काठमाडौं - लामो समयसम्म रगतको चाप धेरै रहिरहने अवस्थालाई उच्च रक्तचाप भनिन्छ। उच्च रक्तचाप रहिरहनु स्वास्थ्यका लागि ज्यादै हानिकारक हुन्छ। यसबाट मुटु, रक्तकोशिका तथा अरु अंगहरुमा अनावश्यक तनाव पैदा हुन्छ।
आज सहरी क्षेत्रमा बसोबास गर्ने एक तिहाईभन्दा बढी वयस्क उच्च रक्तचापबाट पीडित छन्। उच्च रक्तचापले पक्षघात, ह्रदयघातका साथै मिर्गौला र आँखाहरु बिगार्ने खतरा हुन्छ। जीवनको बढ्दो उमेरसँगै यो रोगको खतरा पनि बढ्दै जाने गरेको छ।
रक्तचाप उच्च बनाउने सहयोगी तत्वहरु
आरामदायी जीवनशैली : शारीरिक व्यायामले मानिसको रक्तचाप ठिक स्थितिमा राख्न मद्दत गर्छ। तर धेरै कम मानिसहरु आफुलाई स्वस्थ राख्न चाहिने जति व्यायाम गर्दछन्। यसका लागि साधारणतया हप्ताको ६ दिन करिब ४०/५० मिनेट छिटो छिटो हिड्नु जरुरी हुन्छ।
धूम्रपान : चुरोट वा धूम्रपानका अन्य चिजहरुमा निकोटिन लगायतका अन्य विषालु रसायनहरु हुन्छन्। यसले गर्दा मुटुलाई रगत प्रवाह गर्नका लागि बढी परिश्रम गर्नुपर्ने बाध्यता सृजना हुन्छ। त्यसमाथि यिनीहरुले रक्तचाप घटाउने औषधिहरुलाई पनि राम्रोसित काम गर्न दिँदैनन्।
अनावश्यक शारीरिक तौल : प्रत्येक थप तौलले रक्तचाप बढाउन मद्दत गर्छ। त्यसैले उच्च रक्तचाप छ भन्ने पत्ता लागेका व्यक्तिहरुले प्रथम लक्ष्य तौल घटाउने हुनुपर्छ।
आहार : बोसो वा चिल्लो पदार्थ, धेरै कोलेस्टेरोल भएका खाद्य पदार्थ र नुनले रक्तचापन बढाउन मद्दत गर्छन्। हामीले एक दिनमा आधा चिया चम्चा करिब ३ ग्राम जति मात्र नुन खानुपर्छ।
जन्मान्तरको लागि चक्कीको प्रयोग : परिवार नियोजनको वा जन्मान्तरका लागि चक्की प्रयोग गरिरहेका महिलाको पनि रक्तचाप केही उच्च हुन्छ। चक्कीको सेवन गर्दा रक्तचाप बढ्न गएमा चिकित्सकसँग सल्लाह गर्नुपर्छ।
मद्यपान : उच्च रक्तचापको कारक तत्वमा मद्यपानलाई पनि मुख्य मानिन्छ।
वंशाणुगत : उच्च रक्तचाप र मुटुका कोशिकाहरुमा हुने रोगका लागि पारिवारिक आनुवंशिक परम्पराले पनि प्रमुख भूमिका खेल्छ। वंशाणुगत गुण नै उच्च रक्तचापको एक प्रमुख कारण भएको पाइएको छ। हो, हामी वंशाणुगत गुण बदल्न सक्दैनौ तर जीवनशैली त हेरफेर गर्न सक्छौ नी।
उच्च रक्तचाप आफैँले अनुगमन गर्न सकिन्छ
अहिले बजारमा रक्तचाप मापन गर्ने यस्ता विद्युतीय साधनहरु पाइन्छन् की जस्तो कोहीले पनि आफ्नो रक्तचाप कति छ भनी आफैँ हेर्न वा जाँच्न सक्छन्। यस्ता साधन कुनै पनि औषधि पसलबाट किन्न सकिन्छ र तिनमा स्टेथोस्कोपको प्रयोग गर्नुपर्दैन। यस्तो साधन किन्दा नाडीमा बाँधेर जाँच गर्नेभन्दा पाखुरामा बाँध्ने किन्नु बेस हुन्छ। तर यस्ता साधन प्रयोग गर्नेले आफ्नो साधनले काम गरिरहेको छ÷छैन भनी थाहा पाउन बेलाबेलामा चिकित्सक कहाँ गएर जाँच गराउनुपर्छ।
उच्च रक्तचापका लक्षण
उच्च रक्तचाप हुनु यस्तो खतरनाक अवस्था हो जसले आफ्नो आगमनको कुनै संकेत वा जानकारी दिँदैन। मलाई रक्तचाप सम्बन्धी समस्या छैन भनेर विश्वस्त रहेको व्यक्तिले अकस्मात् कुनै शारीरिक नोक्सान, मुटुको समस्या अथवा पक्षघात नभोगेसम्म उसलाई यो रोग लागेछ भनी थाहै हुँदैन। कहिले काँही झुम्म हुने, टाउको दुख्ने अथवा धमिलो देख्ने संकेत देखिनु बाहेक जाँच नगरी रगतको चाप बढेको कुरा थाहा हुँदैन। त्यसैले उच्च रक्तचाप बिना आवाजको डर लाग्दो प्रकृतिको रोग हो। एक सुषुप्त हत्यारा हो।
रक्तचापको मापन गर्ने उपयुक्त समय
रगतको चापको जाँच दुई वा सोभन्दा बढी पटक तनाव भएको बेला पारेर गर्नुपर्दछ। एकदम चिन्ता रहित हुनुका साथै चिया वा कफी खाएको ३० मिनेट बितिसकेको अवस्थामा रगतको चाप जाँच गर्नुपर्दछ। रगतको चापको जाँच माथिल्लो रक्तचाप र तल्लो रक्तचापको आधारमा गरिन्छ।
धेरैजसो मानिसहरुमध्ये पाको उमेरका मानिसमा सिस्टालिक (माथिल्लो रक्तचाप) १५० देखि १६० र डायस्टोलिक (तल्लो रक्तचाप) तर्फ ९० देखि १०० सम्म रक्तचाप हुनु सामान्य हो भन्ने ठान्दछन्। तर यो सत्य होइन। जुनसुकै उमेरका भएतापनि यदी कसैको रक्तचाप १४०/९० र त्योभन्दा माथि छ भने उसलाई औषधि सहितको उपचारको जरुरी हुन्छ।
उपचारका उपायहरु
ठिक्कको रक्तचाप भनेको १२०/८० को स्थिति हो। यसभन्दा माथि भएको अवस्थामा औषधि खानुपर्ने वा नपर्ने भन्ने कुराको सल्लाह चिकित्सकले दिन्छन्। यदि उच्च रक्तचाप देखिएमा प्रथमः हामीले आफ्नो जीवनशैली माथि उल्लेख्य भएअनुसार परिवर्तन गर्नुपर्दछ। साथै हामीले नुन र नुनको मात्रा बढी भएको पापड, अचार, आलुको चिप्स, नुन छरेको भुटेको मकै र चिजजस्ता पदार्थ खाने पनि कम गर्नुपर्छ। यदि यसो गर्दा पनि रक्तचाप १४०/९० को स्तरमा नै रहिरह्यो भने चिकित्सकको सल्लाह लिएर उपचार गर्नुपर्दछ। मधुमेह अथवा मुटुको रोग भएका बिरामीले रक्तचापको नियन्त्रण अझ बढी गर्नुपर्दछ। यस्ता बिरामीले एकभन्दा बढी चक्की खानुपर्दछ। औषधिको राम्रो असर प्राप्त गर्न धूम्रपान गर्न छोड्नुपर्दछ।
औषधि खाने उपयुक्त समय
उच्च रक्तचाप रोकथाम गर्ने सबै औषधि बिहान खानुपर्दछ। आमधारणाका विपरित हाम्रो रक्तचाप बिहान सबेरै माथि हुन्छ। यही कारणले धेरैजसो ह्रदयघात र पक्षघात बिहान सबेरै हुन्छ।
औषधिका नकारात्मक असरहरु
बिरामीहरु अक्सर औषधि सेवनबाट हुने नकारात्मक असरबारे चाँसो राख्दछन्। औषधिको प्रयोगबाट कहिले काँही खुट्टा सुन्निने, सुख्खा खोकी अथवा दमको आक्रमण आदि नकारात्मक असर देखिन सक्छन्। यस्तो अवस्थामा चिकित्सकलाई भनिहाल्नु पर्छ। चिकित्सकले आवश्यकता अनुसार औषधि फेर्ने वा मिलाइदिने काम गरिदिनुपर्छ।
के कम रक्तचाप हुनु समस्या हो ?
रक्तचाप स्तर ९०/६० भन्दा कम र कमजोरी तथा रिंगटा लागेमा हामी रक्तचाप कम भएकाले हो भन्ने विचार गरिहाल्छौ। एकछिन आराम वा केही झोल पदार्थ खाएमा यो अस्थायी कमजोरी हटिहाल्छ। कम रक्तचाप भन्ने दीर्घरोग हुँदैन। यसलाई उपचारको जरुरत पनि पर्दैन किनभने रक्तचाप बढाउने कुनै औषधि नै छैन। कम रक्तचाप हुने व्यक्तिलाई ह्रदयघात हुने खतरा कम हुन्छ। त्यसैले यस्ता व्यक्तिहरु चिन्तित हुनु पर्दैन।
(मुटु रोग विशेषज्ञ डा भारत रावतको स्वस्थ : जीवनशैली मुटु बाट साभार )