सेवाहरुमध्ये पनि अति संवेदनशील र अति विशिष्ट सेवा अन्तर्गत स्वास्थ्य सेवाले आफूलाई दरिलो गरी उभ्याएको छ। कुनै पनि देशले औधोगिक क्रान्ति, आर्थीक सम्वृद्धि, सामाजिक, सांस्कृतिक, भौतिक विकास अनि समुन्नतिमा अग्रगामी छलाङ मार्न त्यस देशको आर्थिक उन्नति, राजनैतिक स्थिरता, शैक्षिक विकासको साथै स्वास्थ्य सेवाको विकास तथा विस्तार, त्यसको सहज उपलब्धता र सबै क्षेत्र र तप्काका नागरिकमा त्यसको पहुँचलाई समेत सुनिश्चितता गर्नुपर्दछ। प्रत्येक नागरिकको सर्वशुलभ रुपमा स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकार र हकलाई कुण्ठित गरी तुषारापात पलाउन दिनुहुँदैन।
कथननै छ, 'स्वास्थ्य संस्था एक मन्दिर हो र स्वास्थ्यकर्मी भगवानका रुप हुन्।'
तर के शैक्षिक डिग्रीको प्रमाणपत्र या कुनै तह अथवा विधाको योग्यता, दक्षता र सिप हाँसिल गर्दैमा कुनै व्यक्ति अति महान्, महर्षि, सफल, प्रतापी, अलौकिक, सर्वमान्य, सर्वशक्तिमान र अतिपुज्य ठहरिन्छ त? महान्, सफल र सर्वमान्य हुनलाई त आफ्नो योग्यता, क्षमता र दक्षताले भ्याए सम्म दत्तचित्त भई अनवरत रुपमा निश्वार्थ जनताको सेवामा प्रतिवद्ध भई संधै सुकर्म गर्नुपर्छ।
जब सम्म स्वास्थ्यकर्मी आफ्नो पेशामा पूर्ण इमान्दारी, मर्यादित र आत्मविश्वासका साथ आफ्नो जिम्मेवारी कुसलताका साथ बहन गर्दैनन् तबसम्म न स्वास्थ्य क्षेत्र सबल हुन्छ न त यस क्षेत्रमा गरिएको लगानीले पूर्णरूपमा प्रतिफल दिन्छ। स्वास्थ्यकर्मीले उपलब्ध स्रोत र साधनको अचुकतम प्रयोग गरी स्वास्थ्य सेवा प्राप्त गर्न स्वास्थ्य संस्थामा आउने प्रत्येक विरामी तथा उनका आफन्तको मनोबल र हौसलालाई बढाई रोग तथा समस्याहरुलाई पराजित गर्न सक्ने अटल आत्मविश्वास जगाउनुपर्छ। धेरै भन्दा धेरै स्वास्थ्य समस्याहरुको निदान, उपचार र निराकरण गर्न अग्रढी भूमिका खेल्नुपर्दछ। स्वास्थ्यकर्मीले विरामीको आधुनिक चिकित्सा पद्धती, यन्त्र, औजार, औषधि तथा उपकरण द्वारा उपचार गर्न मात्र जानेर हुदैन त्यो भन्दा बढी विरामीको मनोविज्ञान, भावना तथा मनोदशा बुझेर मानविय संवेगात्मक पक्षबाट पनि उपचार गर्न सक्नुपर्छ। उनीहरु केवल यान्त्रिक साधन द्वारा उपचार गर्ने साधक मात्र नभएर एक असल उत्प्रेरक, पथप्रदर्शक, व्यवस्थापक, परामर्शदाता तथा एक सक्षम नेतृत्व जसले स्वच्छ तथा स्वस्थ समाज निर्माणमा अग्रसरता देखाओस्। स्वास्थ्यकर्मीले आफ्नो पेशागत धर्म र जिम्मेवारीलाई केन्द्रमा राखेर त्यसलाई सम्पूर्ण रुपमा अपनत्व ग्रहण गरी स्वास्थ्य संस्थाहरुलाई केवल व्यवसायिक स्वार्थपूर्तीको क्रीडास्थल र जागीर खाने थलो जस्तो मात्र बनाईनु हुँदैन। स्वास्थ्य संस्था कारखाना जस्तो नभएर स्वच्छ अनि शान्त मन्दिर जस्तो होस्, जहाँ पुग्ने वित्तिकै विरामीलाई छुट्टै उर्जा प्राप्त होस्, प्रशन्नचित्तले डेरा जमाओस्।
नेपालको परिप्रेक्ष्यमा धेरै जसो जनसंख्या आर्थिक रूपमा विपन्न तथा अतिनै दयनीय अवस्थामा रहेका छन्। उनिहरुको स्वास्थ्य शिक्षा तथा चेतनाको स्तर अत्यन्तै कमजोर अवस्थामा रहेको छ। उपचार खर्चको अभावले वर्षौदेखि रोग लुकाएर या पालेर बसेका हुन्छन। समस्याहरुले ग्रसीत बनाएपछि बल्लतल्ल आपनो जायजेथा, वर्षभरी खान संचीत गरिएको अन्नबाली, पशुचौपाया, लालपूर्जा, गरगहना बेचेर या धरौटीमा राखेर चर्को मिटर व्याजमा ऋण लिएर दुरदराज बाट आएका हुन्छन्। अस्पताल आएपछि पनि विरामीले सहजै सर्वसुलभरूपमा उपचार गर्न पाउदैनन्। अस्तव्यस्त संरचना, अत्याधिक भिडभाड, कमजोर व्यवस्थापन, स्वास्थ्यकर्मी सहजै उपलब्ध नहुने तितो यथार्थ, पहुँचको भरमा मात्र स्वास्थ्य सेवा पाउने कारुणिक अवस्था त छँदैछ अझ अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको अभद्र व्यवहार तथा दादागीरी, विरामीलाई तल्लो दर्जाको नागरीक सो सरहको व्यवहार प्रर्दशन आदि कारणले विरामीले खुलेर राम्रो सँग आफ्नो समस्या राख्न सक्ने वातावरणनै रहदैन। फलस्वरूप विरामी लाई उचित तथा पर्याप्त स्वास्थ्य सल्लाह, परामर्श तथा उपचारको अभाव खड्कीने गर्दछ। अस्पतालमा सुस्त तथा अनावश्यक झन्झटीलो परीक्षण विधी, विग्रेका उपकरण, रिपोर्ट लिन हप्तौ कुनुपर्ने बाध्यता व्याप्त रहेको छ। डाक्टरहरुको निजी क्लिनिक प्रतिको मोह तथा सरकारी संस्थामा हाजीर मात्र गर्न आउने परिपाटीले पेशा प्रतिको जिम्मेवारी तथा मर्यादामा गम्भीर विचलन देखापरेको छ। अस्पतालमा अधिक चाप र स्वास्थ्यकर्मीको हेलचेक्राई तथा डाक्टरीयपनको अहमभावले अस्पष्ट प्रेस्क्रिप्सनको कारण गलत औषधी पर्ने सम्भावना पनि उतिकै रहेको छ।
स्वास्थ्यकर्मीले जस्तोसुकै परिस्थिति सिर्जना भएता पनि आफ्नो पेसागत धर्म र कर्तव्य छाड्नु हुँदैन। दक्षताले भ्याएसम्म भगीरथ प्रयत्न जारी राख्नुपर्दछ। विरामी तथा उनका आफन्तलाई उच्च नैतिक चरित्र, आचरण तथा कौशलता प्रर्दशन गर्नुपर्दछ। हरदम शेवा भावनाले ओतप्रोत भएर अहोरात्र जिम्मेवारीमा तल्लिन हुनुपर्दछ। स्वास्थ्यकर्मीले अस्पतालमा बिरामीको उपचार गर्ने मात्र नभई मृत्युलाई पनि सहज र स्वभाविक बनाईदिनु पर्दछ। तब मात्र सफल, सर्वमान्य र अतिपुजनीय बन्न सकिन्छ।
नेपालमा स्वास्थ्य जनशक्तिको कुनै अभाव छैन। समुचित स्वास्थ्य निती नियम तथा उचित व्यवस्थापनको अभावले मात्र संधै कृतिम अभाव जस्तो देखिएको हो।रिक्त स्थानमा समयमै पदपूर्ति नहुनु, ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीहरू सेवा गर्न अनिच्छुक हुनु, शहरी क्षेत्रमा दरबन्दी भन्दा बढी आवद्ध हुनु, शक्तिको पहुँचमा हाजीर मात्र गरेर तलब भत्ता तथा सरकारी सुविधाको उपयोग गरी सम्पूर्ण समय निजि क्लिनिकमा बिताउनु, स्थानीय तह, प्रदेश र केन्द्र बिच आपसी समन्वयको अभावमा एकातिर संधै अभाव देखिन्छ भने अर्को तर्फ भएका जनशक्ति पनि देशमा रोजगारीको सम्भावना र समुचित अवसर नपाएर विदेशीनु पर्ने वाध्यात्मक अवस्था विकराल रूपमा रहँदै आएको छ। पछिल्लो समय स्वास्थ्य संस्था मुठी भरका माफियाहरुको कब्जामा रहेको छ। निजी स्वास्थ्य संस्थाले एम्बुलेन्स चालक देखी औषधि पसल सम्म लाई कमीसन खुवाई दलाली खटाएर विरामी ल्याउने अस्वस्थ प्रतिस्पर्धा तथा होडबाजीले प्रत्यक्ष रुपमा विरामीलाई आतंकित गरी ब्रह्मलुट मचाई राखेका छन्।
सरोकारवाला निकाय नै कानुन र नितिथिति कुल्चेर माफियाहरुको आर्थिक प्रभावमा परी उनीहरुको प्रक्षपोषणमा लागेको कतै लुकाएर लुक्न सक्दैन। अहिले सबै भन्दा आकर्षक मन्त्रालय वा विभाग कुन हो भनेर सोध्यो भने सबैले उच्चारण गर्ने एउटै नाम छ, स्वास्थ्य। कोरोनाको पहिलो लहरपछि सबैको रोजाइको केन्द्रविन्दुमा परेको छ स्वास्थ्य मन्त्रालय र यसका विभागहरू। केन्द्र, प्रदेशमा स्वास्थ्य मन्त्री, राज्यमन्त्री, सचिव र स्वास्थ्य क्षेत्रका विभागको नियुक्ति पाउन या नेतृत्व हत्याउन सबै लालायित देखिने गरेका छन्। यसरी स्वास्थ्य क्षेत्रको नेत्तृत्व तहमा सबैको नजर पर्नु यस क्षेत्रको श्रीवृद्धि, विकास, विस्तार, गुरुयोजना, पहुँच विस्तार भने होइन। निश्चयात्मक रुपमा ठुलो बजेट भएको यस क्षेत्रमा वर्षेनी अरबौको स्वास्थ्य सामाग्री, उपकरण खरीद तथा स्वास्थ्य संस्थाका संरचना निर्माणको ठेक्कामा व्यापक कमिसनको खेल खेल्ने अनाधिकार प्रपञ्च मात्र हो।
अत्याधुनिक स्वास्थ्य उपकरणहरु खरीद गरिनु पक्कै पनि अपशकुनी कार्य कदापी होइन, तथापी त्यसको सञ्चालनको लागि आवश्यक पर्ने स्थान,जनशक्तिको उचित व्यवस्थापन नै नगरी ठूलो कमिशन हात पार्ने निस्कृष्ट अभिप्रायले कुनै ठोस अध्ययन नै नगरी खरीद गर्ने र थन्क्याउने विकृत मनोवृति मौलाएको छ। सिटी स्क्यान, एम आरआई, एक्सरे, अक्सिजन प्लान्ट जस्ता महंगा उपकरणहरु हचुवाको भरमा खरीद गर्ने र कवाडी बनाएर थन्क्याउनु पर्ने विडम्बना विराट रुपमा देखा परेको छ भने अर्को तर्फ निमुखा जनता सामान्य सिटामोल र जीवनजल समेत नपाएर अकालमै मृत्युवरण गर्नुपरेको दारुणीक दृश्य घाम जस्तै छर्लङ्ग छ। एवंरीतले आ- आफ्नो क्षेत्र बाट इमान्दारी पूर्वक सम्भव भए सम्म आफनो जिम्मेवारी तथा कर्तव्यमा चट्टान झै अडीग रही जनताको स्वास्थ्यमा खेलवाड गर्ने जुनसुकै प्रकारका कुकृति र दुष्साहस्लाई जनताले अब सदाका लागि अन्त्य गर्नु जरुरी देखीन्छ।