काठमाडौं- हरेक शनिबार झोलामा प्राथमिक उपचारका सामग्री र औषधिहरू बोकेर बलिराज बुढा कोठाबाट निस्किन्छन्। आइतबारदेखि शुक्रबारसम्म काम गर्ने जो कोही पनि शनिबार बिदाको दिन आराम गर्न चाहन्छन्। तर बलिराजको दिनचर्यामा भने उक्त कुरा लागु हुदैंन।
गत जेठ २८ गते यताका शनिबार उनी बिरामी खोज्दै गाउँ गाउँ डुल्छन्। उनी मुगुको मुगुम कार्मारोङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक हुन्। मुगुको चारवटा स्थानीय तहमध्ये मुगुम कार्मारोङ गाउँपालिकामा १६ वटा गाउँ छन्।
एउटा बस्तीबाट अर्को बस्तीमा पुग्न घण्टौँ लाग्छ। बलिराज हालसम्म १४ वटा गाउँ पुगिसके। बिरामी भएपछि धामी, झाँक्री, लामा, गुरु र जडीबुटीको भरमा बस्ने मानिसहरूको बिचमा गएर उनले स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन्। १६ वटै गाउँमा पुगेर बिरामी खोज्दै उपचार गर्ने उनको उद्देश्य छ।
उक्त क्षेत्रका मानिसहरूलाई सरसफाइ र खानासम्बन्धी ज्ञान नहुँदा विभिन्न रोगले सताईरहेको उनको भनाइ छ। 'यो क्षेत्रमा लगभग ९० प्रतिशत जनजाति र १० प्रतिशत दलित समुदायका मानिसहरू बस्छन्। यहाँका मानिसहरू सरसफाइमा ध्यान दिँदैनन्।
सडेको खानेकुरा खाने, काँचो मासु खाने, जाँडरक्सीको अनियन्त्रित प्रयोग गर्ने, नियमित स्वास्थ्य परीक्षण नगर्नाले मानिसहरू बिरामी परिरहेका हुन्छन्,' उनी थप्छन्, 'बिरामी भएपछि धामी झाँक्री, लामा भन्दै बस्ने चलन छ। बिरामीको अन्तिम अवस्था भएपछि मात्रै स्वास्थ्य चौकी आई पुग्छन्। त्यसपछि जिल्ला अस्पताल लैजाँदा लैजादैं बाटोमै बिरामीको मृत्यु हुन्छ।'
स्वास्थ्य शिविर सञ्चालन गर्दै हिँड्दा आफूखुसी जँचाउन आउने बिरामीहरू निकै कम हुन्छन्। गाउँका अलिक पढेका, बुझेका, लामा र स्थानीय तहमा राजनीति गर्नेहरूलाई उनी आफैँले भेटेर आफूले गरेको कामको बारेमा बुझाउँदै हिँड्छन्। उनले उपचार गरेबापत बिरामी, स्थानीय तह या अन्य कतैबाट पनि कुनै शुल्क लिने गरेका छैनन्। 'गाउँमा बुझेका केही मानिसहरूलाई भेटेर मैले आफूले गरेको उपचार बापत केही नलिने भनेको छु। यो मेरो मनमा सेवा भाव आएर गरिरहेको काम हो,' उनले भने।
स्वास्थ्य शिविरमा प्राय: चोटपटक लागेर घाइते बिरामीहरू भेटिने उनी बताउँछन्। उनी भन्छन्,'चोट लागेपछि घरमै गर्न सकिने चीजहरू गरेर, कपडा बाँधेर बस्छन्। घाउ फैलिएर सङ्क्रमण बढिसकेको अवस्थामा समेत स्वास्थ्य चौकी आउने मेसो पाउँदैनन्। त्यस्तै, छालासम्बन्धी, जुकाका बिरामी, कान पाकेका बच्चाहरू र उच्च रक्तचापका बिरामीहरू बढी भेटिने गरेका छन्।'
उनी भेटिएका बिरामीको आफूले सक्ने उपचार गरेर गम्भीर अवस्था भएकाहरूलाई जिल्ला अस्पताल रेफर गर्दिन्छन्। उनी हरेक गाउँमा साबुन पानीले हात धुन, दाँत माझ्न लगायतका सरसफाइका आधारभूत कुराहरू समेत सिकाएर हिँड्छन्। त्यस्तै आफूसँग उपलब्ध भएका पत्रिका, म्यागेजिनमा प्रकाशित सामग्रीहरू देखाएर बालबालिकाहरूलाई पनि सचेत बनाउने कोसिसमा छन्।
मुगुकै साबिकको माग्री गाविसको चिमाथ गाउँमा जन्मिएका बलिको बाल्यकाल फुपूको घरमा बित्यो। उनी जन्मिन भन्दा ६ महिना अघि नै बुवाको मृत्यु भइसकेको थियो। फुपूको घरमा प्युठान जिल्लाको मान बहादुर थापा नामका शिक्षक बस्ने गरेका थिए। उनै शिक्षकलाई देख्दा बलिलाई घर भन्दा यति टाढा किन आएका होलान् भन्ने लाग्थ्यो। उमेर बढ्दै जाँदा उनले त्यी शिक्षक सबैलाई पढाउन र समुदायको सेवा गर्न आएका होलान् भन्ने सोच्न थाले। त्यस्तै कहिलेकाहीँ नजिकैको स्वास्थ्य चौकी पुग्दा उनले आफू पनि पढ्यो भने सेवा गर्न पाउँछु होला भन्ने सोच्थे।
फुपूको घरमा बस्ने शिक्षक र फुपूको सहयोगमा उनले प्रावि हुँदै माध्यमिक तहको पढाई सकाए। त्यस लगत्तै उनले कर्णाली प्राविधिक शिक्षालय जुम्लाबाट सी एम ए कोर्स पढे। उक्त समय पढ्दै गर्दा आफ्नो फुपूको झाडापखालाको कारणले थलिएर उपचार नपाई मृत्यु भएको खबर उनले १८ दिन पछि मात्रै थाहा पाए। उक्त कुराले उनलाई त्यस्ता मृत्युको जोखिममा रहेका धेरै व्यक्तिको सेवामा खटिन पाठ सिकायो।
सिएमए कोर्स उत्तीर्ण गरिसकेपछि उनी २०६२ सालबाट अहेब पदको सरकारी जागिरमा प्रवेश गरेको थिए। विगत १७ वर्ष देखि उनी हालसम्म सरकारी स्वास्थ्य सेवाको जागिर खटिइरहेका छन्। स्वास्थ्य सेवाले जीवनमा धेरै पाठ सिकाएको र धरै समुदाय सँग साइनो गाँसिएकोमा उनी निकै खुसी छन्। ०६२ सालमा अहेब पदमा नियुक्ति लिएर सरकारी सेवामा प्रवेश गरेका उनी २०६९ सालमा लोकसेवाबाट हेल्थ असिस्टेन्टमा र त्यसपछि २०७५ सालमा छैठौं तहको जनस्वास्थ्य निरिक्षकको पदमा स्तरवृद्धि भएका हुन्।
उनको पहिलो नियुक्ति कालिकोट जिल्लाको खिन उपस्वास्थ्य चौकीमा भएको थियो। जनयुद्धको समयमा कुनै पनि कर्मचारी स्वास्थ्य संस्थामा र समुदायमा बस्न डराउने परिस्थितिमा २ वर्षसम्म उनले उक्त संस्थाबाट सेवा दिएका थिए। उनी भन्छन्,'त्यो समय भवन नभएको स्वास्थ्य संस्थाको लागि डिप्रोक्स नेपाल संस्थाको सहयोगमा भवन निर्माणमा सहयोग गरेको थिएँ। सम्झेरै खुसी लाग्छ।'
त्यसपछि उनले २०६४ सालबाट मुगुको मुगु स्वास्थ्य चौकीमा २ वर्ष सेवा दिए। उक्त समयमा हिमालमा यार्सा टिप्न जाने महिला तथा बालबालिकाहरूका लागि स्वास्थ्य सेवा प्रदान र औषधि वितरण जान्थे। एक दिन त्यसैसरि जाँदा जुम्ला र जाजरकोटका यार्सा टिप्दा लडेर घाइते भएका र लेक लागेका व्यक्तिको उपचार गरेर सकुशल बचाउन सफल भएको क्षणहरू उनको सम्झनामा ताजै छ।
उनी भन्छन्,'२०६७ सालबाट मांग्री स्वास्थ्य चौकीमा ६ वर्ष काम गरेँ। त्यो समय उक्त क्षेत्रमा संस्थागत सुत्केरी र गर्भवती जाँच शून्य थियो। जनप्रतिनिधि, सहकर्मी, स्थानीय लगायतको सहयोगमा उक्त शून्य सङ्ख्या एक वर्षमै वृद्धि गर्ने काम गरिएको थियो। संस्थागत सुत्केरी सुरु गरेर प्रत्येक वर्ष २० देखि २५ सम्म संस्थागत सुत्केरी गराइयो।' उक्त क्षेत्रका महिला र बालबालिका लगायतका स्थानीयले उनलाई आजका दिनसम्म पनि निकै माया गर्ने उनी बताउँछन्।
२०७३/७४ सालमा उनले जिल्ला अस्पताल मुगुमै जिल्ला भरिकै तथ्याङ्कहरू प्रविष्ट गर्ने जिम्मेवारी पाएका थिए। उनले बिरामी हेर्दै अन्य स्वास्थ्य सेवा प्रदान गर्दै वैशाख महिना देखि श्रावण महिना सम्म वर्ष भरीका स्वास्थ्य सेवाका सबै प्रतिवेदन प्रविष्ट गरेका थिए। नतिजा स्वरूप शत प्रतिशत प्रतिवेदन प्रविष्ट भएबापत नेपाल भरी मुगु जिल्ला क्रमसङ्ख्यामा ६० भन्दा पछाडि रहेकोमा २५औ स्थानमा पर्न सफल भएको थियो।
कोरोना काल
२०७६ बाट उनी हालसम्म मुगुमकार्मारोङ गाउँपालिकामा कार्यरत छन्। कोरोना नेपालमा फैलिँदै गर्दा पालिकामा विभिन्न कोभिड रोकथामका कार्यमा सहभागी भएका उनी आफैँ पनि कोरोनालाई जितेर फेरि सेवा प्रवाहमा फर्किएका थिए। '१४ दिन सम्म बिरामी अवस्थामा पनि पालिकाको सबै स्वास्थ्य संस्था , समुदायमा कोभिड सँग सम्बन्धित तथा अरू स्वास्थ्य सेवाका लागि जनशक्ति परिचालन गरिनै रहेको थिएँ। शारीरिक रूपमा सन्चो नहुँदै म समुदायमै सबैको नेतृत्व गर्दै खटे। बस्तीहरूमा स्वास्थ्य कर्मीहरूको टिम बनाएर हिडें।' उनी सम्झिन्छन्, 'कुनै समुदायमा चेकजाँचका वेला खाना समेत खाने घर हुन्थ्यो। यसरी पुरै समुदायमा महामारी थियो हामी सुख्खा चाउचाउ खाएर २/३ दिन पछि फर्किन्थ्यौ। दिनमा १० देखि २० जना नयाँ बिरामी थपिदा त्यसको रिपोर्टिङ , उपचार, स्थानीय बासीलाई परामर्श , गर्ने कार्य जारी गरेका थियौँ।'
यसरी हरेक रोग, महामारीको पहरेदार भएर काम गर्न पाउँदा र सबैको सहयोग पाउँदा उनलाई १७ वर्षको जागिर अवधि पनि छोटो जस्तो लाग्छ। उनी मुगुमकार्मारोङ गाउँपालिकाको स्वास्थ्य अवस्था सुधार गर्नमा निरन्तर काम गरिरहने बताउँछन्। उनी भन्छन्, 'हरेक सकारात्मक सोच भित्र नै सकारात्मक परिणामहरू प्रशस्त रहेका हुन्छन्। यो गाउँपालिकाको स्वास्थ्य सेवा प्रवाह सुधार गर्न यहाँका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविका , जनप्रतिनिधिहरू मेरो सहयात्री हुनुहुन्छ। सबैको सहयोगले स्वास्थ्य प्रवाह प्रभाकारी हुदैंछ।'
स्वास्थ्य बीमा प्रभावकारी भए हुन्थ्यो
देशका सबै नागरिकको लागि स्वास्थ्य बीमा कार्यक्रम अनिवार्य गरिनुपर्ने उनको भनाई छ। स्वास्थ्य बीमा गर्न नसक्नेहरूलाई आर्थिक सहयोग गर्नुपर्ने उनी बताउँछन्। 'मुगुबाट कुनै रोग लागेर बिरामी काठमाडौँ जानुपर्यो भने उपचार खर्च भन्दा दोब्बर ऋण बोकेर घर फर्किन्छन्। बीमाले बिरामीलाई आर्थिक भार कम गराउन मदत गर्थ्यो। सरकारले बिरामीलाई बिमा गर्नको लागि जागरूक बनाउन जरुरी छ,' उनी भन्छन्।
सूचना सञ्चारको अभावले पनि मुगुजस्तो दुर्गम क्षेत्रमा मानिसहरूलाई स्वास्थ्य जाँच सम्बन्धी ज्ञान नभएको उनले बताए। उनी भन्छन्, 'यहाँ सामुदायिक रेडियो, एफएम केही छैन। इन्टरनेटको पहुँच पनि छैन। त्यसैमाथि स्वास्थ्य सेवाको सूचनाका अडियो, भिडियो नेपाली या अङ्ग्रेजी भाषामा मात्रै बन्छन्। स्थानीय भाषामा त्यस्ता विषयवस्तु बने सबैलाई बुझ्न सहज हुने थियो।'