दोहा– अर्जेन्टिनाविरूद्ध २–१ ले विजयी खेलमा आफ्नै गोलकिपर मोहम्मद अल–ओवाइससँग ठोकिन पुगेका साउदी अरेबियाका डिफेन्डर यासिर अल–साहरानीको सल्यक्रिया भएको छ।
अर्जेन्टिनाविरूद्ध मंगलबार भएको खेलमा आफ्नै टिमका गोलकिपर अल–ओवाइसको घुँडामा ठोकिएपछि यासिरको बंगाराको बाहिरी भाग फुटेको थियो। आन्तरिक रक्तश्रावपछि उनलाई स्ट्रेचरमा राखेर बाहिर निकाल्नु परेको थियो। साउदी अरेबिया फुटबल संघले सोसल मिडियामार्फत दिएको जानकारी अनुसार उनको सल्यक्रिया सफल भएको छ।
अल–साहरानीको साउदी अरेबियाकै रियादस्थित नेशनल गार्ड अस्पतालमा सल्यक्रिया भएको थियो। उनले आफू स्वस्थ भएको समर्थकलाई जानकारी दिएका छन्।
चोटका कारण ३० वर्षीय डिफेन्डरले विश्वकपअन्तर्गत अन्य खेल खेल्ने सम्भावना लगभग समाप्त भएको छ। उनलाई चोट निर्धारित समयपछि थप आठ मिनेटअन्तर्गत पाँच मिनेटभित्र लागेको थियो। यतिबेला अर्जेन्टिनाका फुलब्याक नाहुल मोलिनाले हेडिङ गोलको प्रयास गरेका थिए। त्यसैलाई रोक्ने क्रममा आफ्नै गोलकिपरसँग उनको च्यापु बजारिएको थियो।