काठमाडौं- काठमाडौं यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत स्वीडेनका वैज्ञानिक स्वान्टी पाबोलाई प्रदान गरिने भएको छ।
पुरस्कार समितिले मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नीयनडर्थलहरूको आनुवंशिक कोड पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार दिइएको जनाएको छ।
उनले पहिले पत्ता नलागेको मानव जातिको अज्ञात नजिकका पूर्वज डेनीसोभाहरू पत्ता लगाउने सनसनीपूर्ण उपलब्धि पनि हासिल गरेका छन्।
उनको कामले हामी मानवको आफ्नै विकासक्रमको इतिहास र कसरी मानिसहरू पृथ्वीभरि फैलिए भनेर खोजी गर्न मद्दत पुगेको बताइएको छ।
आनुवंशिक विज्ञ उनको काम मानव विकाससम्बन्धी केही आधारभूत प्रश्नमा केन्द्रित रहेको छ। त्यस्ता प्रश्नमा हामी कहाँबाट आएका हौँ र हामी होमो स्यापियन्सका रूपमा हाम्रा अन्य पुर्खाहरू लोप हुँदा पनि कसरी सफल हुन सक्यौ वा केले गर्दा त्यस्तो सफलता मिल्यो भन्नेलगायत छन्।
सन् १०९० देखि नै यस्ताखाले खोजमा काम भइरहेको छ तर त्यो पुराना डीएनएहरूमा भर पर्ने गरेको थियो।
नोबेल कमिटीले भनेको छ, 'अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवंशिक फरक हाम्रा अगाडि राखिदिएर उनको अनुसन्धान हामी मानव विशिष्ट कसरी छौँ भन्ने पत्ता लगाउने आधार बनेको छ।' उनले १ करोड स्वीडिश क्रोनर पुरस्कार जितेका छन्।