काठमाडौं– टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २० हजार माथि पुगेको छ। यद्यपि संयुक्त राष्ट्र संघले भूकम्पले पूर्याएको वास्तविक क्षतिको अझै यकिन हुन नसकेको जनाएको छ।
उद्धारकर्ताहरुले अझै पनि जीवित व्यक्ति भेटिने आशमा भग्नावशेषमा खोजी कार्य जारी राखेका छन्। तर, भूकम्प गएको १०० घण्टाभन्दा बढी समय भइसक्दा भग्नावशेषमा पुरिएका मानिसहरुलाई जीवित भेट्ने सम्भावना क्षिण हुँदै गएको टर्की र सिरियाका अधिकारीहरुले जनाएका छन्।
टर्कीका अधिकारीका अनुसार टर्कीमा मात्र मुत्यु हुनेको सङ्ख्या झण्डै १७ हजार १३४ भन्दा बढी पुगेको छ। यस्तै, सिरियामा ३ हजार १६२ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।
अत्यधिक चिसोका कारण खोजीमा बाधा पुगेको छ। विज्ञहरूले जीवन बचाउने सबैभन्दा सम्भाव्य अवधिका रूपमा लिएको ७२ घण्टाको समय बितिसकेको छ।
बाब अल–हवा सीमा नाकाका एक अधिकारीले एएफपीलाई बताएअनुसार विद्रोहीको कब्जामा रहेको उत्तरपश्चिमी सिरियामा बिहीबार सहायता पुगेको छ।
एक दशक लामो गृहयुद्धमा र हवाई आक्रमणका कारण अधिकांश सुविधासम्पन्न अस्पतालहरू ध्वस्त बनेका थिए, अर्थतन्त्र ध्वस्त बनेको थियो र बिजुली, इन्धन र पानीको अभाव हुँदै आएको थियो।
टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यस्तै सोही दिन दिउँसो १:२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो।