गर्भावस्था भनेको शिशुको जीवन शुरुवात भएदेखि जन्महुनुपूर्वको अवधि हो। यो अवधि कुल २७० दिन अथवा चालिस हप्ता वा नौ महिना सात दिन भन्ने बुझिन्छ। यो अवधिमा शिशुको शारीरिक (जस्तै: आँखा, कान, मुटु, कलेजो, लिङ्ग आदिको) वृद्धि र विकास हुन्छ।
गर्भावस्थामा शिशुले हातखुट्टा चलाउने, जिउ तन्काउने, निदाउने, हाइ काढ्ने गर्दछ। आफू वरिपरि हुने अधिकांश क्रियाकलापहरू शिशुले आमाको पेटभित्र भएपनि सुन्छ र अनुभूति पनि गर्छ। शिशुले वातावरण अनुसार प्रतित्रिया जनाउँछ। जस्तै: ठूलो ध्वनिमा तर्सिन्छ, मधुर संगीतमा चलमलाउँछ, मुस्कुराउँछ, मुखमा औला हाल्छ आदि।
स्वास्थ्य संस्थासम्म जाने सवारीको पहिचान र व्यवस्था, रगतको खाँचो परेमा रगत दिने तीनजना स्वस्थ व्यक्तिको व्यवस्था गर्नु पर्दछ।
नियमित स्वास्थ्य परीक्षण (कम्तीमा चारपटक) गराउनुपर्दछ:
– पहिलो परीक्षण: चौथो महिना
– दोस्रो परीक्षण: छैठौं महिना
– तेस्रो परीक्षण: आठौं महिना
– चौथो परीक्षण: नवौं महिना
माथि उल्लेखित परीक्षणका अतिरिक्त स्वास्थ्य सम्बन्धी कुनै समस्या/जटिलता भएमा गर्भवती महिलाले नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्दछ।
ध्यान दिनुपर्ने कुराहरू:
स्वास्थ्य संस्थाका विज्ञले सीफारिस गरेबमोजिम आइरन–फोलिक एसिड चक्की र जुका मार्ने चक्की खानु पर्दछ।
खाना पकाउँदा दुई बालबालिकासहितको लोगो भएको आयोडिनयूक्त नुन राखेको खाना खानु पर्दछ।
टिटि खोप पहिलो र दोश्रो लिनु पर्दछ।
औलो लाग्ने जिल्लाहरूमा गर्भवती महिलाले कीटनाशक औषधिले उपचार गरीएको झूलभित्र सुत्नु पर्दछ।
दादुरा, ठेउला, एचआइभी/एड्स र हेपटाइटिस संक्रमणबाट जोगिनु पर्दछ।
आमाबाट शिशुमा हुन सक्ने संक्रमण रोकथाम गर्न गर्भवती महिलाले एचआइभी/एड्स परीक्षण गराउनु पर्दछ।
स्वास्थकर्मीको सल्लाहबमोजीम नियमित रुपमा व्यायाम गर्ने र तौल वृद्धिमा विचार राख्नु पर्दछ।
चिया, कफी र सोडायुक्त पेय पदार्थ सेवन नगर्नू बेश हुन्छ।
गर्भावस्थामा निम्न खतरापूर्ण सङ्केत देखिएमा नजिकैको स्वास्थ्य संस्थामा शीघ्र परामर्श र उपचार गर्नु पर्दछ:
टाउको साह्रै दुखेमा
हातखुट्टा अररो भइ काम्ने वा मूर्छा परेमा
आँखा तिरमिराएर धमिलो देख्ने भएमा
अनुहार वा हात सुन्निएमा
कडा रुपमा तल्लो पेट दुखेमा
योनीबाट अलिकति पनि रगत बगेमा
गर्भवती महिला र शिशुको लागि अत्यन्त खतरा हुने निम्न क्रियाकलाप गर्नु हुँदैन:
लागुपदार्थ, रक्सी, चुरोट आदि सेवन।
जथाभावी औषधि सेवन।
झैझगडा, तनाव, रिस, आवेग, डर, चिन्ता।
रेडियो विकिरण (एक्स रे)।
विषादि प्रयोग गर्ने काम।
-(युनिसेफ नेपाल)