परिचय
विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक बृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ। यो रोग प्रायः महिलाहरूलाई लागे पनि पुरूषहरू पनि यस रोगबाट प्रभावित हुने गरेका छन्। हरेक वर्ष झण्डै दश लाख महिलाहरु स्तन क्यान्सरबाट पीडित भएको तथ्याङ्कले देखाउँछ। विश्वव्यापी रुपमा हेर्ने हो भने स्तन क्यानसर बढ्नेको दर छिटो रहेको छ भने प्रजनन उमेरका महिलाहरुमा क्यान्सरबाट मृत्यु हुने एक महत्त्वपूर्ण कारण बनेको छ। अशिक्षा र चेतनाको कमि, स्वास्थ्य सेवा कर्मचारी र उपकरणहरूको अपर्याप्त स्रोत,संख्या (सीमित स्तन क्यान्सर स्क्रीनिंग कार्यक्रम) अनि प्रशिक्षण र सेवाको असमान वितरण यसका साथै सामाजिक, आर्थिक र भौगोलिक असमानता साथै ढिलो रोग निदानको कारण समयमै उपचार नपाउनाले गर्दा यो रोग धेरैजसो महिलाहरुमा मृत्युको करण बनेको छ।
स्तन क्यान्सरको अवस्था
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सन् २०२० मा विश्वभर २ दशमलव ३ मिलियन महिलाहरुमा स्त्तन क्यानसर भएको छ भने यसका साथै ६८५००० को मृत्यु भएको तथ्याङ्कले देखाएको छ। सन् २०२० को अन्त्यमा ६ दशमलव ८ मिलियन महिलाहरु जिबित रहेका छन्। जसमा अन्तिम ५ वर्षमा क्यान्सर पुष्टी भएको थियो। बिगत दश वर्षको तथ्याङ्क हेर्ने हो भने स्तन क्यान्सरको दर विस्तारै बढ्दै गएको छ। नेपालको सन्दर्भमा हेर्दा स्तन क्यान्सर दोस्रो प्रमुख क्यान्सरको रुपमा रहेको छ। गुलोबोक्यान २०२० को तथ्याङ्कअनुसार नेपालको सन्दर्भमा, ९.६ प्रतिशत स्तन क्यान्सर दुवै महिला र पुरुषमा तेस्रो प्रमुख क्यान्सरको रुपमा रहेको देखिएको छ। त्यसैगरी ७.७ प्रतिशत व्यक्तिमा मृत्यु भएको पाईएको छ। १७.१ प्रतिशत स्तन क्यान्सर महिलाहरुमा दोस्रो प्रमुख क्यान्सरको रुपमा रहेको पाईएको छ। स्तन क्यान्सरको संक्रमण दर २८.८३ प्रतिशत प्रति १००००० रहेको छ।
निम्न अवस्थाहरूमा स्तन क्यान्सरको जोखिम बढी हुन्छ
• वंशाणुगत कारणमा आमा, दिदीबहिनी, छोरी वा नजिकका नातेदारहरूमा स्तन क्यान्सर भएमा
• BRCA1 र BRCA2 जिनमा उत्परिवर्तन (म्यूटेशन) भएको व्यक्तिहरुमा बढी खतरा हुन्छ।
• यदि पहिलो गर्भाधारणको उमेर ३० वर्ष भन्दा माथी भयो भने पनि बढी खतरा हुन्छ।
• स्तनमा पहिलेदेखि नै गाठाँगुठी वा पुराना समस्या भएमा
• पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिलाहरूको अर्को स्तनमा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ।
• बच्चा नजन्माएका महिलाहरूमा अथवा बच्चालाई राम्रोसँग स्तनपान नगराउने महिलाहरूमा बढी खतरा हुन्छ।
• शारीरिक व्यायाम नगर्ने, धूम्रपान र मध्यपानगर्ने व्यक्तिहरुमा बढी खतरा हुन्छ।
स्तन क्यान्सरको चिन्ह र लक्षणहरू
• स्तनको मुन्टो दुख्न्नु र गाडिनु।
• स्तनमा गिर्खा वा गाँठा फेला पर्नु।
• स्तन रातो हुनु वा सुन्निनु।
• स्तनबाट रगत वा पीप मिसिएको दूध बग्नु।
• स्तनको छालाको रंगमा परिवर्तन हुनु।
• स्तनको आकारमा वा साइजमा परिवर्तन आउनु।
• स्तनमा लामो समयसम्म निको नहुने घाउ हुनु।
रोग निदान गर्ने उपायहरु
स्वयंद्वारा गरिने स्तन परीक्षण: यसमा महिलाहरूले महिनावारी भएको ७ दिनपछि र महिनावारी सुकिसकेका महिलाहरू तथा अनियमित हुनेले प्रत्येक महिनाको कुनै एकदिन आफ्नो स्तन आफैँले राम्ररी हेरेर तथा छामेर स्तनमा भएको गिर्खा वा कुनै परिवर्तन आफैँले थाहा पाउन सक्दछन्।
नियमित स्वास्थ्य परीक्षण: चिकित्सक वा तालीम प्राप्त स्वास्थ्यकर्मीहरुबाट स्तनको नियमित परीक्षण गराउनु पर्दछ।
म्यामोग्राफी: म्यामोग्राफी एक विशेष प्रकारको एक्स-रे परीक्षण हो। यो परीक्षण सामान्यतया ४० वर्ष काटेका महिलामा गरिन्छ र वार्षिक रुपमा परीक्षण गर्ने सल्लाह दिइन्छ।
बायोप्सी (मासुको जाँच): स्तनको प्रभावित भागबाट सानो मासुको टुक्रानिकाली प्रयोगशालामा परीक्षण गरी स्तन क्यान्सरको निदान गरिन्छ।
फाइन निडल एस्पिरेसन साइटोलोजी (एफएनएसी): स्तनमा भएका गिर्खाको कोष-कोषिकाहरूबाट मसिनो सुइले कोषहरू झिकेर, प्रयोगशालामा अध्ययन गरी क्यान्सर निदान गर्न यो परीक्षण गरिन्छ।
उपचार विधि
शल्यक्रिया: स्तन क्यान्सर को अवस्था हेरी क्यान्सरयुक्त गाँठो मात्र (लम्पेक्टोमी)अथवा पुरै स्तन(मास्टेक्टोमी ) लाई अप्रेसन गरी निकाल्नु पर्दछ।
रेडियोथेरापी: क्यान्सर भएका कोष-कोषिकाहरुलाई कडा विकिरणको प्रयोगबाट स्तन क्यान्सरको उपचार गरिन्छ।
केमोथेरापी : एन्टी क्यान्सर ड्रगको प्रयोग गरेर क्यान्सर कोषहरुलाई मारिन्छ।
हर्मोनथेरापी: स्तन क्यान्सर उपचारमा हर्मोनको प्रयोग गर्नजरूरी हुन्छ। आवश्यकता अनुसार लामो समय सम्मकोलागि हर्मोन थेरापीको पनि प्रयोग गरिन्छ।
प्यालिएटिभ केयर: बिरामीको पीडा र असुविधाहरू कम गर्न सकिने आवश्यक विभिन्न उपचारको समिश्रण प्यालियटिभ उपचार हो। बिरामी र रोगको अवस्थाको आधारमा उपरोक्त उपचार विधिहरूमध्ये एक वा एकभन्दा बढी विधिहरूको प्रयोग गरिन्छ। पौष्टिक आहार, बिरामीको स्याहार सुसार तथा पारिवारिक स्नेहले क्यान्सर रोगको उपचारमा ठूलो महत्त्व रहेको छ।
स्तन क्यान्सरको रोकथाम
स्तन क्यान्सर यौवन अवस्थापछि जुनसुकै उमेरको महिलाहरुलाई पनि देखिन सक्छ, त्यसका साथै पछिल्लो उमेर समूहका महिलाहरुलाई धेरै देखिने हुदाँ महिलाहरुले आफ्नो स्तनको आफै परीक्षण गरी वा कुनैपनि खाल्को चिन्ह र लक्षणहरू देखा परेमा तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्र वा सम्बन्धित अस्पतालमा जाँच गराउनु पर्दछ। स्तन क्यान्सरको रोकथामका उपायहरु यस प्रकार रहेका छन् :
• वंशाणुगत रोग भएका महिलाले नियमित स्तन परीक्षण गर्ने।
• बच्चालाई दुई वर्षसम्म लगातार स्तनपान गराउने।
• चिल्लो तथा बोसोयुक्त खानेकुराहरु कम खाने।
• सूर्तीजन्य पदार्थ चुरोट, बिडी, सुर्ती, तम्वाखु र रक्सी आदिको सेवन नगर्ने।
• अनावश्यक मोटोपन घटाउने।
• नियमित रुपमा योग, व्यायाम गर्ने।
विषेशतः स्तन क्यान्सर सुरवाती चरणमा पत्ता लगाउन सकियो भने निको हुन्छ। स्तन क्यान्सर रोकथाम र निदानका लागि व्यक्ति स्वंयमको मात्र नभइ स्वास्थ्य संस्था र सरकारी नीति नियमको ठूलो भूमिका रहेको हुन्छ। यसका लागि हामीले तल उल्लेखित बुँदाहरुमा ध्यान दिन जरुरी छ।
• स्तन क्यान्सर सम्बन्धी विभिन्न माध्यमबाट जनचेतना जगाउने
• लागत प्रभावकारी निदान परीक्षणको व्यवस्था गर्ने।
• निवास नजिकै सुविधा सम्पन्न स्वास्थ्य संस्था स्थापना गर्ने।
• दक्ष स्वास्थ्यकर्मीका साथसाथै उचित परामर्शको व्यवस्था गर्ने।
• स्वास्थ्य बीमा कार्यक्रमलाई अझै परिमार्जित र प्रभावकारी बनाउने।
-(अधिकारी चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी रिसर्च एसोसिएट हुन्।)