आज भोलि धेरैलाई खोकी लाग्ने, नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने वा खसखस गर्ने, श्वास प्रश्वासमा अवरोध देखिने जस्ता समस्याले सताउने गरेका देखिन्छ। उच्च ज्वरो धेरैमा नदेखीने र यस्ता समस्याहरु दुई हप्ता वा सो भन्दा बढी समय देखिने गरेको पाइन्छ। श्वास प्रश्वासको दीर्घ समस्या भएकालाई त अस्पताल नै भर्ना गर्नुपरेको समेत देखिन्छ। धेरैले संक्रमण बढेको हुनसक्ने अनुमान गरेको पाइन्छ। जाडो महिनामा विशेषत भाइरल संक्रमण पनि देखिने हुँदा यो अनुमान अस्वाभाविक भने देखिँदैन। तर माथि उल्लेखित लक्षणहरु वायु प्रदूषण अत्यधिक बढ्दा पनि देखिन सक्छ भन्ने धेरै कमलाई मात्र हेक्का भएको हुनुपर्दछ। जाडो महिना लाग्दै गर्दा काठमाडौँमा हरेक वर्ष जसो वायु प्रदूषणले व्यापक प्रभाव पार्ने गरेको पाहिन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषण भन्नाले प्रयोग गरिएका इन्धन (घर वा यातायातका साधनमा प्रयोग भएका), धुलो, फोहोरको (रासायनिक) धुवाँ आदिबाट उत्पन्न हुने ठोस कण, तरल छिटा, र ग्याँसको समीश्रणलाई बुझाउँदछ। यस्ता हानिकारक समीश्रणलाई श्वास प्रश्वास मार्फत शरीरमा पुगी स्वास्थमा तत्कालिन तथा दीर्घकालिन रुपमा हानी पुर्याउने गर्दछ। एर क्वालिटी इन्डेक्सबाट वायु प्रदूषणलाई मापन गर्ने गरिन्छ। एक्यूआई ५० भन्दा कम भए स्वास्थलाई हानी नगर्ने भनेर मानिन्छ। जाडो महिना सुरु भएसँगै काठमाडौँ लगायत नेपालका बिभिन्न ठाउँहरुमा एक्यूआई ५० भन्दामाथि देखिँदै आइरहेको पाइन्छ। एक्यूआई १०० भन्दा माथि देखिन थाले भने स्वास्थमा समस्या देखिन सुरु हुने गर्दछ। यो लेख तयार पार्दै गर्दा ( ३ पुस, ३:४० बेलुकी) काठमाडौँको खुमल्टर, भैसेपाटी, शंकपार्क र रत्नपार्कमा एक्यूआई १०० भन्दा माथि देखिएको थियो। एक्यूआई सार्वजनिक बिदाको दिन बाहेक अरु दिनमा अझ बढी देखिन सक्दछ।
भारतको राजधानी नयाँ दिल्लीमा केही वर्ष अगाडि एक्यूआई ५०० सम्म पुगेको र सो समय अस्पतालमा खोकी लाग्ने, नाकबाट पानी बग्ने, घाँटी र छाती दुख्ने जस्ता समस्याले ग्रस्त बिरामीको संख्यामा अचानक बृद्धि भएको भनिएको थियो। भारतमा वायु प्रदूषणले बिकराल रुप लिदै गैरहेको देखिन्छ। तिब्र शहरीकरण, यातायात साधनमा निरन्तर बृद्धि, अव्यवस्थित सडक निर्माण/मर्मत आदि नेपालमा वायु प्रदूषण बढ्नुका मुख्य कारक मान्न सकिन्छ। र यो समस्या वर्षेनी बढ्दो देखिन्छ। तर नेपालमा वायु प्रदूषण कै कारणले कति मानिस बिरामी हुन्छ भन्ने राम्रो अनुसन्धान भएको पाइँदैन। यसकारण पनि वायु प्रदूषण प्रति धेरैको चासो/जानकारी नभएको हुनु पर्दछ।
हाल नेपालमा फ्लु संक्रमण स्थिर रहेको देखिन्छ। ४ महिना अगाडिको तुलनामा हाल संक्रमितको संख्या धेरै कम (३१ बाट हाल ११ प्रतिशतमा झरेको) देखिन्छ। फ्लु संक्रमणमा उच्च ज्वरोलाई मुख्य लक्षणको रुपमा लिइन्छ। तर हाल अधिकांश बिरामीमा खोकी लाग्ने, घाँटी दुख्ने, हाछ्युँ आउने, नाक बन्द हुने वा नाकबाट पानी बग्ने जस्ता फ्लु संक्रमणसँग मिल्दोजुल्दो लक्षणहरु देखिने गरेको भएता पनि उच्च ज्वरो कमैमा देखिने गरेको छ। काठमाडौँमा हाल वायु प्रदूषण ह्वात्तै बढेसँगै अधिकांशमा माथि उल्लेखित लक्षणहरु देखिने गरेको पाहिन्छ। यसबाट पनि वायु प्रदूषण हाल देखिएको रुघा खोकीको मुख्य कारक हुनसक्ने देखिन्छ। यद्धपि प्रयोगशाला परीक्षणबाट फ्लु संक्रमण हो/होइन भनेर एकिन भने गर्नुपर्दछ। रोगको कारक छुट्याउन सकिए उपचार वा परामर्श दिन चिकित्सकलाई सहज हुनेछ।
हाल बढ्दो रुघा खोकीसँगै कोभिड-१९,फ्लु भाइरस, आरएसभी भाइरस वा अरु संक्रमण होकी भनेर आशंका गरिने गर्दै आइरहेकोमा वायु प्रदूषणलाई पनि बेवास्ता/नजरअन्दाज गर्न मिल्दैन।बिशेषत वायु प्रदूषण बढेको बेला माथि उल्लेखित लक्षणहरु सहितका बिरामीमा बृदि हुन सक्दछ।जाडो महिना लागेसंगै वायु प्रदूषण बढ्ने गरेको पाइन्छ। कतै तपाईंलाई लामो अवधिदेखि खोकी लाग्ने, घाँटी खसखस गर्ने वा दुख्ने वा स्वर भासिने, नाकबाट पानी बग्ने वा बन्द हुने, श्वासप्रश्वासमा समस्या देखिने गरेको छ? त्यो वायु प्रदूषणको कारणले भएको पनि हुनसक्दछ है।