‘बेदमा विज्ञान’ भनेझैं सातुको महत्व आयुर्वेदमा समेत प्रष्ट परिएको छ। सातु बालबालिकाका लगि एक पौष्टिक आहारको रुपमा लिइन्छ। जबकी, हामी बजारका महँगा विभिन्न स्यार्लेक्स र लिटो खोज्दै हिँडेका हुन्छौं। हाम्रो मैलिक र परम्परागत रैथाने सातु कति स्वास्थ्यवद्र्धक भन्ने ज्ञान कमैलाई मात्र छ।
अर्कोतर्फ, नयाँ पुस्ताले सातुलाई बिर्संदै गएको र बजारमा पाइने लिटो तथा स्यार्लेक्स बाल–बच्चालाई खुवाउने प्रचलन बढेको छ। मल्टिग्रेन सातु बालबालिकाका लागि अमृत सरह हुने पोषणविदहरुको भनाइ छ। ताजा गेडागुडी र नट्सहरु प्रयोग गरेर बनाइने मल्टिग्रेन सातु बजारमा किनेको भन्दा आफैंले घरमा तयार गरेको उत्तम हुन्छ।
पहिला–पहिला पेट भर्न खाइन्थ्यो भने पछिल्लो समयमा खाना भनेको पेट भर्न मात्र होइन, स्वस्थ, तन्दुरुस्त र दीर्घ जीवनका लागि खाइनुपर्छ भन्ने चेतना बढेको छ।
सातु नेपालीको पुरानो र मैलिक परिकार हो। सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय बिहान, दिउँसो, बेलुका जुनसुकै बेला खान थालिएको छ। स्वास्थ्यवद्र्धक भन्ने बुझ्न थालेपछि धेरैले सातुका परिकार सेवन गर्न थालेका छन्। सातु आफैंमा सन्तुलित पौष्टिक आहार भएका कारण बच्चादेखि बुढाबुढी सबैका लागि उत्तम मानिएको छ।
सातु परम्परागत रुपमा महीसँग खाने गरिन्थ्यो भने पछिल्लो समय तातो या चिसो पानी, तातो या चिसो दूधसँग मात्र नभई विभिन्न फलफूलको रस या दहीसँग समेत खान थालिएको छ। कर्नप्फेक्स, मुस्ली, चोकोज ओट्स जस्ता पूर्ण रुपमा प्रेसेसिङ गरेर तयार गरिएका परिकार भन्दा सातु कयौं गुणा स्वास्थ्यवद्र्धक हुने हुँदा यसको क्रेज दिनानुदिन बढ्दो छ।
सातुमा भिटामिन, मिनरल्स, क्याल्सियम, प्रोटिन र फाइबर पर्याप्त मात्रामा पाइने हुँदा सबै उमेर समूहका लागि एक सन्तुलित आहार मानिन्छ। विभिन्न व्यावसायिक समूहले समेत सातुलाई फरक रेसिपी गरेर लोभ्याउन थालेका छन्। काजु, बदाम जस्ता महँगा नट्स मिसाएर बनाएको सातुको विज्ञापनहरु बजारमा देखिन थालेको छ।
सबैभन्दा स्वस्थकर भनेको परम्परागत रुपमा बनाइने सातु नै हो। जुन माटोको हाँडीमा ग्रेन्स भुटेर ढुंगाको जाँतोमा पिसिन्थ्यो र ताजा–ताजा खाने गरिन्थ्यो। अहिले व्यावसायिक रुपमा बनाइने सातु धेरै दिन बजारमा रहने हुँदा यसको आयुमा धेरै कमी आएको हुन्छ। बोराका बोरा मेसिनमा पिसिने हुँदा बजारको सातुमा फाइबर पनि कमै पाइन्छ।
सातु एकै दिन पटक–पटक खानु राम्रो मानिँदैन। सुत्ने बेलामा पनि सातु नखाँदा राम्रो हुन्छ। सातु खाँदाखाँदै पटक–पटक पानी पिउनु पनि राम्रो होइन र चपाइरहनु पनि उत्तम होइन। मिठो भयो भनेर अत्यधिक सातु सेवन गर्नु पनि हानिकारक मानिन्छ।
वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दित जौको सातु र सर्बत खाने चाड परापूर्वकालदेखि नै मनाइने गरिन्छ। सातुको महत्व आयुर्वेदमा समेत प्रष्ट पारिएको छ। सातुलाई कण्ठरोग, नेत्ररोग, भोक, प्यास, थकान, उल्टी, बन्द घाउ आदि नाशक भनेर उल्लेख गरिएको छ। नियमित सातु सेवन गर्नेलाई मधुमेह, कुष्ठरोग, क्षयरोग नहुने बताइएको छ।
बालबालिकालाई खुवाउने मल्टिग्रेन हेल्दी मिक्स सातु कसरी बनाइन्छ ?
मल्टिग्रेन हेल्दी मिक्स सातु बनाउन चाहिने सामग्रीः मकै–२०० ग्राम, भटमास–१५० ग्राम, चामल– २५० ग्राम, गहुँ– ३५० ग्राम, चना– २०० ग्राम, केराउ– १५० ग्राम, जौ– १२० ग्राम, आल्मन्ड– ८० ग्राम, बदाम– १२० ग्राम, मुग दाल– २०० ग्राम, काजु– ६० ग्राम।
मल्टिग्रेन हेल्दी मिक्स सातु बनाउने विधिः उल्लेखित सम्पूर्ण गेडागुडीलाई राम्ररी पखालेर ड्राई बनाई माटोको हाँडी या बाक्लो कराइमा भुट्ने। केही चिसो हुनासाथ अन्य सामग्री हालेर जाँतो, घट्ट, ओखल या ग्र्यान्डरमा मसिनो गरी पिस्ने। चाल्नो या जालीमा छानेर सफा बोटल या डब्बामा एयर टाइट गरी राख्ने। नुनिलो रुचाउनेले वीरे नुन या रक साल्ट हाल्ने। गुलियो रुचाउनेले मिस्री या सख्खर हालेर तातो या चिसो दूध, चिसो या तातो पानी, दही या मही जेसँग पनि सेवन गर्न सकिन्छ। स्यार्लेक्सभन्दा स्वास्थ्यवद्र्धक हेल्दी मिक्स पाउडर सातु घरमै बनाएर आफ्ना बालबालिकालाई नियमित खुवाउन सकिन्छ।