बेइजिङ- चीनका स्वास्थ्य अधिकारीहरूले बेइजिङ, तियानजिन र छन्दुमा कोरोना सङ्क्रमण क्रमशः कम हुँदै गएको बताएका छन्। देशभर कोभिड–१९ को अवस्था अहिले उच्चस्तरमा रहेपनि बेइजिङ, तियानजिन र छन्दुमा कोभिड–१९ सङ्क्रमणले चरम सीमा नाघेको बताएका हुन्।
देशभर हाल कोरोना सङ्क्रमित अधिक भए पनि हरेक प्रान्त र प्रदेशमा सङ्क्रमण दर फरक रहेको तथा सबैतिरको अवस्था एकै किसिमको नभएको सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख वु जुनयुले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए।
राज्य परिषद् सूचना कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बेइजिङ, तियानजिन, हेबेइ, छन्दु, चोङकिङ तथा मध्य चीनका केही प्रान्तमा अन्य प्रान्तको तुलनामा सङ्क्रमण चाँडो फैलिएको र त्यो क्रमशः शिथिल हुँदै गएको जानकारी दिँदै प्रमुख वुले साङ्घाई, चोकिङ, आन्हुई, हुबेई, हेनान, जिलिन र फुजियानमा तुलनात्मक रुपमा तीव्र गतिमा फैलिएको बताए।
ठूला र सघन जनसङ्ख्या भएका शहरमा भाइरस द्रुत गतिमा फैलिएको, जनसङ्ख्या र आकारका दृष्टिले साना र मध्यम शहरमा सङ्क्रमणको फैलावट पनि मन्द रहेको बताउँदै केन्द्रप्रमुखले चिसोमा सङ्क्रमणको थप जोखिम हुने, आगामी वसन्तोत्सवमा भीड हुनसक्ने भएकाले त्यसबाट बच्नुपर्नेमा उनले जोड दिएका छन्। महामारीको अवस्थालाई सबै स्थानीय तहले विश्लेषण एवम् अनुगमन गरी सर्वसाधारणको जीवनमा परेको प्रभाव कम गर्ने प्रयास जारी रहेको उनले बताए। रासस