'औषधिको सुरक्षित प्रयोग गरि बिरामी सुरक्षाको प्रत्याभूत गरौं' भन्ने नाराका साथ आज विश्वभर बिरामी सुरक्षा दिवस मनाइँदै छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष सेप्टेम्बर १७ का दिन विश्वभरी नै विश्व बिरामी सुरक्षा दिवस मनाउदै आइरहेको छ। विश्व स्वास्थ्य संगठनको मे २०१९ मा भएको महासभाको निर्णयले बिरामी सुरक्षा विश्वव्यापी कार्यको लागि सेप्टेम्वर १७ तारिखमा हरेक वर्ष विश्व बिरामी सुरक्षा दिवस मनाउने निर्णय गरेको थियो।
नेपालले पनि विगत वर्षहरुदेखि विभिन्न नाराहरु सहित देशैभरी विश्व बिरामी सुरक्षा दिवस मनाउदै आइरहेको छ। देशका सबै स्वास्थ्य संस्थाहरुमा बिरामी सुरक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरुका माध्यमबाट स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धि, व्यवस्थापकहरुको अभिमुखीकरण र नीति निर्माणका लागि जनप्रतिनिधिहरु मार्फत बहस, पैरवी जस्ता क्रियाकलापहरु संचालन हुदै आइरहका छन्।
यस वर्षको विश्व बिरामी सुरक्षा दिवसको नारा 'औषधिको सुरक्षित प्रयोग गरि बिरामी सुरक्षाको प्रत्याभूत गरौं' भन्ने रहेको छ। यो नाराले औषधि सुरक्षासँग सम्बन्धित बिषय वस्तुलाई उजागर गर्ने उदेश्य लिएको छ। औषधि सम्बन्धी त्रुटिहरू र असुरक्षित अभ्यासहरूका कारण औषधि-सम्बन्धित हानिको उच्च बोझको विश्वव्यापी चेतना जगाउने र औषधि सुरक्षा सुधार गर्न तत्काल कार्यको वकालत गर्नेको लागि यस वर्ष यो दिवस मनाइदै छ।
औषधिको जथाभावी प्रयोग गर्ने क्रम बढदो छ जसले गर्दा प्रतिजैविक प्रतिरोध बढ्दो छ। विश्वमा प्रति वर्ष १२ लाख ७० हजार मानिसहरुको मृत्यु प्रतिजैविक प्रतिरोधले हुँदै आएको छ साथसाथै बिरामीलाई हानि हुनुको मुख्य कारण अनुपयुक्त र ढिलो निदानले गर्दा हो त्यसैले औषधि प्रयोग सम्बन्धि त्रुटिहरू रोक्न र जथाभावी औषधि प्रयोगसंग सम्बन्धित हानि कम गर्ने प्रयासहरूमा मुख्य सरोकारवालाहरू र साझेदारहरूलाई संगसंगै अगाडी वढाउने यो दिवसको उदेश्य रहेको छ। बिरामी र बिरामीका परिवारहरूलाई औषधिको सुरक्षित प्रयोग बारे सही जानकारी दिई सो बाट हुने हानि वाट आफ्नो सुरक्षा गर्नको लागि सचेत बनाउने समेत यो वर्षको उदेश्य हो।
त्यसैले औषधि दिनुभन्दा पहिले स्वास्थ्यकर्मीले अनिवार्य: तपसिल बमोजिम गरौं
१. आफूले बिरामीलाई दिने औषधिको बारे विस्तृत रुपमा थाहा पाउनुहोस् ।
२. सो औषधि सेवन गर्न किन जरुरी छ भनेर बिरामीलाई बुझाउनुहोस् ।
३. बिरामीले सही औषधि, मात्रा, तरिका र समयमा प्रयोग गर्नेबारे बुझ्नु भएको वा नभएको एकिन गर्नुहोस् ।
४. औषधिको सम्भावित ‘साईड इफेक्ट‘ बारे बिरामीलाई सुचित गर्नुहोस् ।
बिरामीहरुले औषधी लिनु भन्दा पहिले अनिवार्य: तपसिल वमोजिम सचेत हौं
१. आफ्नो औषधि बारे जानकार रहनुहोस्।
२. औषधिको सेवन गर्ने तरिका, मात्रा र समय तालिका जस्ता कुरा राम्रोसँग बुझ्नुहोस्।
३. कुनै कुरामा द्विविधा भए तत्काल सोध्नुहोस् ।
४. चिकित्सकको सल्लाह अनुसार मात्र औषधिको सेवन गर्नुहोस्।