ढाड वा कम्मर दुख्नु आजकाल आम मानिसको समस्या हो। आफ्नो जीवनकालमा ढाडको दुखाइ महसुस नगर्ने मानिस विरलै छन्। हरेक व्यक्तिले आफ्नो जीवनमा दुईदेखि तीन पटकसम्म ढाडको अत्यधिक दुखाइको महसुस गरिरहेको हुन्छ भने सामान्य दुखाइ उमेर बढेसँगै धेरैले अनुभूति गरिरहेका हुन्छन्।
ढाडको दुखाइ भनेको मेरुदण्डको हड्डी, नसा च्यापिँदा, त्यहाँको कुरकुरे हड्डी यानिकी डिस्क वा सम्बन्धित मांसपेसीको दुखाइ नै हो। यस्तो दुखाइ छोटो समयको लागि वा लामो समयको लागि पनि हुन सक्छ। मेरुदण्डको लामो दुखाइले मानिसको दैनिकीमा प्रभाव पार्ने भएकोले यसले अप्रत्यक्ष रुपमा सामाजिक एवं आर्थिक रुपमा नै प्रभाव पारिरहेको हुन्छ।
वर्गीकरण
ढाड कम्मर दुखाइलाई मुख्य रूपमा चार प्रमुख वर्गमा विभाजन गरिएको छ-
मेकानिकल: मेरुदण्ड, स्नायु दबाब, इन्टरभेर्टेब्रल डिस्क र मांसपेसीका भागहरूको कारणले,
इन्फ्लेमेटरी: मुख्य रूपमा इन्फ्लेमेटरी स्पोंडिलोआर्थोपाथीहरूको कारणले हुन्छ,
मेरुदण्डमा क्यान्सर: मेटास्टेसिस कारणले,
संक्रमण: मेरुदण्ड, डिस्क, एपिडुरल र मांसपेसीका कारणले,
ढाड-कम्मर दुखाइका जोखिम कारक
उमेर: उमेर बढ्दै जाँदा ढाड दुख्ने समस्या बढी हुन्छ।
व्यायामको अभाव: पछाडि भाग कमजोर, अप्रयुक्त मांसपेसीहरूले ढाड दुख्न सक्छ।
अधिक वजन: अधिक शरीरको वजनले पछाडि भागमा अतिरिक्त तनाव दिन्छ।
रोगहरू: केही प्रकारका बाथरोग र क्यान्सरका कारण ढाड दुख्न सक्छ।
पेसागत: लामो समयसम्म उभिने, अवस्थ भएका स्वास्थ्यकर्मी, शिक्षक, ट्राफिक प्रहरी र लामो समयसम्म बसिरहनुपर्ने स्थिति भएका ड्राइभर, बैंकर, कम्प्युटर अपरेटर र निर्माण श्रमिकहरूलाई ढाड-कम्मर दुख्ने सम्भावना बढी हुन्छ।
मनोवैज्ञानिक अवस्था: जो मानिस डिप्रेसन र चिन्ताले ग्रस्त छन्, उनीहरूलाई ढाड दुख्ने जोखिम बढी हुन्छ।
धूमपान: धूमपानले तल्लो मेरुदण्डमा रगत प्रवाह कम गर्छ, जसले डिस्कमा पर्याप्त पोषण दिन शरीरलाई बन्चित गर्छ।
ढाड-कम्मर दुखाइका मुख्य कारण
डिस्कोजेनिक दुखाइ
डिस्कोजेनिक पीडा डिस्कबाट उत्पन्न हुने दुखाइको रूपमा परिभाषित छ। यो दुखाइ खुट्टातिर विस्तार हुँदैन। पीडा बस्दा, निहुरिँदा, खोकी, जस्ता क्रियाकलापसँग वृद्धि हुन्छ।
फ्यासेट जोर्नी दुखाइ
फ्यासेट जोर्नी दुखाइ मेरुदण्डको हड्डीबीचको जोर्नीहरूमा डिजेनेरेटिव परिवर्तनहरूले गर्दा हुन्छ। फ्यासेट जोर्नी भित्रको कार्टिलेज बिग्रन्छ, फुलेको हुन सक्छ र नजिकको स्नायुमा दबाबले दुखाइ दर्शाउँछ। दुखाइ कम्मर, हिप र माथिल्लो फिलामा हुन्छ।
स्लिप डिस्क सियाइटिका
जब स्लिप डिस्कले स्नायुहरूलाई संकुचित गर्छ, बिरामीहरूले खुट्टातिर गम्भीर विकिरणको दुखाइ अनुभव गर्छन्ऽ जसलाई तिखो, सुस्त, छेड्ने, जलाउने भनेर वर्णन गरिन्छ।
लम्बर स्पाइनल स्टेनोसिस
पछाडि र खुट्टाहरूमा दुखाइको ढाँचा सामान्यतया भारीपन वा गहिरो दुखाइको रूपमा वर्णन गरिएको छ। उभिइरहेको बेला वा हिंड्दा बढी र बसिरहेको बेला वा ढल्कदा सहज हुन्छ।
असफल ब्याक सर्जरी सिन्ड्रोम
असफल ब्याक सर्जरी सिन्ड्रोम लम्बोसक्रल सर्जरीपछि हुने विकारहरूको एक विषम समूह हो, जसले साझा लक्षण दुखाइको रूपमा प्रस्तुत गर्छ।
सेक्रोइलाइटिस
सेक्रोइलाइटिस एक वा दुवै स्राक्रोइलाइक जोर्नीको सुजन हो, जुन तल्लो मेरुदण्ड पेल्विससँगको जडानमा अवस्थित छ।
सेक्रोइलाइटिसको कारण नितम्ब वा तल्लो ढाड दुखाइ हुन सक्छ र एक वा दुवै खुट्टामा विस्तार गर्न सक्छ।
कसरी गर्ने त उपचार?
ढाड-कम्मर दुखाइ कम गर्न दैनिक जीवनशैलीमा परिवर्तन ल्याउने, वजन कम गर्नेदेखि व्यायाम गर्नुपर्ने र औषधिको पनि सेवन गर्नुपर्ने हुन सक्छ। लामो समयसम्म यी विधि प्रभावकारी नभएमा शल्यक्रिया समेत गर्नुपर्ने हुन सक्छ।
आधुनिक उपचार पद्धतिमा प्लेटलेट रिच प्लाजमालाई डिस्कहरुको बीचको भागमा सुईको माध्यमा राखेर उचार गर्न सकिन्छ। तोकिएको रेडियोफ्रिक्वेन्सीमार्फत पनि यसको उचार गर्न सकिन्छ भने सम्बन्धित नसाहरुलाई सुईको माध्ययमबाट शिथिल बनाई दुखाइ कम गर्न सकिन्छ वा सम्बन्धित क्षेत्र लठ्याउने इपिड्युरल इन्जेकसन तथा मेरुदण्डको रहेको स्नायु तन्तुको उत्तेजनालाई समेत स्थुल पार्न सकिन्छ।
फ्यासेट जोर्नी दुखाइको लागि जोर्नीमा इन्जेकसन र डिस्क चिप्लिएर नसा च्यापिएको लागि ओजोन थेरापी गर्दै आएका छौं। यी विधिहरू नेपालमा पहिलो पटक लागू गरिएको हो। यी विधिहरू अत्यन्त प्रभावकारी हुन्छन्, कुनै जोखिम छैन, लाभदायक, कम लागत, सरल र सामान्यतया केही घण्टाभित्र डे केयर आधारमा गरिन्छ।