'आँखामा नीलो आकाश अटाउँछ भने कहिलकाहीँ गहिरो सागर पनि बग्छ'
'हुनत आँखा एउटा समग्र ब्रमाण्ड हो, जहाँ माइल दुरीसम्मका तस्बिरहरु कैद भएका हुन्छन्'
प्रकृति अनि सुन्दर संसारको शितलतामा विलप्त हुन कसलाइ पो चाहाँना नहोला र अझ भन्नु पर्दा मानिस मात्र नभएर प्राय सबै प्राणीहरु प्रकृतिप्रेमी हुन्छन्। सुन्दर संसारको परिकल्पना त्यतिबेला हुन्छ जति बेला हाम्रा आँखा स्वस्थ हुन्छन्।
हुनत आँखा एउटा समग्र ब्रमाण्ड हो, जहाँ माइल दुरीसम्मका तस्बिरहरु कैद भएका हुन्छन्। भनिन्छ फुलको आँखामा फुलै संसार अथवा राम्रो आँखा भयो भने संसार त्यसै राम्रो हुन्छ तर आँखामै खराबी भयो भने संसार जति राम्रो भएपनि कुनै किसिमको हर्सोउल्लास हुदैन।
सुन्दर संसारको निर्माण वा परिकल्पनाका लागि स्वस्थ आँखा हुनु एकदमै जरुरी छ।अन्तयमा भन्नुपर्दा स्वस्थ आँखा र सुन्दर संसार एक अर्काका परिपुरक हुन्।मानिसका पाँचवटा इन्द्रियमध्ये आँखा प्रमुख इन्द्रिय हो। राम्रा ठुला र चमकिला मृगनयनी आँखाको जति महत्व हुन्छ त्यो भन्दा महत्व स्वस्थ आँखाको हुन्छ।
सामान्य भाषामा भन्नुपर्दा स्वस्थ आँखा भन्नाले दृष्टि राम्रो भएको, आँखा राम्रोसँग खुल्ने बन्द हुने, आँखा सिधा भएको, आँखाको सेतो भाग सेतै र कालो भाग कालो भएको आँखालाई मानिन्छ। स्वस्थ आँखाले सौन्दर्यलाई पनि आकर्षक बनाउँछ। त्यसैले आँखाका विषयमा संवेदनशील हुनु आवश्यक छ।
आँखा स्वस्थ राख्न सहयोग पुग्ने १० उपाय
हामी आफ्नो शरीर तन्दुरुस्त राख्नका लागि व्यायाम गर्ने, पौष्टिक आहार सेवन गर्ने, प्रशस्त मात्रामा पानी पिउने आदि गर्छौं। तर हाम्रो स्वास्थ्यको महत्त्वपूर्ण अंग आँखालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ भने ध्यान पुर्याउन सकेका हुँदैनौं। आँखा संवेदनशील र सजिलै संक्रमण हुने अंग हो। यसलाई धूलो, धूवाँ, भाइरस, ब्याक्टेरिया आदिले सजिलै क्षति पुर्याउन सक्छ। यसलाई जोगाएर स्वस्थ राख्न हामीले अनेकौं उपाय अपनाउन सक्छौं। यहाँ आँखा जोगाएर स्वस्थ राख्ने मुख्य १० वटा उपायहरु दिइएको छ।
१. सन्तुलित पोषण
आँखा स्वच्छ र निरोगी राख्न चाहिने पोषण तत्त्वमा भिटामिन ‘ए’ महत्त्वपूर्ण मानिन्छ। जुन तत्त्व हरियो सागपात पहेलो फलफूलबाट पाउन सकिने हुनाले यसको सेवन आँखाका लागि लाभदायक हुन्छ। भिटामिन ‘ए’ रेटिनाका लागि अति आवश्यक तत्त्व हो दूध र दूधबाट बनेका पदार्थ र अण्डामा पनि भिटामिन ए र डी पाइन्छ। आँखाको समस्याबाट बच्न प्रशस्त पानी पिउनुपर्छ।
२. निद्रा
स्वस्थ र राम्रो आँखाका लागि दिनमा कम्तिमा ८ घन्टा राम्रोसँग निदाउनुपर्छ। पर्याप्त मात्रामा निद्रा पुगेन भने आँखा दुख्ने रातो हुने टाउको दुख्ने खालका समस्याहरु देखा पर्न सक्छन जसले गर्दा असहज अवस्था आउँछ।
३. व्यायाम
नियमित व्यायाम गर्नाले शरीर फुर्तिलो हुन्छ।आँखा स्वस्थ हुनका लागि शरीर पनि स्वस्थ हुन जरुरी हुन्छ। शारीरीक व्यायामका साथै आँखाका पनि व्यायामहरु हुन्छन। नियमित रुपमा व्यायाम गर्ने बानी गर्नाले शरीरमा स्फुर्ती प्रदान हुने र आँखा पनि स्वस्थ हुन्छ।
४. नियमित रुपमा हातमुख धुने
हाम्रो हातमा आँखाले नदेखिने खालका विभिन्न किसीमका रोगका किटाणुहरु टासिएर रहेका हुन्छन्। हामीले बारम्बार हाम्रो हातले अनुहार तथा आँखा छुने गर्दछौं जसले गर्दा हातमा रहेका किटाणुहरु अनुहार र आँखा सम्म पुग्ने गर्दछन्। ति किटाणुहरुले आँखामा संक्रमण गराइ आँखा खराब हुन सक्छ। त्यसैले नियमित रुपमा आँखा र हात मुख धुने गर्नु पर्दछ।
५.नियमितरुपमा आँखा जाँच गर्ने
कतिपय व्यक्ति यस्ता पनि भेटिन्छन्, जसले कहिल्यै पनि आँखाको जाँच गराएका हुँदैनन्। जब समस्या आइपर्छ अनि मात्र उनीहरु आँखा अस्पताल पुग्ने गरेको पाइन्छ। भविष्यमा आउन सक्ने खतराबाट सचेत हुनका लागि आँखामा केही नभए पनि वर्षम्म कम्तीमा एक पटक आँखाको जाँच गराउनुपर्छ ।
६.चश्माको उचित प्रयोग गर्ने
आँखामा विभिन्न प्रकारका दृष्टि दोषहरु हुन्छन्। दृष्टि दोषहरुको उपचार वा व्यवस्थापन जे भने पनि त्यसको उपाय भनेको चश्माको प्रयोग हो। चश्मा प्रयोग गर्दा सम्बन्धित विषेशज्ञको सिफारिसमा मात्र प्रयोग गर्नुपर्छ।
७. सुरक्षाका उपायहरु अपनाउने
कलकारखानामा, मेसिनरी उपकरण चलाउने ठाउँमा, घर बनाउनेजस्ता निर्माणसम्बन्धी कार्य हुने ठाउँमा काम गर्दा साना-साना कणहरु उडेर आँखामा छिर्ने सम्भावना धेरै हुन्छ। त्यस्ता ठाउँमा काम गर्ने व्यक्तिले आँखाको विशेष ध्यान दिनु आवश्यक पर्छ। सामान्य कार्य जस्तै- कीला ठोक्दा भित्ताको प्लास्टर उडेर आँखामा पर्न सक्छ र सोही कीला उछिट्टएिर पनि आँखामा पर्न सक्छ। त्यसैले सामान्य कुराबाट आँखालाई बचाउन पनि सधैँ सजग रहनुपर्छ।
८. धूमपान नगर्ने
धूमपान गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा बारम्बार सुने पनि यसका अम्मलीहरुले धूमपान गर्न छोडेको पाइँदैन। धूमपानले फोक्सोको क्यान्सर हुन सक्ने कुरा प्रायः सबैलाई थाहा भएकै कुरा हो तर डाक्टरहरुका अनुसार धूमपानले फोक्सोको क्यान्सर हुनुभन्दा अगाडि नै आँखाको दृष्टिलाई असर गरेको हुन्छ। त्यसैले आँखाका लागि धूमपान त्याग्नुपर्छ र धूम्रपान र मध्यपान जस्ता कुलत बाट टाढै रहनु पर्छ।
९. २०-२०-२०को नियमको पालना गर्ने
टेलिभिजन, ल्यापटप, मोबाइलजस्ता उपकरणहरु हेर्दा वा लामो समयसम्म काम गर्दा यसको विद्युतीय प्रभाव र एकनासको हेराइले आँखामा दबाब पर्छ।जसले गर्दा आँखाको हेराइ कमजोर हुने, आफैं आँसु झर्ने, आँखा पोल्ने जस्ता समस्या देखापर्छ।यसबाट बच्न छिन्-छिनमा कम्प्युटरको स्क्रिनबाट बाहिर हेरेर आँखालाई आराम दिनुपर्छ। समग्रमा भन्नुपर्दा भिजन २०-२०-२०को नियमको पालना गर्नुपर्दछ। सो नियम अनुसार टेलिभिजन, ल्यापटप, मोबाइलजस्ता उपकरणहरु लगातार २० मिनेट हेरिसकेपछि २०सेकेण्डसम्म २० फिट टाढाको दुरी हेर्ने गर्नुपर्दछ र सो कुरालाई पनि भुल्नु हुँदैन।
१०. स्वस्थकर बानी व्यवहार अपनाउने
हरियो तरकारी, माछा आदिबाट आँखालाई चाहिने तत्त्व प्राप्त गर्न सकिन्छ। साथै नियमित व्यायामले शारीरिक प्रणालीहरुको सञ्चालन सुचारु गराई आँखामा पर्ने चाप कम गर्न सकिन्छ। हरियो सागसब्जी तथा व्यायामले मधुमेहका रोगीहरुको आँखा र स्वास्थ्यमा पनि लाभ पुग्छ। समय-समयमा गरिने नियमित जाँचले शरीरमा लागेको रोग छिटो पत्ता लगाउन सकिन्छ। आँखामा केही असर भएको महसुस भएमा तुरुन्त डाक्टरबाट परामर्श लिई उपचारतर्फ लागि हाल्नुपर्छ।
- (भण्डारी लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान,भैरहवामा कार्यरत छिन्।)