काठमाडौं - कीटाणुबाट कमलपित्त हुन्छ भन्ने कुरा पहिलो पटक १८३६ मा निमोनियाको बिरामीहरुलाई कमलपित्त भएपछि थाहा भएको थियो। ग्राम निगेटिभ समूहका कीटाणुबाट बच्चाहरुलाई खास गरेर नाबालक अवस्थामा कमलपित्त गराउँछ भन्ने कुरा धेरै पहिलेदेखि थाहा थियो।
टाइफाइडको कीटाणुबाट हेपाटाइटिस गराउन सक्ने भन्ने कुरा अब प्रमाणित भइसकेको छ। स्ट्रेप्टोकस, स्टाफाइलोकोकस, गोनोकोकस, सिगेला, ब्रुसेला इत्यादि कीटाणुबाट भएको हेपाटाइटिसको बयान पनि समय–समयमा प्रकाशमा आएको छ। पश्चिमी मुलुकमा ब्याक्टेरिमिया भएका बिरामीमध्ये ०.६ प्रतिशत देखि ३४ प्रतिशतमा कमलपित्त भएको देखिन्छ।
कीटाणुबाट कलेजमा पर्ने प्रभाव
बिरामीको रगत कल्चर गर्दा कीटाणु भेटाएमा ब्याक्टेरिमिया भएको मानिन्छ। कलेजोको कुफर सेलको रगतबाट कीटाणु हटाउने क्षमता हुन्छ। कीटाणुको संक्रमण हुँदा कलेजोलाई तीन तरिकाबाट क्षति पुग्न सक्छ। एक, कलेजोको कोषिका र कुफर सेललाई आक्रमण गरेर, दोस्रो, कीटाणुले बनाएको विषले कलेजोको कोषिकालाई नोक्सान पारेर, तेस्रो, त्यस्ता बिरामीमा हुने ज्वरो, कुपोषण वा अक्सिजनको कमी इत्यादिबाट कलेजोलाई असर गरेर।
कीटाणुले संक्रमण गरेको बेला ट्युमर नेक्रोसिस फ्याक्टर बन्छ, यसले न्युट्रोफिलबाट न्यूट्रोफि इलास्टेज बनाउँछ, जसले कलेजोका कोषिकालाई क्षति पार्छ। कुनै कुनै ब्याक्टेरियल हेपाटाइटिसमा कलेजोभित्रको पित्तनली अवरुद्ध भएर कमलपित्त भएको देखिन्छ।
कीटाणुबाट हेपाटाइटिस हुन सक्ने समूह
कीटाणुबाट हुने हेपाटाइटिस पश्चिमी देशहरुको तुलनामा सुधर सफाईको कमी र कुपोषण बढी भएका विकसित देशहरुमा धेरै हुन्छ। कीटाणुबाट हुने हेपाटाइटिस बढी हुने समूह हो।
– रक्सी धेरै पिउने
– कलेजोको दीर्घकालीन रोगी
– कुपोषण भएको व्यक्ति
– इम्युन शक्ति दबाउने वा क्यान्सर विरुद्धको औषधि प्रयोग गर्ने
– हेपाटाइटिस ईको बिरामी
– इन्जेक्सनबाट लागू औषधिको दुरुपयोग गर्ने
रोगको लक्षण
– ब्याक्टेरिमिया भएका बिरामीमा कुनै लक्षण नहुन सक्छ।
– केहीमा रोग अति चर्को भएर सेप्टिक सक पनि हुन सक्छ।
– धेरैजसो बिरामीलाई ज्वरो आउँछ। केहीलाई जाडो लाग्ने, कम्पन हुने, पसिना आउने वा होस कम हुने हुन्छ। ज्वरो आएको दुई तीन दिनपछि कमलपित्त देखापर्छ। धेरैजसो बिरामीमा कलेजो ठूलो हुन्छ। भाइरसबाट हुने हेपाटाइटिसको तुलनामा यिनीहरुलाई ज्वरो धेरै दिनसम्म रहिरहने, न्युट्रोफिल ल्युकोसाइटोसिस हुने, एएलटीको मात्रा त्यतिको नबढेको हुने गर्छ।
– केहीलाई कमलपत्ति धेरै गाढा र आल्कलाइन फोस्फटेजको मात्रा बढेको हुन्छु, तर पनि बिरामीको शरीर चिलाउँदैन।
ब्याक्टेरिमियाको इन्फेक्सनको मूल
सेप्टिक एबोर्सन, पाठेघरको इन्फेक्सन, पिसाब घरको इन्फेक्सन, एपेन्डिसाइटस, फोक्सोको वा कलेजोसँग जोडिएको पेटको महाशिराको इन्फेक्सन हुन सक्छ।
परीक्षण
कलेजोको रगत परीक्षणमा बिलिरुबिन, एएलटी र आल्कलाइन फोस्फटेजको मात्रा बढेको हुन्छ। रगतमा न्युट्रोफिलको संख्या बढेको र कीटाणु हुन्छ। औषधि वा अरु कारणले न्युट्रोफिलको संख्या कम भएको बिरामीमा पनि कीटाणुबाट हेपाटाइटिस हुने संभावना बढी हुन्छ। एएलटी र आल्कलाइन फोस्फटेजको मात्रा सामान्य रुपमा बढेपनि केहीमा संयोजित बिलुरुबिन धेरै बढेको हुन सक्छ। केही बिरामीमा पित्तको थैली फुलेको हुन्छ। अल्ट्रासाउण्ड परीक्षणबाट कलेजोमा आएको परिवर्तन, पेटको महाशिराको रोग र पित्तको थैली फुलेको थाहा हुन्छ।
कलेजोको बायोप्सीमा देखिने चिह्नहरु
ब्याक्टेरियल हेपाटाइटिसमा कलेजोभित्र पित्त जमेको, कलेजोको कोषिकामा अलिकति बोसो जमेको, कोषिका सुन्निएको, केही कोषिकाको क्षति भएको, कुफर सेलको संख्या बढेको र पोर्टल ट्राक्टमा इन्फ्लामेटरी सेलहरु बढी जम्मा भएको देखिन्छ।
उपचार
एन्टिबायोटिकको प्रयोगबाट यो रोग निको हुन्छ। रगतको कल्चरको रिपोर्ट आउनु अगाडी एन्टिबायोटिक प्रयोग गर्नुपर्ने हुन्छ। सिप्रोफल्क्सासिन (७५० मिलिग्राम दिनको दुई पटक) मुखबाट १०–१२ दिनुपर्छ। बिरामीको अवस्था चिन्ताजनक भए अथवा बिरामी इम्युनोसप्रेसिभ वा क्यान्सरको उपचार गराइरहेको छ भने सुरुमा एन्टिबायोटिक इन्जेक्सनको रुपमा नसाबाट दिनुपर्छ।
सिफालोस्पोरिन समूहको औषधि सिफोटाक्सिम वा क्विनोलिन समूहको सिप्रोफल्क्सासिन वा ओफल्क्सासिन सुरु गर्नु उपयुक्त हुन्छ। अल्ट्रासाउण्ड गर्दा पेटको महाशिराको रोगको शंका वा एकिन भए अर्को ४ हप्ता उपचार गर्नुपर्ने हुन्छ। सुरुमा इन्जेक्सन दिएर गर्ने हो भने बाँकी ४ हप्ता मुखबाट दिनुपर्छ।
(डा सन्तोषमान श्रेष्ठको नेपालमा कलेजोका रोगहरु नामक पुस्तकबाट साभार)