काठमाडौं- रिपब्लिकन एड्स सेन्टरका अनुसार उज्वेकिस्तानमा वार्षिक ४ हजार एचआईभी संक्रमणका घटनाहरू दर्ता हुन्छन्। सन् २०१८ मा ४ सय ६१ बालबालिकामा एचआईभीको संक्रमण पहिचान गरिएको थियो। यस्ता बालबालिकाहरू समाजमा व्याप्त कलंक र भेदभावका कारण उनीहरूका आमाबाबुले छोड्ने जोखिममा छन्।
बालबालिकालाई संक्रमित भएकोमा दोष दिन सकिँदैन। यद्यपि, केही परिवारहरूले एचआईभी पोजेटिभको कारण बालबालिकाहरूलाई संस्थाहरूमा राख्छन्। यसबाहेक, एचआईभी पोजिटिभ नवजात शिशुहरू जन्मेपछि नै प्रसूति अस्पतालहरूमा छोडिन्छन्। उनीहरू पहिलो सास फेरेदेखि नै परिवारको साथ र अधिकारबाट वञ्चित भइरहेका छन्।
संस्थाहरूमा जीवन बिताउने बालबालिकाको विकासमा हानिकारक प्रभाव पार्छ किनभने तिनीहरू पारिवारिक हेरचाहमा बस्न र माया पाउनबाट वञ्चित छन्। संस्थाहरूमा हुर्कनुले बालबालिकाको स्वास्थ्य, विकास र समाजीकीकारणमा थप प्रतिकूल असर पार्छ।
उज्वेकिस्तानका धेरै समाजमा कलंक र भेदभाव अझै पनि व्याप्त छ। यसको मुख्य कारण एचआईभी बारे ज्ञानको कमी हो। उज्वेकिस्तानका संस्थाहरूमा एचआईभी पोजिटिभ भएका ५४ बालबालिकाहरू बसिरहेका छन्।
२२ वर्षीया युवती एलिनाले चार वर्षअघि संस्था छाडेकी थिइन्। उनले आफ्नो जीवन संघर्ष र भविष्यको सपनाको बारेमा आफ्नो कथा यसरी भनिन्;
'म जन्मँदा एचआईभी भएको पत्ता लागेको थियो। मेरो आमालाई पनि एचआईभी भएको थियो। त्यहीँबाट मलाई सरेको हो। मलाई जन्मिदैमा एचआईभी पुष्टि भएपछि उनले मलाई प्रसूति अस्पतालमै छोडिन्। म ६ वर्षको हुँदा मैले भाइरस फैलिनबाट रोक्ने पहिलो औषधि प्रयोग गर्ने मौका पाएँ।
डाक्टरहरुका अनुसार म पहिलो एचआईभी पोजिटिभ बच्चा थिएँ जसले सामान्य भविष्यको लागि मौका पाएको थिएँ। किनकि त्यो समय उज्वेकिस्तानमा भर्खरै एन्टिरेट्रोभाइरल थेरापी सुरु भएको थियो।
म १३ वर्षको हुँदा मेरो एचआईभी स्थितिको बारेमा थाहा पाएको थिएँ। त्यो कुरा थाहा पाएपछि म आत्तिइनँ। मैले पहिले पनि एचआईभीको बारेमा सुनेको थिएँ। पछि मैले यो पनि थाहा पाएँ कि अनाथालयमा सबैलाई मेरो अवस्थाको बारेमा थाहा छ।
अचम्मको कुरा, त्यो अनाथालयमा पहिले नै म जस्ता बालबालिकासँग अनुभव भएकोले त्यहाँ मलाई फरक व्यवहार गरिएको थिएन। त्यसबेला हामीसँग ११ जना एचआईभी पोजिटिभ बच्चाहरू बसिरहेका थिए। तर त्यसपछि मलाई अर्को अनाथालयमा सारियो। त्यहाँको वातावरण भने फरक थियो। त्यहाँ मलाई राम्रो व्यवहार गरिएन। केटाहरूले मलाई भेदभाव गरे र धम्की समेत दिए। उनीहरूले अरूलाई पनि मेरो नजिक नबस्न भनेका थिए।
एक महिना अघि, म अनाथालयमा मेरो साथीलाई भेट्न गएको थिएँ। उनले मलाई भनिन् कि उनी जस्ता एचआईभी पोजिटिभ बच्चाहरूलाई स्वस्थ बच्चाहरूबाट अलग गरिएको छ। उनीहरुका लागि चिन्ह लगाइएका भाँडाहरू छन्। उनीहरु छुट्टै खाने र पिउने गर्छन्।
शिक्षकहरूलाई औषधिको शक्तिबारे थाहा नभएकोमा म छक्क परें। भाइरसको फैलावटलाई रोक्न सकिन्छ र बच्चाले सामान्य जीवन जिउन सक्छ भन्ने कुरा शिक्षक र बालबालिका दुवैले बुझ्नु आवश्यक छ। तसर्थ, संस्थाहरूमा हेरचाह गर्नेहरूले बच्चाहरूलाई राम्ररी ध्यान दिनु आवश्यक छ। संक्रमितहरु पनिऔषधि सेवन गर्न कहिल्यै नछुटाउनुहोस्।
मैले तुरुन्तै विज्ञहरूलाई त्यो अनाथालयका शिक्षकहरूको लागि तालिम सञ्चालन गर्न अनुरोध गरें। त्यसको अर्को हप्ता शैक्षिक तालिम भयो। अहिले त्यहाँको अवस्था राम्रो छ।
अनाथालयमा मेरो जीवनकालमा, स्वस्थ परिवारहरूले एचआईभी सङ्क्रमित बालबालिकालाई लिन नचाहेकोले मलाई कहिल्यै धर्मपुत्रीमा दिइएन। अब, बाल हेरचाह संस्थाहरूमा बच्चाहरू घटाउने नयाँ कानून आएपछि अनाथालयहरूले एचआईभी भएका बच्चाहरूलाई स्वस्थ परिवारहरूमा पनि राख्न थालेका छन्।
अनाथ आश्रम छोडेको एक वर्षपछि मैले सरकारबाट एक कोठाको अपार्टमेन्ट पाएँ। म अर्को एकजना केटीसँग कोठा सेयर गरेर बसीरहेको छु।
केही वर्ष पहिलेमैले मेरो आफ्नो परिवार खोज्न थालेँ। मैले मेरो आमा, हजुरबा र हजुरआमाको मृत्यु भएको थाहा पाए। मैले मेरो बुबा र मेरो भाइ भेट्टाएँ। तिनीहरू रूसमा बसोबास गरिरहेका रहेछन् र अहिले हामी सम्पर्कमा छौं।
दुर्भाग्यवश, जुलाई २५, २००२ को संघीय कानून 'रूसी संघमा विदेशी नागरिकहरूको कानुनी स्थिति' अनुसार एचआईभी पोजिटिभ आप्रवासीहरूलाई रूसमा स्थायी रूपमा बस्न निषेध गरिएको हुनाले म त्यहाँ जान सक्दिन।
मैले सामना गरेको अर्को समस्या भनेको पढाई र पेशा गर्ने प्रतिबन्ध हो। मेरो एचआईभी स्थितिले मलाई मेडिकल कलेजमा प्रवेश गर्न, हेयर ड्रेसर, डाक्टर, शेफको रूपमा काम गर्न अनुमति दिएन, त्यसैले मैले आर्थिक संकायमा प्रवेश गर्नुपर्यो। तर अब चीजहरू परिवर्तन भएका छन्, र एचआईभी पोजिटिभ मानिसहरू रगतसँग नजिकको सम्पर्क आवश्यक नभएको धेरै ठाउँहरूमा काम गर्न खुला छन्।'
000
एलिना उज्वेकिस्तानमा सन् २००६ मा एन्टिरेट्रोभाइरल थेरापी प्राप्त गर्ने पहिलो बच्चा हुन्। एलिना एक शक्तिशाली उदाहरण हुन् जसले साथीहरू, शिक्षकहरू र रोजगारदाताहरूबाट पनि समान व्यवहार प्राप्त गर्न प्रयास गरिरहेकी छिन्। उनी अहिले संस्थामा बस्दै आएका एचआइभी सङ्क्रमित बालबालिकालाई सहयोग गर्ने प्रयास गरिरहेकी छिन्। उनी अन्य बालबालिकालाई भेट्छिन्, कुराकानी गर्छिन् र उनीहरूलाई बाँच्ने प्रेरणा दिन्छिन्। उनले एचआईभी/एड्समा बाल हेरचाह विशेषज्ञहरूलाई उनीहरूको मानसिकता परिवर्तन गर्न र कलंक तोड्न प्रशिक्षण समेत सुरु गरेकी छन्।
(युनिसेफमा प्रकाशित यो लेख स्वास्थ्यखबरकर्मी अन्शु खनालले भावअनुवाद गरेकी हुन्।)