काठमाडौं– ब्राजिलाका महान फुटबल खेलाडी पेलेको निधन भएको छ। ‘फुटबलका जादुगर’, ८२ वर्षीय पेले लामो समयदेखि मिर्गौला र प्रोस्टेटसम्बन्धी रोगबाट ग्रसित थिए।
२१ वर्षको लामो फुटबल करिअरका दौरान १ हजार ३६३ म्याच खेलेका पेलेको नाममा १ हजार २८१ गोल गरेको विश्व रेकर्ड छ।
उनी एकमात्रै खेलाडी हुन्, जसले ३ पटक विश्वकप जितेका छन्। ब्राजिलले १९५८, १९६२ र १९७० को विश्वकप जित्दा पेले टिममा थिए। उनलाई विश्व फुटबल महासंघले सन् २००० मा ‘फिफा प्लेयर अफ दि सेन्चुरी’को उपाधि प्रदान गरेको थियो।
पेलेकी छोरी केली नासिमेन्तोले इन्स्टाग्राममा एक सन्देश लेख्दै आफ्ना पिताको निधन भएको बताएकी छन्।
पछिल्लो वर्षको सेप्टेम्बरमा पेलेको आन्द्राको शल्यक्रिया गरिएको थियो र एक ट्युमर निकालिएको थियो। उक्त ट्युमर एक रुटिन टेस्टको क्रममा पत्ता लागेको थियो। उनलाई यसै वर्ष नोभेम्बरमा फेरि अस्पताल भर्ना गरिएको थियो।
पछिल्लो समय उनको उपचार साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा चलिरहेको थियो।