दादुरा एक संक्रामक रोग हो। जुन भाइरसको कारणले गर्दा हुन्छ। यो भाइरस पारा–म्याक्सो समूह अन्तर्गत पर्दछ। यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भएपनि पाँच वर्ष मुनिका बालबालिकामा बढी देखिन्छ। निकै संक्रामक हुनाले छिट्टै महामारीको रुप लिन सक्छ।
दादुरा सर्ने तरिका
दादुरा सामान्यतया प्रत्यक्ष सम्पर्क र हावा मार्फत सर्दछ। भाइरसले श्वासप्रश्वास नलीमा संक्रमण गर्छ र शरीरभरी फैलिन्छ। यो भाइरस मानिसमा मात्र सर्छ। हालसम्म अन्य जीवमा देखिएको छैन।
दादुराको लक्षणहरु
दादुराको पहिलो लक्षण भनेको उच्च ज्वरो हो। जुन भाइरसको सम्पर्कमा आएको १० देखि १२ दिनपछि सुरु हुन्छ र ४ देखि ७ दिनसम्म रहन्छ।
ज्वरोसँगै बिरामीको नाकबाट पानी बग्ने, खोकी लाग्ने र आँखा रातो हुने गर्छ। यस रोगमा देखापर्ने मुख्य लक्षणका आधारमा थ्रि सी डिजिज (कफ, कोर्जा र कन्जस्टीटिभ) पनि भनिन्छ। बिरामीसँग सम्पर्कमा आएको १४ दिनपछि शरीरमा बिमिराहरु देखिन्छ। पहिलो चरणमा गालाभित्र सेतो दाग देखिन्छ। त्यसपछि कानको पछाडी हुँदै अनुहार, घाँटी गर्दै हात, खुट्टा र शरीरभरी फैलिन्छ।
जटिलताहरु
गम्भीर जटिलताहरु पाँच वर्षभन्दा कम उमेरका बालबालिका वा ३० वर्ष माथिका व्यक्तिहरुमा देखिन्छ। अन्धोपन, इन्सेफलाइटिस, पखाला, कानको संक्रमण गम्भीर श्वासप्रश्वासको संक्रमण दादुरले निम्त्याउने जटिलताहरुमा पर्दछन्।
दादुरा रोगको उपचार, नियन्त्रण तथा रोकथामका उपायहरु
दादुरा भाईरसको कारणबाट हुने रोग भएकोले यसको विशेष उपचार छैन। यो अवस्थामा बिरामीमा देखा परेको चिन्ह लक्षणका आधारमा उपचार गरिन्छ। ज्वरोका लागि सिटामोल, पोषिलो खाने कुरा खुवाउने, रोग पत्ता लागेको पहिलो र दोस्रो दिन गरी दुई मात्रा भिटामिन ए क्याप्सुल खुवाउनु पर्दछ। एक जना बिरामीले १२ देखि १८ जना बालबालिकालाई सार्न सक्छ। त्यसैले बिरामीलाई अनिवार्य रुपमा अन्य बालबालिकासँगको सम्पर्कमा आउन नदिन आईसोलेसनमा राख्नुपर्दछ। बिरामीले मास्क प्रयोग गर्ने, हात धुने, व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्दछ। बच्चाको उमेर ९ महिना र १५ महिनाको उमेरमा एक÷एक मात्रा गरी दुई मात्रा दादुरा विरुद्धको खोप दिनु नै दादुराबाट बच्ने एक मात्र प्रभावकारी उपाय हो।
नियमित खोप लगाउँदा दादुरा खोप लगाउन छुट भएका बालबालिकाहरुमा समेत पाँच वर्षको उमेर भित्र जुन सुकै समयमा आएमा पनि एक महिनाको फरकमा दुई मात्रा खोप दिई पूर्ण खोप सेवा प्रदान गरिन्छ।
दादुराको खोप एक मात्राको प्रभावकारिता ८५ प्रतिशत र दोस्रो मात्रा समेत दिएमा रोगको रोकथाम गर्ने प्रभावकारिता दर ९५ देखि ९७ प्रतिशत हुने विभिन्न अनुसन्धानहरुले प्रमाणित गरेका छन्। दादुरा, रुवेला र जन्ममाज रुवेला सिन्ड्रोमबाट सुरक्षित हुन दादुरा रुवेला खोप दिइन्छ। यो जिवित कमजोर भाइरसबाट बनाइएको हुन्छ।
यो खोप ०.५ एमएल छाला र मासुको बीचमा दिइन्छ। कोभिड–१९ विरुद्धको खोप लिएको १४ दिन भित्र र यो खोप लिएको १४ दिनपछि सम्म दादुरा–रुबेला विरुद्धको खोप दिइँदैन।
दादुरा रुवेला खोप बच्चा जन्मेको ९ महिना र १५ महिनामा गरी दुई पटक दिनुपर्छ। यो खोप लगाएका करिब १० लाख बालबालिकामध्ये एक जनामा प्रतिक्रिया हुन सक्छ।
दादुरा–रुबेला विरुद्धको खोप दिन नहुने अवस्था
पहिले दादुरा–रुबेला विरुद्धको खोप लिएको बेला खोपको कारणले कडा प्रकारको प्रतिक्रिया भएको, अहिले दादुरा भएको बालबालिकामा, अन्य कुनै शिकिस्त बिरामी परेको अवस्थामा र एड्सका बिरामीमा यो खोप दिन मिल्दैन। एच.आई.भि. मात्र भएको अवस्थामा यो खोप दिन सकिन्छ।
दादुरा महामारी
दादुरा महामारी हुनका लागि कुनै निश्चित भौगोलिक क्षेत्र अथवा समुदायमा चार हप्ता भित्रमा पाँच जना वा सो भन्दा धेरै दादुरा रुवेलाको बिरामी देखा परेको हुनुपर्दछ। जसलाई हामी दादुरा महामारी भन्छौँ। यसका लागी शंकास्पद पाँच जना बिरामीको रगतको सिरम लिई कम्तीमा दुई जनाको सिरम जाँच पोजेटिभ भएमा दादुरा महामारी भनिन्छ।
दादुरा–रुबेला प्रकोप नियन्त्रण र व्यवस्थापनका लागि दादुरा महामारी पछिको प्रतिकार्य खोप कार्यक्रम
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले दादुरा–रुबेला महामारी फैलिएको अवस्थामा सो रोगको प्रकोप फैलिन नदिन प्रकोप फैलिएको जिल्ला र वरीपरिका जिल्लाहरुमा प्रकोप फैलिन नदिन र नियन्त्रण गर्नका लागी राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत दादुरा–रुबेला प्रकोप नियन्त्रण र व्यवस्थापनका लागि आउटब्रेक रेस्पोन्स इम्युनाइजेनश (ओआरआई) कार्यक्रम सञ्चालन निर्देशिका २०७७ तयार गरेको छ। सो निर्देशिका अनुसार दादुरा रोगको महामारी देखिएको जिल्ला वा भौगोलिक क्षेत्र र त्यहाँबाट मानिस आवात जावात गर्नेसँगै जोडिएको जिल्ला वा बस्तीहरुमा समेत रोग फैलिन नदिन महामारी पछिको प्रतिकार्य खोप अभियान (ओआरआई) सञ्चालन गरिन्छ। सामान्यतया यो विशेष थप खोप अभियान सञ्चालन गर्दा लक्षित समूह निर्धारण गर्नुपर्दछ। जसमा यदि महामारीको समयमा बिरामीहरु ९ महिना माथिको देखिएमा उमेर समुह ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई सो अभियान मार्फत दादुरा–रुबेला विरुद्धको खोप थप एक मात्रा दिईन्छ। यदि महामारीको समयमा ९ महिना मुनिका बालबालिकाहरुमा समेत दादुराको प्रकोप देखिएको भएमा उमेर समुह ६ महिनादेखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई सो अभियान मार्फत दादुरा–रुबेला विरुद्धको खोपको थप एक मात्रा दिईन्छ।
बाँकेमा फैलिएको दादुरा महामारी
हाल बाँकेमा दादुरा महामारीको रुपमा फैलिएको छ। अहिलेसम्म ५ स्थानीय तहहरु पालिकाहरुमा (नेपालगञ्ज, कोहलपुर, डुडुवा, नरैनापुर, खजुरा) दादुराका बिरामीहरु पmेला परेका छन्। यी पाँच स्थानीय तहहरुमा २९२ जनामा दादुरा निदान भएको छ। जसमध्ये ५१ जना उपचाररत छन्। २४० जना निको भएका छन् भने एक जनाको मृत्यु समेत भइसकेको छ।
पाँच स्थानीय तहको दादुरा रुवेला खोप लगाउनुपर्ने ६ महिना देखि १५ बर्ष मुनिका बालबालिकाको लक्षित जनसंख्या १ लाख १५ हजार ६०० जना मध्ये रहेकोमा ८८ हजार १३१ जनाले लगाइसकेका छन्। दादुरा निवारणका लागी दादुरा–रुबेला खोपको दोस्रो मात्राको लक्ष अनुसारको प्रगति ९५% भन्दा बढि हुनुपर्ने भएकोले खोप सेवा निरन्तर प्रदान भईरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखा, विश्व स्वास्थ्य संगठन डब्लुएचओ, युनिसेफले बाँके जिल्ला र यसको सिमाना जोडिएका र हाल दादुराका बिरामी देखिएका बर्दिया, कैलालि, सुर्खेत र दाङ्ग जिल्ला गरी पाँच जिल्लामा महामारीपछिको प्रतिकार्य खोप अभियान सञ्चालनको तयारी गरिरहेको छ।
समग्रमा सरकारले सन २०२३ को अन्त्य सम्ममा दादुरा रोग निवारण गर्ने लक्ष लिएकोमा सन २०२३ को सुरुवातसँगै दादुराको प्रकोप बाँके लगायत नजिकका पाँच जिल्लामा देखा परिसकेकोले अब रोगको समयमै नियन्त्रणका लागी स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको स्वास्थ्य मन्त्रालयको संयन्त्र, सबै जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु, विकास साझेदार निकायहरु र समुदायको परिचालनबाट रोग समयमै नियन्त्रणको प्रयास भएकोले रोगको नियन्त्रणको अवस्थामा पुगेको आंकलन गर्न सकिन्छ। यस अभियानमा हामी सबैको हातेमालोले रोग निवारणको बाटो पनि तोकिएको समयमा संभावनाको आशा गर्न सकिन्छ।
( भेरी अस्पतालकी नर्सिङ निरीक्षक श्रेष्ठ हाल चितवन मेडिकल कलेजमा एमएन अध्ययनरत छिन्)