हाल बिरामीहरु खासै स्वास्थ समस्या नदेखिएसम्म अस्पताल आउन चाहँदैन/आइरहेका छैनन्। तसर्थ हाल सार्वजनिक भएको तथ्यांकभन्दा कयौ गुणा बढी डेंगु संक्रमित नेपालमा रहेको सहजै अनुमान गर्न सकिन्छ।
अस्पतालमा 'डेंगु क्लिनिक' स्थापना भएदेखि नै बिरामी हेर्दै गर्दा पछिल्लो एक/दुई हप्ता यता डेंगु जस्तो लक्षण भएका बिरामी घरघरमा नै बस्न रुचाएका देखिन्छन्। अर्थात्, अस्पतालको चाप समुदायमा थपिएको देखिन्छ।
हालका बिरामीहरु विशेषत डेंगु बिरामी भइसकेका आफन्त, साथीभाइ वा छर-छिमेकीसँग अस्पतालको अवस्था र चिकित्सकले गर्ने उपचारको बारेमा सोधी-खोजी गर्ने गरेका देखिन्छन्।
अस्पतालमा अत्यधिक भीडभाड र डेंगु पुष्टि भए औषधिमा सिटामोल बाहेक अरु नदिने भन्ने थाहा पाएपछि अस्पताल नआउने गर्दछन्। घरमा बसिरहेको अवस्थामा कुनै अस्वाभाविक स्वास्थ्यमा समस्या देखिए वा लम्बिए मात्र बिरामीहरु अस्पताल आउने गरेका देखिन्छन्।
केही दिन अगाडि एक ४८ वर्षीया महिला डेंगु जस्तो लक्षण भएको १२ दिनपछि अस्पताल आइपुगेकी थिइन्। लामो समयसम्म शारीरिक पीडाले नछोडेपछि परीक्षणका लागि उनी अस्पताल आएकी थिइन्।
अस्पताल आउनुपर्ने कारण सोध्दै गर्दा बिरामी घरमा बसेर स्वास्थ्य लाभ गरिरहेको अवस्थामा आफन्तले मेवाको पात खाए छिटो स्वास्थ्यमा सुधार हुने भनेर सुझाएका रहेछन्। मेवाको पात थिचेर एक गिलास पानीमा हालेर खाएपछि निरन्तर कमजोर र रिंगटा लाग्ने गरेको र बेहोस होला कि भनेर एकदम भयभित/त्रसित भएका रहेछन्।
१२ दिनको अवधिमा अत्यधिक शारीरिक पीडा खासगरी टाउको, ढाडको तल्लो भाग, आँखाको गेडी दुख्ने जस्ता स्वास्थ्य समास्य देखिएको रहेछ।
त्यस्तै खानामा तीव्र अरुचि हुने र वाकवाक लाग्ने समेत भएको रहेछ। यसबीच शरीर अत्यधिक चिलाएको पनि रहेछ। 'हिजो मलाई फोन गरेर एक आफन्तले मेवाको पात ल्याइदिउँ भन्नुभएको थियो। मैले आबुई, हुँदैन-हुँदैन' भनें भन्दै आफू मेवाको पातले एक पटक झन्डै बेहोस भएको भन्दै स्मरण गराएकी थिइन्।
केही हप्ता अगाडि एक डेंगु बिरामीले पनि मेवाको पात लगातार तीन दिनसम्म सेवन गरिसकेपछि बेहोस अवस्थामा आइपुगेका थिए।
डेंगुका बिरामीले मेवाको पात खाएर बेहोस?
अहिले डेंगुको लहर उत्कर्षमा छ र स्थिर देखिन्छ। घरमा परिवारका कम्तीमा पनि ७० प्रतिशतभन्दा बढी डेंगुबाट ग्रसित भइसकेका र बाँकी सायद हुने क्रममा छन्। किनभने, घरघरमा लामखुट्टेको प्रवेश भइसकेकोले यस्तो अवस्था सिर्जना भएको हो।
यसको अर्थ हाल मेवाको पातको प्रयोग पनि धेरैले गरिरहेका हुन सक्छन्। छिटो निको हुने र प्लेटेलेट्सको संख्यामा देखिने कमीलाई छिटो बढाउन भनेर नै मेवाको पात सेवन गरेको देखिन्छ। तर सम्बन्धित विज्ञ/विशेषज्ञ (सायद आयुर्वेदिक चिकित्सक?) सँग परामर्श नलिई जथाभावी मेवाको पात प्रयोग गर्दा स्वास्थ्यमा समस्या/जटिलता देखिने गरेको चिकित्सकहरुसँग कयौ उदाहरण छन्।
यद्यपि, मेवाको पातको प्रयोग डेंगु संक्रमितले गर्नु कति उचित हो/होइन भन्नेबारेमा सम्बन्धित निकायले विज्ञ/विशेषज्ञसँग परामर्श लिएर छिटोभन्दा छिटो आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ र अहिले उपयुक्त समय पनि हो। यसबाट हाल जनमानसमा (विशेष गरेर संक्रमितहरुमा) मेवाको पातप्रति रहेको दुविधाको निराकरण पनि हुने थियो।
अन्त्मा, यहाँ भन्नै पर्छ कि, लेखकको लामो अनुभवले लगभग सबै डेंगु संक्रमितहरु मेवाको पात बिना नै लक्षणहरु र प्लेटेलेट्सको संख्यामा देखिएको कमी झन्डै ८-१० दिनको अवधिपछि सामान्यकरण हुँदै पूर्ण स्वास्थ लाभ गरेका थिए/छन्।
छिटोछिटो निको हुन्छु र आजको भोलि नै प्लेटेलेट्सको संख्या ह्वात्तै बढाउँछु भन्दै मेवाको पात जथाभावी सेवन गर्नाले बिरामी स्वास्थ्य लाभ गर्नुको सट्टा जटिलताको सामना गर्नुपर्ने अवस्था सिर्जना नहोस् भन्ने लेखकको चाहना हो।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)