एकदिन कपाल काट्न भनेर म हजाम दाईकोमा गएको थिएँ। कुराकानी गर्दै जाँदा दाईले मसँग तर्क राख्नुभयो-तिमी डाक्टर बनेर महिनाको कति कमाउँछौ?
मैले जवाफ दिएँ, यति नै भन्ने हुँदैन, कति बिरामी आउँछन् त्यसमा भरपर्छ। अनि दाइले भन्नुभयो- मेरो पसलमा कपाल दारी काट्न भनेर दैनिक थोरैमा ५० जना आउँछन्। प्रतिव्यक्ति १०० मात्र लिँदा दैनिक पाँच हजार थोरैमा कमाई हुन्छ, महिनाको १ लाख ५० हजार।
अझैं थप्नुभयो- तिमी सानो भएदेखि तिम्रो कपाल काटिराछु, डाक्टर पढ्न थालेदेखि कपाल पनि पातलो भएछ, आँखा पनि कमजोर भएछ।
यति दुःख गरेर म जत्ति पनि कमाउन सक्दैनौं भने पढेको के अर्थ?
म आफ्नो काम गरेर सन्तुष्ट छु तर पढाई सकेपछि तिमि सन्तुष्ट हुन सक्छौ?
यति कुरा सुन्दा तत्कालै मैले कुनै जवाफ दिन सकिन। कुरा सुनेर धेरै सोचमा परेँ, आफूले जवाफ दिन नसकेपछि अर्कोदिन आफूभन्दा सिनियरलाई गएर यही प्रश्न गरेँ।
उहाँहरुले भन्नुभयो- एक चिकित्सकले विपत्ति भनेको के हो बुझेको हुन्छ। धेरै मृत्यु, पीडा र दुःख देखेको हुन्छ। साथसाथै बिरामीको मुखमा खुसी आशा र बाँच्ने हौसला पनि देखेको हुन्छ। हाम्रो पेशा भनेको निस्वार्थ पेशा हो। मानिसहरूले हामीलाई तिनीहरूको जीवनको सबैभन्दा आशाहीन परिस्थितिहरुमा खोज्ने गर्छन र त्यो जटिल परिस्थितीमा उनीहरूलाई मार्गदर्शन गराउने, सान्तोना दिलाउने र उपचार गर्ने जिम्मेवारी हामीले बोकेको हुन्छौ।
कमाईको कुरा गर्दा, एउटा साधारण मान्छेले कमाउने भनेको कसको लागि हो? सायद कसैले आफ्नो लागि मात्रै भनेर कमाउँदैन होला, उस्ले कमाउने भनेको आफ्नो घरपरिवारको लागि हो, आफ्नो बालबच्चाहरुको भविष्य सुरक्षित होस् भनेर कमाउने हो, तर हाम्रो पेशामा जस्को लागि दिनरात नभनी बिरामीको सेवा गरिन्छ उसैलाई समय दिने फुर्सद हुँदैन।
हाम्रो लागी हाम्रो कमाई भनेकै बिरामी ठीक भएर आफ्नो घर फर्किनु हो। र सम्पती जोड्नु भनेकै आएका बिरामीको उपचार गरेर उस्को आयु जोड्नु हो। भौतिक सम्पती कमाउने हो भने त इट्टाभट्टा खोल्थे वा कुनै व्यापार गर्थे होला।
स्वास्थ्यकर्मी कुटिए, तलब थोरै छ, डाक्टरले पहिले जस्तो पैसा कमाउँदैन, विदेश नगई केही उपाय छैन, अब डाक्टर बनेर केही काम छैन जस्ता कुरा सुनेर निरास भएर आफूले रोजेको पेशामा शंका गर्नूहुँदैन।
त्यसैले अंकित बाबु, बिरामीलाई सञ्चो बनाएर घर फर्कदाको खुसी र सन्तुष्टी के हो भन्ने कुरा अनुभव बटुल्दै जाँदा आफैं बुज्छौ, धेरै पिर नगर।
यती सुनेपछि मेरो आँखा खुल्यो र मन हल्का भयो र साथै अमूल्य पाठ पनि सिकेँ।
हजाम दाईले शायद आफूले कपाल काट्ने कामलाई सानो काम हुँदाहुँदै पनि डाक्टर जस्तो ठूलो पेशा भन्दा धेरै पैसा कमाउन सक्षम छु भन्ने सोचेर मलाई त्यसो भन्नुभएको होला।
अब हजाम दाईलाई मेरो उत्तर,
कुनै पनि पेशा सानो ठुलो हुँदैन, पढेर धेरैं पैसा कमाउँछु भन्ने सोच लिने मान्छे बरु सानो हुन्छ।
हजाम खोलेकै दिनदेखि ५० जना आउन थालेको हैनन् होला, दुःख गरेर २० वर्षसम्म पसल राखेपछि बल्ल सोचेजस्तो पैसा कमाउन सके। त्यसैगरी जुनै विषय पढे पनि जे काम गरे पनि, सजिलै सोचेजस्तो आम्दानी हुन्छ भन्नु आफैंलाई ठूलो भ्रममा राख्नु हो।