मुखलाई शरीरको मुख्यद्वार मानिन्छ। शारीरिक स्वास्थ्यमा मुखको ठूलो भूमिका रहेको हुन्छ। अन्य रोग भएका व्यक्तिमा दन्त समस्या अरु मानिस भन्दा धेरै देखिन्छ। त्यसरी नै मुखका समस्याका कारणले शारीरिक रोग देखिन्छन्। यस्को दुईतर्फि सम्बन्ध हुन्छ। जसलाई हामी 'पेरियोडोन्टल मेडिसिन' भन्दछौं। सन् १९२०- १९४० को दशकमा फोकल संक्रमणको सिद्धान्तले संक्रमण रहेको भाग नै शरीरमा रोग फैलाउन र त्यसलाई बिकराल रुप दिनमा मद्दत गर्छ र उक्त भाग निकालेमा रोग आफैं हराएर जान्छ भन्ने दाबी गर्योो। यही सिद्धान्त अनुरुप हाडजोर्नी दुखाइको उपचारका लागि थुप्रै दाँतहरु उखेलिए। तर रोग फैलनुमा दाँतको मात्र एकल भूमिका नहुने पुष्टि भयो।
मुख स्वास्थ्य एक सिङ्गो आधारभूत कारण बन्यो। मुख स्वास्थ्यमा दाँत, गिजा, तालु, टन्सिल, ओठ, जिब्रो, मुखको भुइँ, गालाको भित्री भाग सबै पर्दछन् र कुनै एकमा समस्या देखिएमा यस्ले शरीरको अरु भागमा समेत असर गदर्छ।
मुख स्वास्थ्य र मुटु रोग:
मुखको कुनै भागमा संक्रमण भएमा रगतको संरचनामा भिन्नता आउछ। रगत बाक्लो हुँदै जान्छ। रक्तबाहिनीमा टाँसिन्छ र जम्छ। निरन्तर रुपमा यो प्रक्रिया दोहोरिए यसले हृदयघात निम्त्याउँछ।
मुख स्वास्थ्य र मस्तिष्क संचार:
मुख स्वास्थ्य र मस्तिष्कघात पनि एक आपसमा सम्बन्धित छन्। दिमागको रक्तबाहिनीमा रगत जमे यसले मस्तिष्कघात निम्त्याउँछ र यो प्रक्रिया पनि मुखको संक्रमणका कारण हुन्छ।
मुख स्वास्थ्य र चिनी रोग (सुगर):
गिजा वा मुखको समस्या भएमा रगतमा विभिन्न संक्रमणविरुद्ध लड्ने कोष (सेल) जम्मा हुन्छ। उक्त कोषले चिनीको मात्रा मांसपेशी र अन्य अंगमा जान नदिई, रगतमा बढाएर राख्छ। यस्ले गर्दा चिनी रोगसम्बन्धी अन्य जटिलता आउन सक्छ।
मुख स्वास्थ्य र गर्भावस्था:
गर्भावस्थामा मुख स्वास्थ्यमा समस्या हुँदा शिशुको तौल नपुग्ने, पुर्व अवधि मै जन्म हुने र गर्भपतनसमेत हुने समस्या देखिन सक्छ।
मुख स्वास्थ्य र श्वासप्रश्वास :
मुख स्वास्थ्य बिग्रिएमा श्वासप्रश्वासमा समेत समस्या आउँछ। मुखमा रहेका किटाणु फोक्सोमा पुग्दा निमोनिया, फोक्सोमा पानी/ पिप जम्ने हुन सक्छ।
यसरी सानो र सिमित भएता पनि मानिस स्वस्थ हुनुमा मुख स्वास्थ्यले ठूलो भूमिका खेलेको हुन्छ। अप्रत्यक्ष रुपमा रगतको माध्यमबाट फरक पारेको हुन्छ भने प्रत्यक्ष रुपमा मुखबाट खाइने खानपिन र बोलिने बोलिले पनि शारीरिक र मानसिक स्वास्थ्यमा ठूलो भूमिका खेलेको हुन्छ।
(शर्मा दन्त चिकित्सक हुन्।)