काठमाडौं–दिमागमा रगत सञ्चालनमा कमी आउनु वा नशा फुट्नु दुवै कन्डिसनमा स्ट्रोक भएको मान्न सकिन्छ। यदि दिमागकोे नशामा रगत सञ्चालनमा कमी आयो भने दिमागको जुन भागमा रगत सञ्चालन कमी भएको हो त्यो भागले अक्सिजन पाउँदैन र अक्सिजन नपुगेपछि त्यो कोषले काम गर्न सक्दैन, त्यसपछि स्ट्रोक हुन्छ।
खासमा स्ट्रोक ४५ वर्षभन्दा माथि उमेरका व्यक्तिहरुलाई हुने गर्दछ तर नेपालमा ४५ वर्षभन्दा कम उमेका मानिसहरुलाई स्ट्रोक हुने गर्दछ। यसको मुख्य कारण उच्च रक्तचाप, मधुमेह र धूमपान सेवन देखिएको छ।
स्ट्रोक दुई प्रकारका हुन्छन्– एउटा शरीरमा रगत सञ्चालन नपुगेर हुने गर्दछ भने अर्को नशा फुटेर हुने गर्दछ। यसलाई हामीले ब्रेन हेमरेज स्ट्रोक पनि भन्ने गर्दछौँ। यो उच्च रक्तचापले हुने गर्दछ।
स्ट्रोकबाट बच्न के गर्नुपर्छ?
स्ट्रोकबाट बच्नको निमित्त जीवनशैली परिवर्तन गर्नुपर्दछ। धूमपान गर्नु हुँदैन। नियमित शारीरिक कसरत गर्ने बानी बसाल्नु पर्दछ र उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्नु पर्दछ। त्यसो गर्दा केही हदसम्म स्ट्रोकबाट बच्न सकिन्छ।