काठमाडौं- नेपालमा डेंगु संक्रमण ४० औं हप्तामा प्रवेश गरेको छ। ५०औ हप्तामा संक्रमण शून्य हुने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको छ। अहिलेको डेंगु संक्रमणको प्रवृत्ति हेर्दा ३६औँ हप्तामा उच्च विन्दुमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबारको कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासक माधव कुमार श्रेष्ठले यस्तो जानकारी दिए। अहिले तामक्रम घट्दो क्रममा रहेकाले संक्रमण पनि विस्तारै घट्दै गएको उनको भनाइ छ। गत साउन यता नेपालमा ४१ हजार ७४३ मा डेंगु पुष्टि भएको छ। यसबाट ४९ जनाको मृत्यु भएको छ। संक्रमण घट्दोक्रममा रहेकाले त्रसित नहुन तर सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ।
१० जिल्ला बढी प्रभावित
डेंगुबाट १० जिल्ला बढी प्रभावित भएका छन्। जसमा काठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, दाङ, चितवन, रुपन्देही, धादिङ, काभ्रेपलाञ्चोक र सुर्खेत छन्। सबैभन्दा धेरै काठमाडौंमा १२ हजार ६५२, ललितपुरमा ८ हजार ८७६ र मकवानपुरमा ४ हजार ३२० मा संक्रमण पुष्टि भएको छ।
के हो डेंगु? कसरी बच्ने?
डेंगु एडिज प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक रोग हो। यो रोग डेंगु नामक आरएनए भाइरसको कारणले हुने गर्दछ। यो रोग एडिज लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ।
कसरी सर्छ डेंगु?
यो रोग मुख्यतया दिउँसोको समयमा एडिज एजिप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। यो प्रजातिको लामखुट्टेले आफ्नो आहारा पूरा गर्नको लागि एक भन्दा बढी व्यक्तिको रगत चुस्ने भएकाले डेंगु रोग फैलाउनमा यो प्रजातिको लामखुट्टेको धेरै भूमिका रहेको हुन्छ। साथै केही मात्रामा एडिज एल्वोपिक्टस नामको अर्को लामखुट्टेको टोकाइबाट पनि डेंगु सर्ने गर्दैछ। तर यो लामखुट्टेले आफ्नो आहारा एउटै व्यक्तिको रगतबाट पूरा गर्ने भएकाले यसको प्रभावकारिता एजिप्टिको भन्दा कम हुन्छ।