काठमाडौं- धूम्रपान छोड्नका लागि धेरै विधि र बाटाहरु छन्। तर यही गर्नाले धूम्रपान छुट्छ भन्न चाहीँ गाह्रै छ। धूम्रपान त्याग्न तपाई मानसिक तथा भावनात्मक दुवै रुपमा तयार हुनुपर्छ। खालि साथीहरु वा परिवारलाई खुसी बनाउन छोडेर हुँदैन। आफैँले भित्रि मनदेखि नै छोड्न चाहेको हुनुपर्छ।
धूम्रपान छोड्नु अगाडि बनाउनुपर्ने योजना
– धूम्रपान छोड्ने मिति तोक्नुहोस् र त्यसमा अडिग रहनुहोस्।
– किन छोड्न चाहेको भनेर उल्लेख गर्नुहोस् र त्यसलाई धूम्रपान नछोडुन्जेल र छाडेपछि पनि प्रत्येक दिन पढ्ने गर्नुहोस्।
– धूम्रपान गर्नासाथ टिपिहाल्नुहोस। किन धूम्रपान गर्नु परेको र केले गर्दा तलतल लागेको भन्ने कुरा पनि स्पष्टसँग टिप्नुहोस्।
– एकैचोटि रोक्नुभन्दा पहिले खास खास अवस्थामा गर्ने धूम्रपान नगर्नुहोस्। जस्तै कार्यालयको खाली समयमा, रातको खानपछि आदि।
– धूम्रपानको सट्टामा गर्न सकिने गतिविधिको सूची बनाउनुहोस्।
– म धूम्रपान नगर्ने व्यक्ति हुँ भन्ने विचार राख्नुहोस्।
– धूम्रपान छोड्ने आफ्नो योजना परिवार र साथीहरुलाई सुनाउनुहोस् र उनीहरुलाई यस काममा सहयोग गर्न अनुरोध गर्नुहोस्। साथै धूम्रपान गर्ने परिवारका सदस्यलाई आफूसँगै छोड्न अनुरोध गर्नुहोस्।
– आफ्नो स्वास्थ्यको हेरविचार गर्ने व्यक्तिसँग धूम्रपान छोड्न मद्दत गर्ने चिजहरुका बारेमा सोध्नुहोस् किनभने निकोटिनको मात्रा पाइने निकोटिनयुक्त पदार्थहरु, सुँघ्ने चिजहरु, जिब्रोमुनि राख्ने चक्कीहरु, नाकभित्र छर्ने स्प्रेहरु र यस्तै प्रकारका काम गर्ने अरु ओखतीहरु बजारमा उपलब्ध हुन्छन्।
धूम्रपान छोड्नाले हुने फाइदाहरु
– जीवन लामो हुन्छ। अमेरिकन हार्ट एसोसिएसनका अनुसार ३५ वर्षको उमेरमा धूम्रपान छोड्ने मानिसले ६ देखि ९ वर्ष आयु थप्छ। त्यस्तै ६५ वर्षको उमेरमा चुरोट छोड्नेले १ देखि ४ वर्षको आयु थप्छ।
– यसले छाती तथा घाँटीको अर्बुद रोग, दमको रोग, लामो खोकी लाग्ने (फोक्सोको जटिल संक्रमण) र फोक्सोका कोषिकाहरुमा एक प्रकारको तनाव हुने रोग लाग्नबाट जोगाउँछ।
– मुटु रोग लाग्ने र पक्षघात हुने खतरा कम गर्छ। धूम्रपान नगर्नाले ५० प्रतिशत वा सोभन्दा बढी ह्रदयघात दोहोरिने वा मुटुको रोगबाट मृत्यु हुने खतरा कम हुन्छ। धूम्रपान गर्न छोड्नाले रक्तचाप बढ्ने, मृत्यु हुने खतरा कम हुन्छ। धूम्रपान गर्न छोड्नाले रक्तचाप बढ्ने, धमनीमा अरु रोगहरु लाग्ने तथा पक्षपात हुने खतरा कम हुन्छ।
– मुखमा घाउ आउने, गिजामा रोग लाग्ने तथा अन्य धेरै यस्ता अवस्थालाई कम गर्छ।
– स्वस्थपनको आभास गराउँछ। धूम्रपान त्याग्नाले दाँत कालो हुने, चाउरीपन आउने, कपाल तथा लुगा गन्हाउने जस्ता कुरा रोकथाम गर्न मद्दत मिल्छ। धूम्रपान छाड्नाले गन्ध र स्वाद थाहा पाउने जानेन्द्रिय सधै सक्रिय हुन्छन्।
(मुटु रोग विशेषज्ञ डा भारत यादवको स्वस्थ: जीवन शैली मुटु नामक पुस्तकबाट साभार)