदत गर्ने
-स्थितिलाइ गम्भीरता साथ लिने र जोखिमको आंकलन गर्ने
-आत्महत्या बाहेक अन्य सम्भावनाका बारे बुझ्ने
-आत्महत्याको योजनाका बारे सोध्ने
-सम्भावित साधनहरु हटाउने
-अन्य सहयोगको पहिचान गर्ने
-पहलकदमी लिने, अरुलाई भन्ने र सहयोग लिने
-यदि धेरै जोखीम छ भने कहिल्यै एक्लो नछोड्ने
आत्महत्याको जोखिम भएका व्यक्तिहरूसंग के नगर्ने?
-परिस्थितिलाई बेवास्ता गर्नु हुन्न
-छक्क पर्ने वा हतोत्साहित नहुने
-“सबै कुरा ठीक हुन्छ” नभन्ने
-गलत आश्वासन नदिने
-समस्यालाई सानो नदेखाउने
-व्यक्तिलाई चुनौती नदिने
-एक्लै नछोड्ने
अर्को मानवको जीवनप्रतिको प्रतिबध्दता, संवेदनशीलता र चासो अनि जीवन जीउन लायक छ भन्ने दृढ विश्वासले हामीलाई आत्महत्याको रोकथाममा प्रेरित गर्न सक्छ।
(मानसिक स्वास्थ्य तथा नसर्ने रोग शाखाले तयार पारेको रिपोर्टमा आधारित)