काठमाडौं– बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट १०० जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। जसमा स्वास्थ्य क्षेत्रका पनि धेरै महिलाहरु समावेश छन्।
यी हुन् बीबीसी १०० विमिन २०२२ का स्वास्थ्य क्षेत्रका प्रभावशाली महिलाहरु:
ए न्येइन थु, म्यान्मार,
चिकित्सक
ए न्येइन थु म्यान्मारको सङ्कटग्रस्त क्षेत्रमा अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वयंसेविका हुन् र उनी दुर्गम तथा गरिब चिन राज्यमा सक्रिय छिन्। उनले सन् २०२१ को नोभेम्बरमा सानो अपरेशन थिएटरसहितको काम चलाउ अस्पताल निर्माण गरेकी थिइन् र त्यस बेलादेखि बिरामी र घाइतेहरूको उपचार गरिरहेकी छन्।आफ्नो फुर्सदको समयमा उनी स्वास्थ्य उपचार सेवा उपलब्ध नभएको अन्य क्षेत्रहरूको यात्रा गर्ने गर्छिन् र स्थानीय बिरामीाका साथै आन्तरिक विस्थापनमा परेका मानिसहरूलाई पनि सहयोग गर्ने गर्छिन्। कामको सिलसिलामा उनलाई म्यान्मारको सेनाले 'हिंसा उक्साएको' अभियोग लगाएको छ। सेनाले उनलाई स्थानीय स्तरमा पिपल्स डिफेन्स फोर्स भनिने सरकारविरोधी मिलिसियालाई सहयोग गरेको आरोप लगाएको छ।
स्यान्डी काब्रेरा आर्टेआगा, होन्डुरस
प्रजनन अधिकारकर्मी
दर्शनशास्त्रकी विद्यार्थी, लेखक र नारीवादी अभियानकर्मी स्यान्डी काब्रेरा आर्टेआगा यौन तथा प्रजनन अधिकारवादी हुन्। उनले मर्निङ-आफ्टर पीलसम्बन्धी कार्यशालामा पढाउँछिन् र उनी 'आब्लेमोस लो के एस'(यो के हो भन्नेबारे चर्चा गरौँ) नामको एउटा शैक्षिक अभियान र आपत्कालीन गर्भनिरोधसम्बन्धी डिजिटल मञ्चकी प्रवक्ता हुन्।
उनी एक्सिओन योभेन (युथ एक्सन) मा समेत काम गर्छिन् जसले किशोर-किशोरीको मानवीय, लैङ्गिक र प्रजनन अधिकारमा केन्द्रित कामहरू गर्छ। उनी होन्डुरन साङ्केतिक भाषामा समेत पोख्त छिन्। श्रवण क्षमता नभएकी आमाकी एक्ली सन्तानका रूपमा उनी आफ्नो विविधतापूर्ण र मायालु हुर्काइप्रति गर्व व्यक्त गर्छिन्।
जुडी किहुम्बा, केन्या
साङ्केतिक भाषा बुझाउने व्यक्ति
केन्याका केही अस्पतालमा साङ्केतिक भाषा अर्थ्याउने व्यक्तिहरू नभएको थाहा पाएपछि स्वास्थ्य सेवामा हस्तक्षेप गरेर कान नसुन्ने र आमा बनेपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने आमाहरूका लागि पैरवी गर्ने जुडी किहुम्बाले सूचना उपलब्ध गराइन्।
उनी टकिङ ह्याण्डस्, लिसनिङ आइज अन पोष्टपार्टम डिप्रेसन (टीएएचएलईपी) की संस्थापक हुन्। उनले कान नसुन्ने आमाहरूलाई मद्दत गर्दै आएकी छन्। किहुम्बाले सन् २०१९ मा आफैँले आमा बनेपश्चात् आफूले डिप्रेसन अनुभव गरेपछि उक्त संस्था खोलेकी थिइन्। यो वर्ष उनीहरूले गर्भवती आमाहरूको बच्चा जन्मिनुअघि पहिलो सामूहिक भेटघाट गरे जसमा परामर्शदाता र स्वास्थ्यकर्मीसहित ७८ जना कान नसुन्ने आमाहरू सहभागी थिए।
असोनेले कोटु, दक्षिण अफ्रिका
प्रविधि उद्यमी
असोनेले कोटुले जब आफ्नै गर्भनिरोधक प्रत्यारोपण हटाउनका लागि कोही मद्दत गर्ने भेटिनन् त्यही बेला यो सम्बन्धी व्यवसायको उपाय उनमा सुझ्यो। उनले फेमकनेक्ट नामको संस्था स्थापना गरिन् जसले किशोरावस्थामा गर्भवती हुन कम गर्न त्यससम्बन्धी शिक्षा दिन्छ र महिनावारीका बेला चाहिने सामग्रीमा पहुँच पुर्याभउने प्रविधि विकास गरेको छ।
फेमकनेक्टले प्रयोगकर्ताहरूलाई यौन र प्रजननसम्बन्धी औषधिहरूमा विभेदबिना पहुँच उपलब्ध गराउँछ। साथै अनलाइनमार्फत् गर्भनिरोधक औषधि र प्याडजस्ता सामग्रीमा पनि खरिद गर्न सकिन्छ। महिनावारीका बेला अत्यावश्यक सामग्रीको अभाव निर्मूल पार्ने र गुणस्तरीय स्वास्थ्यसेवामा पहुँच हुन सुधार गर्नुपर्ने विषयमा उनको चासो छ। उनी खासगरी त्यस्तो सेवा खतरामा रहेका युवा र सीमान्तकृत र सेवाबाट वञ्चित समुदायमा हुनुपर्ने ठान्छिन्।
शनेल कोन्टोस, अस्ट्रेलिया
यौन पूर्वसहमतिसम्बन्धी अभियानकर्मी
टिच अस कन्सेन्टु नामको अभियानकी संस्थापकका रूपमा उनले समग्रमा पूर्वस्वीकृतिबारे पैरवी गरिन्। सन् २०२१ मा शनेल कोन्टोसले इन्स्टाग्राममा एउटा पोस्ट लेख्दै आफ्ना फलोअरहरूलाई के उनीहरूमध्ये कोही वा उनीहरूले चिनेका कोही विद्यालयमा यौन दुर्व्यवहारमा परेका छन् भनी सोधेकी थिइन्। त्यसको २४ घण्टाभित्रै २०० भन्दा धेरैले 'परेको' भन्दै जबाफ दिएका थिए।
उनले एउटा पेटिसनको सुरुवात गर्दै अस्ट्रेलियामा सानैदेखि यौन पूर्वस्वीकृतिसम्बन्धी शिक्षाको माग गरिन्। जसले गर्दा नै पूर्वस्वीकृतिसम्बन्धी शिक्षा सन् २०२३ बाट किन्डरगार्डेनदेखि १० वर्षको उमेरसम्म अनिवार्य पारिँदैछ। अहिले उनले मानिसहरूलाई अर्को पक्षको स्वीकृतिबिनै यौनसम्पर्कका क्रममा कन्डम हटाउनेबारे शिक्षित पारिरहेकी छन् र त्यसलाई आपराधिक कार्य मान्न अभियान चलाइरहेकी छन्।
इरिना कोन्ड्राटोभा, युक्रेन
बालरोग चिकित्सक
चर्को गोलबारीमाझ पनि डा इरिना कोन्ड्राटोभा र उनको समूहले गर्भवती महिला, नवजात शिशु र खार्किभको प्रसुती केन्द्रमा रहेका आमाहरूको अथक रूपमा हेरचाह गर्न जारी नै राखेका थिए। उनीहरूले अस्पतालको भूमिगत तलामा प्रसूति वार्ड बनाएका थिए र सघन उपचार कक्षमा रहेका तर अन्यत्र सार्न नमिल्ने अवस्थाका बच्चाहरूको रेखदेखमा आफ्नो ज्यानको बाजी समेत लगाएका थिए।
उक्त्त केन्द्रकी प्रमुखका रूपमा डा कोन्ड्राटोभाले आफूहरूले सामना गरिरहेको चुनौतीलाई विश्वसामु प्रस्तुत गर्न गत मार्च महिनामा प्रख्यात फुटबलर डेभिड बेकमको इन्स्टाग्राम एकाउन्ट सञ्चालन गरेर जानकारीहरू दिएकी थिइन्। उनको टोलीले सन् २०१४ देखि लुहान्स्क र डोनेत्स्कका ३,००० भन्दा बढी महिलाहरूलाई शारीरिक तथा मानसिक स्वास्थ्य सहायता प्रदान गरेको छ।
हाइडि क्राउटर, यूके
अपाङ्गतासम्बन्धी अभियानकर्मी
हाइडि क्राउटर डाउन सिन्ड्रोम भएका मानिसप्रतिको धारणा परिवर्तन गर्न अभियान चलाउँछिन्। त्यस्तो अवस्था भएकाको बच्चा नजन्मिँदासम्म भ्रूण हत्या गर्न पाइने कानुन विभेदपूर्ण भएको भन्दै त्यसविरुद्ध उनले अदालतमा मुद्दा हालिन्। उच्च अदालतले उनको चुनौतीविरुद्ध आदेश दियो र उक्त कानुनले नजन्मिँदैको बच्चा र आमाको अधिकारबारे सन्तुलन मिलाउन खोजेको बताएको थियो। नोभेम्बरमा क्राउटरले हालेको पुनरवलोकन हारिन्, तर उनले आफू र आफ्नो टोलीको योजना लडिरहने रहेको र उक्त मुद्दा सर्वोच्च अदालत लैजाने बताइन्।
उनी पोजिटिभ अबाउट डाउनकी संरक्षक हुन् र न्याश्नल डाउन सिन्ड्रोम पोलिसी ग्रुपकी संस्थापक पनि हुन्। उनको आइ एम जस्ट हेइडी गत अगस्टमा प्रकाशित भएको थियो।
डिलेक गुर्सोइ, जर्मनी
मुटु शल्यचिकित्सक
जर्मनीमा टर्किश आप्रवासी आमाबुवाबाट जन्मेकी डा डिलेक गुर्सोइ एक अग्रणी मुटु शल्य चिकित्सक र कृत्रिम मुटु विशेषज्ञ हुन्। जर्मनीमा उनको चर्चा फोर्ब पत्रिकाको अग्रपृष्ठमा समेत भएको छ। उक्त पत्रिकाले उनलाई कृत्रिम मुटु प्रत्यारोपणको शल्यक्रिया गर्ने युरोपकै प्रथम महिला शल्य चिकित्सक भनेर प्रशंसा गरेको छ।उनी गत एक दशकभन्दा लामो समयदेखि कृत्रिम मुटुको विषयमा अनुसन्धानको अग्रस्थानमा छिन्। उनी अङ्गदानको दर न्यून रहेको अवस्थामा मुटु प्रत्यारोपणको विकल्पमा के व्यवस्था हुन सक्छ भन्नेमा काम गरिरहेकी छन्। र, उनको विशेष रुचि महिला शरीर विज्ञानमा रहेको छ। उनले आफ्नो आत्मकथा लेखेकी छन् र अब आफ्नै मुटु क्लिनिक स्थापना गर्न लागेकी छन्।
वेगाता गेब्रेयोहानेस अबेरा, टिग्रे, इथियोपिया
मानवीय सहायताकर्मी
मानवीय सहायताकर्मी वेगाता गेब्रेयोहानेस अबेराले टिग्रेमा युद्धका कारण उब्जिएको कुपोषणको समसया निराकरण गर्न सघाउन हड्रिना नामक एउटा गैरनाफामूलक संस्था स्थापना गरिन्। युद्ध प्रभावित महिला तथा बालबालिकालाई सघाउन हड्रिनाले कैयौँ आयोजना सञ्चालन गरेको छ जसमा आन्तरिक विस्थापितहरूको शिविरमा पोषण कार्यक्रम अनि सहरी क्षेत्रमा बगैँचा विकासका कार्यक्रम रहेका छन्।
उक्त सङ्गठनले द्वन्द्वसँग सम्बन्धित यौन हिंसाका पीडितहरूलाई महिला सशक्तीकरणका कार्यक्रम गर्नेदेखि लिएर युद्धले उब्जिएको गरिबीका कारण यौनकर्म गर्न बाध्य महिलाहरूलाई सहयोग गर्ने कार्यक्रम गर्दछ।
याना जिन्केभिक, युक्रेन
राजनीतिज्ञ एवं चिकित्सकीय स्वयंसेवक
युद्धको अग्रपङ्क्ति रहेर जीवन बचाउने हस्पिटलर्स स्वयंसेवी संस्था हो। याना जिन्केभिकले नेतृत्वमा रहेको यस संस्थाले युद्ध मैदानबाट मानिसहरूको उद्धार गर्छन्। जिन्केभिक विद्यालयबाट निस्किएपछि चिकित्सकीय स्वयंसेवामा होमिएकी हुन् र सन् २०१४ मा देशमा द्वन्द्व सुरु भएसँगै उक्त संस्था स्थापना गरेकी हुन्।उनले व्यक्तिगत रूपमा दुई सय घाइते सैनिकलाई सुरक्षित स्थानमा पुर्या्एकी छन्। उनको समूहले सैनिक र सर्वसाधारणलाई प्राथमिक उपचार उपलब्ध गराउने, चिकित्सकीय तालिम दिने लगायत काम गर्दै आएका छन् र हालसम्म करिब ६,००० उद्धार कार्य गरेका छन्। २७ वर्षीया उनी युक्रेनी संसद्को कान्छा सदस्यहरूमध्ये एक हुन्। उनी सैन्य चिकित्सा उपसमितिकी प्रमुख समेत हुन्।
युलिआ पायभस्का, युक्रेन
पारामेडिक स्वास्थ्यकर्मी
युक्रेनकी एक प्रतिष्ठित नागरिक पारामेडिक र एउटा स्वयंसेवी मेडिकल युनिट ताइराज् एन्जल्सकी संस्थापक हुन् पायभस्का। ताइराज् एन्जल्सले सयौँ नागरिक र सैनिकको ज्यान जोगाएको श्रेय पाएको छ। ताइराको नामले परिचित उनलाई मे महिनामा रुसी फौजले कब्जामा लिएका थिए। पक्राउ पर्दा उनी मारिऊपोल सहरबाट सर्वसाधारणहरूलाई बाहिर निस्कन सघाउँदै थिइन्।घेराबन्दीमा परेको सहरमा उनले आफ्नो टोलीको काम रेकर्ड गर्न शरीरमा जडित क्यामेरा प्रयोग गरेकी थिइन् र ती फुटेजहरू सञ्चारमाध्यमलाई उपलब्ध गराइएका थिए। तीन महिनामा रिहा भएपछि पायस्काले बन्दी अवस्थामा आफूप्रति गरिएको निर्मम व्यवहार र त्यहाँको कस्टकर अवस्थाबारे बोल्दै त्यसलाई 'नर्क'सँग तुलना गरिन्।
भिक्टोरिया बाप्टिस्ट, अमेरिका
नर्स र खोपबारे जानकारी दिने व्यक्ति
भिक्टो्रिया बापटिस्ट अमेरिकाको मेरिल्यान्ड राज्यमा नर्स हुन्। उनी मानिसहरूलाई खोपबारे जानकारी दिन्छिन्। अश्वेत समुदाय किन चिकित्सकीय हस्तक्षेपबारे सन्दिग्ध हुन्छन् भन्ने बुझ्छिन्। बाप्टिस्ट हेनरिट्टा ल्याक्सकी वंशज हुन् जसको सन् १९५१ मा पाठेघरको मुखको क्यान्सरबाट निधन भएको थियो। ल्याक्सको अनुमतिबिना नै कोषिका निकालेर प्रयोगशालामा पहिलो पटक विकास गरिएको थियो।
हेला कोषिका भनिने उनको कोषिकाहरूलाई त्यसयता चिकित्सकीय अनुसन्धानमा प्रयोग हुँदै आएको छ। तर उनको परिवारलाई त्यसबारे थाहा थिएन। हेनरिट्टा ल्याक्स फाउन्डेसनमा आवद्ध बाप्टिस्ट अहिले पाठेघरको मुखको क्यान्सर उन्मूलनका लागि विश्व स्वास्थ्य सङ्गठनकी सद्भावना राजदूत पनि हुन्।
निगार मार्फ, इराक
नर्स
इराकी कुर्दिस्तानको अस्पतालको बर्न युनिटकी हेड नर्सकी रूपमा निगार मार्फले आफैँलाई जलाएका महिलाहरूको उपचार गर्नुपर्थ्यो। विरोधस्वरूप आफैँलाई जलाउने चलन उक्त क्षेत्रका महिलाहरूमा अझै व्याप्त छ।
मार्फले बालबालिकाको बर्न युनिट तथा सघन उपचार कक्षमा काम गरेको २५ वर्ष बितिसक्यो। दुर्घटनावश शरीर जलेकाहरूको उपचारमा पनि उनी सामेल भएकी छन्। उनले उपचार गरेका कैयौँ महिलाले मानसिक तथा शारीरिक हिंसा बेहोरेका हुन्छन्। कतिपय त १६ वर्ष मात्र पुगेका पनि छन्।
नाजा लिबर्थ, ग्रीनल्यान्ड
मनोविद्
ट्रमा थेरापिस्ट नाजा लिबर्थ १३ वर्षकी मात्र हुँदा उनमा कोइलका रूपमा चिनिने पाठेघरमा राखिने आईयूडी उपकरण जडान गरिएको थियो। त्यो जन्मनिरोधक अभियान सन् १९६० र ७० को दशकमा डेनिस डाक्टरहरूले इन्युइट ग्रीनल्यान्डर्समा सञ्चालन गरेका थिए। झण्डै ४,५०० महिला तथा युवतीहरूलाई असर गरेको उक्त अभ्यासबारे यस वर्ष डेनमार्क र ग्रीनल्यान्डले अनुसन्धान गर्न औपचारिक रूपमा सहमति गरेका छन्।लिबर्थको अभियानले ती महिला र कोइलका कारण प्रजनन क्षमतामा असर परेको ठान्ने महिलालाई समेट्छ। उनले महिलाहरूलाई फेसबुक समूहमार्फत् एकअर्कासँग जोडिने र सहायता गर्ने माध्यम बनाएकी छन्।
मोनिका सिम्पसन, अमेरिका
प्रजनन न्याय अभियानकर्मी
अमेरिकाका दक्षिणी राज्यहरूमा अश्वेत महिलाहरूका निम्ति प्रजनन न्यायको क्षेत्रमा काम गर्दै आएको सिस्टरसङ संस्थाकी कार्यकारी निर्देशक मोनिका सिम्पसन यौन तथा प्रजनन अधिकारका निम्ति लड्दै आएकी छन्। अमेरिकाको सर्वोच्च अदालतले यो वर्ष रो भर्सस वेडको पुरानो फैसला उल्टने किसिमको निर्णय गरेपछि देशभरि कानुनी गर्भपतनबारे मुद्दा फेरि बहसमा आएको थियो।
सिम्पसन एक गायिका र वाचिका पनि हुन्। उनले आफ्नो कला र अभियानको संयोजन गरेकी छन्। साथै उनले गर्भवती महिलाहरूलाई परामर्श दिने काम पनि गर्छिन्। उनी ब्ल्याक मामाज म्याटर अलायन्सकी संस्थापक सदस्य हुन् जसले अश्वेत मातृ स्वास्थ्यको क्षेत्रमा काम गर्छ।
गेहाद हाम्दी, इजिप्ट
दन्तचिकित्सक एवं परोपकारी
दन्तचिकित्सक गेहाद हाम्दी इजिप्टमा महिलावादको पक्षमा वकालत गर्ने सुरुवाती संस्था स्पीक अपकी संस्थापक एवं व्यवस्थापक हुन्। उक्त संस्थाले आफ्नो सामाजिक सञ्जालमार्फत् लैङ्गिक हिंसा र यौन दुर्व्यवहारका दोषीहरूलाई सार्वजनिक गर्छ। सन् २०२२ मा इजिप्टभरि महिलाविरुद्ध शृङ्खलाबद्ध रूपमा हिंसात्मक अपराध भएका छन्।
स्पीक अपले महिलाहरूलाई कानुनी र भावनात्मक सहायता साथै आफूमाथि भएको दुर्व्यवहारविरुद्ध बोल्न हौसला दिन्छ। त्यस्तै उनीहरूले अधिकारीहरूलाई दोषीलाई कारबाहीका निम्ति दबाव समेत दिइन्छ। विश्व न्याय फोरम २०२२ मा समान अधिकार र विभेदविरुद्ध विधामा पुरस्कार जित्ने लगायत अन्य अवसरहरूमा हाम्दीको अभियानलाई मान्यता दिइएको छ।
(बीबीसी नेपालीबाट)