- के हो त बाङ्गोटिङ्गो दाँत हुनुका कारण?
• पहिलो कारण हो, वंशाणुगत। मतलब एउटा पुस्ताबाट अर्को पुस्तामा सोही समस्या देखापर्नु। यदि आमा-बुवाको दाँत बाङ्गोटिङ्गो छ भने त्यही समस्या बच्चामा पनि सर्ने सम्भवना हुन्छ।
• दोस्रो कारण हो, गर्भावस्थामा खानपानमा ध्यान नदिनु। यदि गर्भवती महिलाको खानपानमा महत्वपूर्ण पौष्टिक तत्व तथा भिटामिनहरु पर्याप्त मात्रामा उपलब्ध छैन भने बच्चाको बढ्ने क्षमतामा कमी आउन सक्छ र बच्चाको मुखको हड्डीहरुमा पनि असर पर्न गई दाँत बाङ्गोटिङ्गो हुन सक्छ। यसैगरी बच्चा जन्मिने समयमा कुनै औजारहरु प्रयोग गरेको छ भने बच्चाको मुखको हड्डीमा समस्या देखा पर्न सक्छ।
• तेस्रो कारण हो, यदि बच्चाका दूधे दाँतहरुमा किरा लागेर दाँत समयभन्दा पहिला नै निस्कियो भने त्यस दाँतको अगाडि-पछाडिका दाँतहरु खाली ठाउँमा जान सक्छ र आउने दाँतहरु बाङ्गो-टिङ्गो हुन सक्छ।
• चौथो कारण हो, बच्चामा हुने असाधारण बानीहरु। जस्तैः आफ्नो हातको औंला चुस्नु, नङ टोक्नु, ओठ टोक्नु र नाकको सट्टा मुखले सास फेर्नु ।
बाङ्गोटिङ्गो दाँतका कारण हुने समस्या केके हुन्?
• सुरुमा त बाङ्गोटिङ्गो दाँत भएका व्यक्तिहरु खुलेर अरु मानिसको अगाडि हाँस्न र कुराकानी गर्न रुचाउँदैनन्। जसले गर्दा त्यस्ता मानिसमा मानसिक पीडा हुन सक्छ।
• अर्को समस्या भनेको दाँतलाई सफा गर्न गाह्रो हुन्छ र खाएको खानेकुरा अड्किएर दाँतमा किरा लाग्न सक्छ।
• त्यस्तै गिजामा पनि समस्या देखा पर्न सक्छ। जस्तै: गिजा सुन्निनु, गिजाबाट रगत आउनु, गिजा सर्नु र अन्त्यमा दाँत नै हल्लिनु आदि।
• यदि लामो समयसम्म बाङ्गोटिङ्गो दाँत भएमा दाँतको टोकाइ नमिलेर मुखको जोर्नीमा पनि दुखाइ हुन सक्छ।
के हुन सक्छन् त रोकथामका उपाय?
• सबैभन्दा पहिला त आमा-बाबुले आफ्ना बच्चाहरुको मुखको सरसफाइमा ध्यान दिनुपर्छ। जस्तैः दिनमा दुई पटक ब्रस र मन्जनले दाँत र जिब्रो सफा गर्न लगाउने र केही गुलियो कुरा खाएपछि पानीले मुख कुल्ला गर्न लगाउने। यसो गर्नाले बच्चाको दूधे दाँतहरु किरा लाग्नबाट जोगिन्छ र समयभन्दा पहिले नै निस्किँदैन।
यदि समयभन्दा पहिला दूधे दाँत निस्किहाल्यो भने पनि अस्पतालमा गई दन्त चिकित्सकद्वारा त्यस खाली ठाउँमा Space Maintainer राख्न सकिन्छ।
• आफ्नो बच्चाहरुको सानै अवस्थादेखि आमाबाबुले नजिकको अस्पतालमा गई दन्त चिकित्सकसँग दाँत र मुखको नियमित चेकजाँच गराउनु पर्छ।
• यदि आफ्ना बच्चाहरुमा हातका औंलाहरु चुस्ने वा मुखले सास फेर्ने जस्ता असाधारण बानीहरु छन् भने आमाबाबुले नजिकको अस्पतालमा गई दन्त चिकित्सकको सल्लाह बमोजिम चिकित्सकद्वारा निर्मित बच्चाको औंलामा टोपी (Thumb guard) वा मुखमा पट्टी (Oral screen) लगाउनु पर्छ।
• यदि यो सबै रोकथामका उपायहरु अपनाउँदा पनि बच्चाको दाँत बाङ्गोटिङ्गो भइसकेका छन् भने दाँतहरुलाई आफ्नो ठाउँमा ल्याउन र अनुहारको बनावट ठिक पर्नको लागि दन्त अस्पतालमा गई वरिष्ठ चिकित्सकद्वारा दाँतमा तार लगाउन सकिन्छ। यसबाट बच्चामा मात्र नभई किशोर अवस्था नाघेका व्याक्तिहरुको दाँतलाई पनि ठिक ठाउँमा ल्याउन सकिन्छ।
(बीडीएस विद्यार्थी, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवा।)