स्वस्थ्य मन्त्रालय तथा डब्लुएचओको तथ्याङ्क अनुसार जनवरी २०२२ देखि सेप्टेम्वरसम्म डेंगुबाट पीडित नेपालीहरुको संख्या २८ हजारमाथि रहेको देखिन्छ। तर धेरै रेकर्डमा नआएका र सेप्टेम्वर देखि नोभेम्बर सम्मको उच्च संक्रमण दर हेर्दा अहिलेसम्म संक्रमितको संख्या २ लाख माथि पुगेको अनुमान गर्न सकिन्छ भने मृतकको संख्या ३-४ सय नै नाघिसकेको हुनुपर्दछ।
यो साल डेंगु नेपालको ७७ वटै जिल्लामा व्यापक रुपमा फैलिएको छ। काठमाडौँ उपत्यकाको ३ वटै जिल्ला, हेटौँडा, चितवन लगायतका जिल्लामा यसको डरलाग्दो प्रकोप देखियो। म आफू हेटौँडामा कार्यरत रहेकाले यताको अनुभवमा के देखियो भने यहाँका हरेक व्यक्ति डेंगुको सङ्क्रमणबाट ग्रस्त भएका छन। प्रत्येक घरमा डेंगु नलागेको मान्छे सायदै पाइन्छन। अस्पतालमा अधिकांश बिरामी डेंगुले नै थलिएर आएका पाइन्छन्। अस्पतालका लगभग शत प्रतिशत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु सबै नै डेंगु बाट पीडित भएका छन्।
देशमा दशैँ, तिहार र छठ जस्ता पर्वहरूको उमङ्गको छाइरहदा कतिपयको घर भने डेंगुले आफ्ना आफन्त गुमाउनु परेकाले शोकमा डुबेका थिए। मृतकको संख्या थोरै किन नहोस तर पीडित परिवारलाई त त्यसले सबैभन्दा धेरै पीडा दिने गर्दछ। चाडपर्वमा परिवारमाथि आफन्त गुमाउनुको वज्रपात कम्ति पीडादायी हुँदैन भन्ने कुरा भोग्नेलाई बाहेक अरुलाई कमै अनुभूति हुने गर्दछ। तर जनताको मृत्युलाई सामान्य कुकुर बिरालोको मृत्यु जस्तै हल्का लिने र संवेदनहीन हुने सरकार हुनु हाम्रो नियति र विडम्बना हो। अझ यही समय जनतालाई यस्तो गर्छौँ र उस्तो गर्छौँ भन्दै भोट माग आएको देख्दा उनीहरूले जनतालाई बेस्सरी गिज्जाएको जस्तो अनुभूति हुन्छ।
डेंगु आफैंमा निकै जटिल रोग हो । तथ्याङ्क अनुसार १-५ प्रतिशत डेंगुको बिरामीको मृत्यु हुने सम्भावना रहन्छ। मृत्यु नभएका विरामीहरुमा पनि निकै सिकिस्त पार्ने लक्षण र समस्याहरु देखिने गर्दछन। अधिकांस बिरामीमा उच्च ज्वरो आउनुक साथै टाउको, आँखाको गेडी, जिउका सम्पूर्ण जोड्नीहरु र मांसपेसी सहनै नसक्ने गरि दुख्ने समस्या देखिने पाइयो। बिरामीमा अत्याधिक थकान र शिथिलताले सुतेको ठाउँबाट उठ्न समेत नसक्ने हुन्छन। त्यसको अलावा वान्ता हुने, झाडा पखाला लाग्ने, खान मन नलाग्ने, मुख तीतो हुने जस्ता अधिक समस्याहरूले बिरामीहरु हरेश खाने अवस्थासम्म पुग्दछन्। रोग लागेकै अवस्थामा धेरै जनाले मर्छु कि के हो भन्ने सम्मको कमजोर आत्मबलको अवस्थामा पुगेको अनुभूति साट्छन्। शरीरमा पानीको मात्रा कम हुने, रगतका विभिन्न तत्वहरू कम हुँदै ज्यानै जाने सम्मको संभावना देखियो। संक्रमणले उच्च रूप लिँदा अस्पतालमा बिरामीले बेड समेत पाएनन। एकपटक विरामी भइसकेपछि थला परेर १० देखि १२ दिनसम्म आफ्नो दैनिक काम र रोजगारीमा संलग्न हुन सक्दैन। यसले गर्दा व्यक्तिगत तथा राष्ट्रिय काम तथा आम्दानीमा ठूलो नोक्सान पुगेको छ।
तर जनता यता रोगले ग्रस्त हुँदा दलका नेताहरु भने देश लुट्न आफ्नो भागमा कति सिट पाउनुपर्ने भन्दै हिसाब किताब र भागवण्डामा व्यस्त रहे। डेंगुले जनता यो हदसम्म ग्रस्त छन भनेर उनीहरूले जानकारी समेत राखेनन्।जनता उनीहरूको प्राथमिकतामा पर्दैनन भन्ने कुरा फेरि एकपटक प्रस्ट पारे। मिडिया लगायतमा पनि यो प्रकोपले पाउनुपर्ने जति चर्चा र महत्व पाएन। धेरै मानिस गुमनाम मरिरहे । लमजुङकी एक सञ्चारकर्मी र प्रदेश १ का बाहलवाला प्रदेश मन्त्रीको मृत्युको खबरले मात्र राष्ट्रिय स्तरमा चर्चा पायो। न मीडिया न त सरकारले नै जनताको ज्यान गइरहँदा चासो देखाए। तर चुनाव आउने बित्तिकै राजनीतिक दललाई जनताको स्वास्थ्यप्रति निकै चासो रहेको जस्तो देखाउन तल्लीन हुन्छन। सहज उपचार, निशुल्क सेवा लगायत अनेकौँ बुँदाहरू घोषणापत्र मार्फत सार्वजनिक गरेका छन, जुन केही दिनमै पानीको फोका झै उनीहरूको कल्पनाबाट नै अलप हुनेछ।
हेटौँडातिर नै मेरो जानकारी अनुसार २३ वर्ष, ३२ वर्ष लगायतका भर्खर उमेरकासमेत गरेर सबै उमेर समूहका धेरै मान्छेले डेंगुको कारण ज्यान गुमाउन पुगे। मलगायत मेरा धेरै साथीहरु डेंगुबाट ग्रसित भइ १०-१२ दिन थला परेर बल्ल बल्ल उठ्याैं। देशको स्वास्थ्य प्रणालीले भन्दा पनि आफ्नै प्रतिरक्षा प्रणाली र भगवानको कृपाले बाँच्नेहरु बाँचेका छन। जनताको स्वास्थ्यमा यतिको ठूलो जोखिम पर्दा समेत सरकारले यसलाई हलुकै रुपमा लियो। चाहे केन्दीय सरकार होश, त चाहे प्रदेश वा स्थानीय, सबैजना देशै तिहार लगायत भत्ता थाप्नमै रमाए। यसको रोकथाम र नियन्त्रणका निमित्त सरकारले कुनै पहलकदमी लिएन। बजारमा बरु सिटामोलको समेत अभाव भयो । डेंगु प्रकोप क्षेत्रमा लामखुट्टे नष्ट गर्ने, जमेको पानी नष्ट गर्ने, जमेको पानी नष्ट गर्न जनतासँग सहकार्य गर्ने, उपचारमा उपयुक्त कदम चाल्ने जस्तो सरकार भएको अनुभूति हुने कुनै कदम चाल्न सरकारले आवश्यक नै ठानेन। प्रकोप फैलिएको क्षेत्रमासमेत सरकारका काम शून्य देखियो।
मैले देखे अनुसार हेटौँडा कहिले कहीँ यसो लामखुट्टे नाश गर्ने औषधि छर्किएको जस्तो देखियो। तर त्यो क्रममा ती कर्मचारीहरू लामखुट्टे प्रभावकारी ढंगबाट नष्ट गर्ने भन्दा यसो रमिता देखाउँदै सडकमा चाँडो-चाँडो दौडिन व्यस्त थिए। गर्नुपर्ने त नाला, अलि लाम्खुट्टे हुने कुनाकाप्चा, छेउ भित्तामा औषधि हाल्नुपर्ने थियो। तर उनीहरू त यसो हालेको झै गरेर सडकमा दौडिँदै थिए। त्यो पनि जम्मा एकपटक देखिएको थियो जबकि प्रकोपजन्य क्षेत्रमा नियमित लामखुट्टे नष्ट गर्नुपर्थ्यो। अर्को कुरा सरसफाइलाई पनि निकै उपेक्षा गरिएको पाइयो। अनेक बाचा र प्रतिवद्धता गरेर भर्खर स्थानीय निकाय जितेका जनप्रतिनिधिहरु के गर्दै होलान भनेर उदेक लाग्छ। हेटौँडाकै कुरा गर्ने हो भने नालाहरुमा पानी बग्दैन, मात्र जन्दछ। किनकि नालभरी प्लास्टिक, बोरा, सिसा, काठ लगायत हज्जारौ फोहोर थुप्रिएको छन्। बसपार्क लगायत बजारका धेरै क्षेत्र फोहोरले अस्तव्यस्त छन। यसको अगुवाइ कसले गर्ने त? जनप्रतिनिधि, सरकार अनि स्थानिय निकायले हैन? की बागमती सरसफाइमा जस्तै अभियान्ता र लीलामणि पौडेलहरु आउनुपर्ने हो?
५-५ वटा दल मिलेर बनेको दललेसमेत जनताको बारेमा एक कदम नसोच्ने भएसी यी दल र नेताहरु देशमा दलाली गरेर आफू, आफन्त र नजिकका आसेपासे कार्यकर्ता पोस्न मात्र तल्लीन छन भन्ने कुरा बुझ्न गाह्रो पर्ने कुरै भएन। देशको सरकारी स्वास्थ्य संरचना अन्योलता र भद्रगोलमा छाडेर निजीलाई अनियन्त्रित छाडी नाफाखोर क्षेत्रको रुपमा विस्तार गरिएको छ। यसले गर्दा स्वास्थ्य सेवा सर्वसाधाणको पहुँच भन्दा निकै टाढा रहेको छ। नेताहरु आफ्नो देशको स्वास्थय सेवा अस्तव्यस्त पारेर आफ्नो उपचार गर्न भने विदेश धाउने गर्दछन। स्वास्थ्य क्षेत्रमा बढ्दो दलालीले गर्दा जनताको स्वास्थ्यलाई महत्वहीन सावित गरिएको छ। कानून नै बनाएर कुनै पनि नेता आफ्नो उपचार गर्न विदेश जान नपाउने व्यवस्था गरिने हो भने मात्र देशको स्वास्थ्य संरचना र सेवा सुदृढ हुन्छ। यसरी विदेश जाने नेताहरुलाई जनताले समेत भोट दिन बन्द गर्नुपर्दछ किनकि जनता देशमा उपचार नपाएर मर्ने तर नेता विदेशमा गएर उपचार गर्ने कुरा औचित्यपूर्ण हुँदैन।
अहिले चुनावी घोषणापत्रमा स्वास्थ्यमा यस्तो गर्छु, निःशुल्क उपचार, निःशुल्क औषधि, उपचार खर्च दिने, अस्पताल खोल्ने के-के कुरा हालेर फेरि दलहरुले जनतालाई बेवकुफ बनाउँदै छन्। हामी जनताले बुझ्न जरुरी छ कि यसरी डेंगुबाट जनता मर्दासमेत कुनै चासो र संवेदनशीलता नदेखाउने यिनीहरूको यो घोषणापत्र र प्रतिवद्धता केवल चुनाव जित्ने प्रपञ्च मात्र हो। जितिसकेपछि फेरि जनताकै स्वास्थ्य र जीवनमाथि किनबेच सुरु गर्नेछन् भन्न नसक्ने अवस्था छैन। आफ्नो प्रतिनिधि चुन्दा यिनीहरूको यो किसिमको चरम लापराहीको राम्रै हिसाबकिताब राख्नुपर्ने हुन्छ। र, फेरि पनि डेंगु नियन्त्रणमा चुस्त दुरुस्त भएर अगाडि नबढ्ने हो भने यसले अझै धेरै जनाको ज्यान लिने कुरा निश्चित छ। यो विषय सार्वजनिक चासोको विषय बनाइनुपर्दछ।
(डा नेपाली हेटौँडा अस्पतालमा कार्यरत छन्।)