गिजाबाट रगत आउने समस्या भएका बिरामीहरु अस्पतालमा आइरहेका हुन्छन्। गिजाबाट रगत बग्ने समस्या लिएर आएका बिरामीमा रगत बग्ने बाहेक गिजाको अन्य समस्या पनि हुन्छ।
गिजाबाट रगत आउने, श्वास गन्हाउने वा गिजा सुन्निने समस्याको उपचार मेसिनको सहायताले दाँतका सबै सतह र गिजाको भित्री सतहलाई सफा गरेर गरिन्छ। जसलाई हामी ओरल प्रोफिल्याक्सिस वा साधारण भाषामा दाँतको स्केलिङ भन्छौं।
मैले यो विधिलाई मोटरसाइकल वा गाडीको सर्भिसिङसँग दाँज्ने गरेको छु। समस्या आएमा मात्र बाइक वा कार देखाउन जाने होइन। नियमित सर्भिसिङको टाइम–टेबल हुन्छ। त्यस्तै हाम्रो मुखको स्वास्थ्यको पनि नियमित चेकअप र उपचार गराउने टाइम–टेबल बनाएको खण्डमा मुख स्वस्थ रहन्छ। समय–समयमा परीक्षण र उपचार नगरे दाँत तथा गिजामा समस्या बल्झेर उपचार समेत महँगो पर्न जान्छ।
दाँत माँझ्दा किन रगत बग्छ?, यो कस्तो खालको रोग वा समस्या हो?, गिजाबाट रगत बग्ने कारण के–के हुन् ?, रगत बग्न नदिने केही घरेलु उपाय छ?, कस्तो अवस्थामा अस्पताल जाने?, कसलाई देखाउने? यी विषयमा जानकारी दिन चाहन्छु।
दाँत माँझ्दा किन रगत बग्छ?
गिजा स्वस्थ छैन भने दाँत माँझ्दा रगत बग्छ। प्रत्येक ६ महिनामा दन्त चिकित्सकसँग परामर्श गरी उपचार गर्ने परिपाटी हामीकहाँ अझै विकास हुन सकेको छैन। समय–समयमा उपचार नगर्दा दाँत र गिजाको बीचमा फोहोर जम्मा हुँदै जान्छ। र, दाँत माँझ्दा रगत बग्छ।
दाँत माँझ्दा रगत बग्नु रोग वा समस्या के हो?
गिजाको भित्री सतह, जुन दाँतसँग टाँसिएको हुन्छ। त्यसमा अल्सर जस्तो सानो–सानो घाउ बनेको हुन्छ, जुन दाँत माँझ्दा हुने घर्षणले रगडिन्छ र घाउबाट रगत आउँछ।
यो कस्तो खालको रोग वा समस्या हो?
यो सुरुवातमा समस्या मात्र हो। श्वास गन्हाउँदा र दाँत माँझ्दा रगत बग्दा उपचार नगरिएको खण्डमा पछि गएर गिजामा संक्रमण हुन्छ र आफैं रगत बग्न थाल्छ। दाँत र गिजाको बीचमा फोहोर जम्मा हुने क्रमलाई मेसिनको सहायताले दाँत सफा गरी नरोकिएमा मुखमा भएको फोहोरको कारणले मुखको हड्डी समेत गल्न थाल्छ र हड्डी गल्न थालेपछि दाँतहरु विस्तारै हल्लिन थाल्छन्। हल्लिएको दाँत निकाल्नुपर्ने पनि हुन सक्छ।
गिजाबाट रगत बग्ने कारण के–के हुन्न्?
सामान्यतया दाँत र गिजाको बीचमा जम्ने फोहोर जसलाई हामी प्लाक र क्यालकुलस भन्छौं। त्यसले गर्दा रगत बग्छ। प्लाक र क्यालकुलसलाई मेसिनको सहायताले सफा गराएमा रगत बग्ने क्रम रोकिन्छ। यो बाहेक गर्भवती अवस्था र अन्य स्वास्थ्य समस्याको कारण पनि गिजाबाट रगत बग्न सक्ने सम्भावना रहन्छ।
रगत बग्न नदिने केही घरेलु उपाय छ?
घरेलु उपाय भनेको दैनिक दुई पटक फ्लोराइडयुक्त मञ्जनले दाँत माँझ्ने, दाँतहरुको बीचमा डेन्टल फ्लस भन्ने धागोले सफा गर्ने, खानेकुरा खाएपछि प्रशस्त पानी पिउने र कुल्ला गर्ने गर्नुपर्छ। तर यतिले मात्र पुग्दैन। दाँतलाई नियमित मेसिनले सफा गराउनै पर्छ।
कस्तो अवस्थामा अस्पताल जाने, कसलाई देखाउने?
दाँत तथा समग्र मुख स्वास्थ्यको लागि केही समस्या भएमा मात्र अस्पताल गएर दन्त चिकित्सकलाई देखाउने भन्ने सोच राख्नु हुँदैन। हरेक ६–६ महिनामा नियमित रुपमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकलाई मुख स्वास्थ्य परीक्षण गराउनु नै बुद्धिमानी हुन्छ।
समस्यालाई सुरुवाती अवस्थामा नै पहिचान गर्न सकियो र उपचार गर्न सकियो भने दाँतको उपचार त्यति महँगो हुँदैन। तर हामीकहाँ अहिले पनि बिरामीहरू समस्या जटिल नहुन्जेल अस्पताल आउनुहुन्न।
दाँत दुख्यो वा गिजाबाट रगत आयो भने पहिला फार्मेसीबाट औषधि लिएर खाएर थामथुम पार्ने र त्यसले भएन भने मात्र डाक्टर कहाँ आउने हुँदा समस्या धेरै बल्झिएर महँगो उपचार गर्नुपर्ने अवस्था आउँछ।
(डा कुँवर डेन्टल सर्जन हुन्।)