एजेन्सी– महान् फुटबलर पेल जीवनको उत्तरार्धमा अहिले क्यान्सरसँग जुधिरहेका छन्। परिवारले पेलेको स्वास्थ्य सुधारका लागि हरप्रयास गरिरहेको छ।
गत शुक्रबार मात्रै पेलेकी छोरी केली नासिमेन्तोले एक तस्बिर पोस्ट गरेकी थिइन्। उक्त तस्बिरले ब्राजिलका महान् फुटबर तथा दुई पटकको विश्वविजेता पेलेको पछिल्लो स्वास्थ्य अवस्थाबारे केही जानकारी दिन्छ।
छोरी केलीले आफ्ना बाबु पेलेसँगै बसेर खुसी हुने प्रयास गरिरहेकी छन्। तर शनिबार पोस्ट गरिएको तस्बिर भने सबै फ्यानलाई चिन्तित बनाउने किसिमको थियो। उक्त तस्बिरमा पेलेको अवस्था नाजुक देखिन्थ्यो।
यतिमात्रै होइन पेलेको परिवारले एउटा भिडियो समेत साझा गरेको छ। मोबाइलमार्फत् खिचिएको उक्त भिडियोमा पेलेलाई कसैले समाएर अड्याएको देखिन्छ। भिडियो खिच्दा समेत त्यहाँ के भइरहेको छ भन्नेबारे पेले जानकार समेत नभएको मार्काले उल्लेख गरेको छ।
‘यो हामीलाई थाहा छैन कि औषधिका कारण पेले लठ्एिर गतिविधिहरु नचिन्ने भएका हुन् वा उनी अचेत अवस्थामा पुगिसकेका हुन्,’ मार्काले लेखेको छ।
पेलेले केही दिनअघि मात्रै साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन मेडिकल सेन्टरमा क्रिसमस मनाउने अपेक्षा गरेका थिए। तर त्यो सम्भव नभएको बताइएको छ।
पछिल्लो ४८ घण्टामा पेलेको स्वास्थ्यमा सुधारको कामना गर्दै सयौं फुटबलरहरुले उनलाई म्यासेज पठाइरहेका छन्। यतिबेला सम्पूर्ण फुटबल जगतले नै पेलेको स्वास्थ्यलाई लिएर चिन्तित हुँदै स्वास्थ्य लाभको कामना गरिहेको छ।