कुनै कारणले शरीरमा हुने प्रतिअसरलाई एलर्जी भनिन्छ। शरीरको बाहिरी वा भित्री भागको प्रतिअसरले एलर्जी हुन्छ। हामीले प्रयोग गरिरहेका वस्तुबाट नै प्रायः एलर्जी हुन्छ। यसलाई ‘एलर्जिक कन्ट्याक्ट डर्माटाइटिस’ भनिन्छ। जस्तै, हामीले लगाएको लुगा वा कुनै धातुले पनि एलर्जी हुन सक्छ।
टप, फुली, औँठी, घडी, बेल्ट आदिका कारण एलर्जी हुन्छ। धातुले शरीरको जुन भागलाई छोएको हुन्छ त्यस भागमा एलर्जी आउने हुन्छ। कहिलेकाहीँ सामान प्रयोग गरेको एक महिना वा कहिलेकाहीँ लामो समयपछि पनि एलर्जी हुन सक्छ। एटोपिक डर्माटाइटिसका कारण शरीरको भित्री भागमा एलर्जी हुन्छ र यसले बाहिरी भागमा असर देखाउँछ। यो विशेष गरी बच्चाहरूमा देखिन्छ।
कसैकसैलाई कस्मेटिक, हेयर ड्राई, तुथपेस्टको पनि एलर्जी हुन सक्छ। प्रयोग गरिने सामानबाट जुनसुकै समयमा पनि एलर्जी आउँछ भन्ने बुझ्नु जरुरी छ। कसैकसैलाई औषधिका कारण पनि एलर्जी हुने सम्भावना हुन्छ। जस्तै, पहिलो पटक औषधि सेवन गर्यो भने एकदेखि डेढ महिनामा एलर्नी देखिन सक्छ।
पटक–पटक त्यही औषधि सेवन गर्दा २४ देखि ४८ घन्टामा एलर्जी देखिन सक्छ। खाने औषधि मात्र होइन, शरीरमा लगाउने औषधिका कारण पनि एलर्जी हुन्छ। यसमा शरीरभरि रातो डाबर आउने, चिलाउने, पानीको फोकाहरू आउने हुन्छ। साथै शरीरको छाला निस्केर पनि जान सक्छ र एलर्जीकै कारण कहिलेकाहीँ मृत्यु समेत हुन सक्छ।
एलर्जी विभिन्न प्रकारका हुन्छन्। छालामा प्रयोग गरिने कस्मेटिक तथा औषधिका कारण हुने एलर्जी दुई प्रकारका छन्। जसमा कन्ट्याक्ट डर्माटाइटिस र इरिटेन्ट कन्ट्याक्ट डर्माटाइटिस मुख्य हुन्। इरिटेन्ट कन्ट्याक्ट डर्माटाइटिस केमिकलका कारण हुन्छ। यसमा जुन भागमा केमिकल पर्छ त्यस भागमा दाना आउने, पोल्नेजस्ता एलर्जीका लक्षण देखा पछर्न्।
त्यसैगरी, एक्युट, सबएक्युट र दीर्घकालीन एलर्जी पनि हुन्छन्। एक्युट एलर्जी पाँचदेखि सात दिनसम्म देखा पर्छ। सबएक्युट एलर्जी चारदेखि ६ हप्तासम्म देखा पर्छ भने दीर्घकालीन एलर्जी एक वर्षभन्दा धेरै समयसम्म देखिने हुन्छन्।
एक्युट एलर्जीमा पानीका फोकाहरू जस्तो देखा पर्न सक्छ भने दीर्घकालीन एलर्जीमा छाला जाने या बढी चिलाउने हुन्छ। दीर्घकालीन एलर्जी दुःख दिनेखालको हुन्छ। यसका कारण लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ।
एलर्जी पत्ता लगाउन ल्याब टेस्ट गरिन्छ। उपचारका लागि के कारणले एलर्जी भएको हो भन्ने थाहा पाउन जरुरी हुन्छ। एलर्जीको प्रमुख सामस्या भनेकै के कारणले एलर्जी भएको हो भन्ने पत्ता लगाउनु हो। एलर्जी थाहा भएमा त्यसबाट बच्न वा चिकित्सकसँग सम्पर्क गरी त्यसको उपचार गर्न सकिन्छ। औषधि सेवन वा लगाउने औषधिको प्रयोगबाट एलर्जी पूरै ठिक हुन सक्छ वा त्यसलाई नियन्त्रणमा राख्न सकिन्छ।
- डा. अर्पना बस्नेत, छालारोग विशेषज्ञ