सुन्दरता तथा आकर्षक व्यक्तित्व प्रकृतिको वरदान हो। तर, शरीरमा अत्याधिक जम्मा हुने बोसोले मानिस स्थूल बनी भद्दा तथा अनाकर्षक देखिन सक्छ। यहीकारण शरीरमा अनेक समस्या पनि सृजना हुनसक्छ। त्यस्तो बोसोबाट पार पाउन मानिस डाइटिङ गर्नेदेखि औषधि र भरपर्दो व्यायामको सहारा लिन पुग्छन्।
जसले जुनसुकै उपाय अपनाएपनि एक्सरसाइज फिजियोलोजीअन्तर्गत डा. विलियम डी. म्याक्अर्डेल, डा. फ्राङक आई, क्याट्च र डा. भिक्टर आई. क्याट्चद्वारा बोसो कोषमाथि व्याख्यान गरिएको ‘लि एण्ड फेबीगर’ तेस्रो संस्करण, १९९१ मा भनिएको छ, ‘शारीरिक तौल नियन्त्रण गर्ने मुख्य भूमिका बोसो कोषको विकासमा निर्भर गर्छ’।
सो पुस्तकमा भनिएको छ, ‘यदि कोही बाल्यावस्थामा बढी स्थूल छ भने उसको बोसो कोषको संख्या निकै बढी हुन्छ। कहिलेकाहीँ किशोरावस्थाअगावै बोसो कोषको संख्या बढ्ने क्रम बन्द हुने गर्छ। त्यसपछि बोसो कोषको आकार ठूलो बन्नु वा सानो भएको आधारमा मानिस मोटाउने र दुब्लाउने हुन्छ।’ एक वयस्क व्यक्तिमा १०० ट्रिलियन जीवकोष हुन्छ।
एक्सरसाइज फिजियोलोजीअनुसार एक साधारण व्यक्तिको शरीरमा २५–३० अर्बको संख्यामा बोसोे कोष हुने गर्छ। जबकि स्थुल व्यक्तिमा २६० खर्ब बोसो कोष हुन्छ। कुनै वयस्क व्यक्तिको तौल घट्नु उसको बोसो कोषको संख्या कम हुनु नभई बोसोे कोषको आकार सानो हुनु हो। त्यसकारण एक स्थूल व्यक्तिले आफ्नो तौल घटाउन साधारण व्यक्तिको बोसो कोषको आकारभन्दा आफ्नो बोसो कोषको आकार निकै सानो हुने गरी खुम्च्याउनु पर्ने हुन्छ। आफ्नो तौल १५० पाउण्डभन्दा बढी घटाएका केही स्थूल व्यक्तिमाथि गरिएको अध्ययनका क्रममा अनुसन्धानकर्ताहरुले उनीहरुको बोसो कोषको आकार साधारण व्यक्तिको बोसो कोषभन्दा एकतिहाईले खुम्चिएको पाएका थिए।
यसरी खुम्च्याईएको बोसो कोषलाई निरन्तर कायम राख्न गाह्रो हुन्छ। जसका लागि लगातार मिहिनेत जरुरी हुन्छ। बोसो कोषको संख्यामा बढी हुने क्रम तीन अवस्थामा देखा पर्छ। पहिलो अवस्था गर्भधारणको तेस्रो महिनाको अन्ततिर, दोस्रो अवस्था जन्मेको पहिलो र तेस्रो अवस्था ट्यानर म्याचुरेशन रेटिङअनुसार किशोरावस्था हुँदा बढी हुन्छ।
यदि जीवनको प्रारम्भिक अवस्थामा असाधारणभन्दा बढी बोसो कोष विकसित हुने गरेमा उसका लागि मोटाउने सम्भावना बढी हुन्छ। तर यदि किशोरावस्थाको सुरुतिर नै शारीरिक तौल यथेष्ट मात्रामा घट्न थाले उसका लागि राम्रो संकेत हुन्छ। यही नै त्यो अवस्था हो जब बोेसो कोष मनग्य बढी हुने गर्छ। मांशपेशीक तन्तुको वृद्धि र सम्भार गर्नसके बोसो कोषको संख्या र आकार वृद्धि हुने अवसर न्युन रहन्छ। मांसपेशिक तन्तुको वृद्धि र सम्भारका साथै मेटाबोलिज्म स्तर उकासिराख्न व्यायाम महत्वपुर्ण र राम्रो उपाय हो।
एकातिर वेट ट्रेनिङ्ग गर्नाले मांसपेशिक तन्तुको वृद्धि र सम्भार भई बोसो वृद्धि हुने अवसर न्युन हुन्छ भने अर्कोतिर यसले बोसो ज्वलन प्रकृयालाई माथि उकास्ने गर्छ। जहाँ व्यायामको कारण हाइपरट्रोफीयाबाट मांसपेशी स्पष्ट बढ्छ, त्यहाँ बोसो भने स्पष्ट घट्दैन। बोसो शरीरको सम्पूर्ण क्षेत्रबाट समानुपातिक हिसाबमा घट्ने गर्छ। तसर्थ क्रञ्चेज, सिटअप वा लेगराईज गरेर मात्र शरीरको कुनै एक क्षेत्रबाट मात्र बोसो घटाउन जतिसकै प्रयत्न गरिएपनि सम्भव हुँदैंन।
एक्सरसाइज फिजियोलोजिष्टहरूले एक अध्ययनका क्रममा २७ दिनसम्म हरेक दिन मनग्य सिटअप्स गर्ने गरेका व्यक्तिको पेट, पुठ्ठा र पिठयुँ क्षेत्रको बोसो वायोस्पी लिएका थिए। अध्ययनका क्रममा उनीहरुले व्यायाम नगर्नेको भन्दा व्यायाम गर्नेको बोसो कोष सानो भएको पाएका थिए। तसर्थ पेटमा जम्मा भएको बोसो, घटाउन सम्पूर्ण शरीरमा भएको बोसो नै घटाउनु पर्दछ।
क्रञ्चेज, सिटअप वा लेग राईज आदिमात्र व्यायाम गरिँदा पेटको मांसपेशी सदृढ, सबल र टोनिङ भने अवश्य नै होला तर त्यहाँबाट बोसो स्वात्तै घट्दैन। ती तरिकाहरू व्यायाम तालिका कार्यक्रमको एक हिस्सा हुन सक्छन्। ठूला मांसपेशीलाई समेटेर गरिने भारयुक्त शारीरिक व्यायाम र उपयुक्त भोजन नै वास्तविक बोसो घटाउने प्रमुख उपाय हो। उत्कृष्ट नतिजाका लागि कार्डीयो वर्कआउट र वेट ट्रेनिङलाई समायोजन गरी व्यायाम गर्नु उत्तम हुन्छ।
कार्डीयोभास्कुलार वर्कआउट, एरोबिक व्यायाम हो, वेट ट्रेनिङअर्थात् प्रोग्रेसिभ रेसिस्ट्यान्स एक्सरसाइज, एनोरोविक व्यायाम हो। वातापेक्ष व्यायाममात्र गरिँदा बोसो ज्वलन प्रकृया व्यायाम अवधि भरमात्र सकृय हुने गर्दछ भने एनोरोविक व्यायामसमेत गरिदा उक्त ज्वलन प्रकृया लगातार लामो समयसम्म कायम रहिरहन्छ।
कडा व्यायामका क्रममा जीव कोषको माइटोकोन्ड्रीयाबाट अक्सीडेटिभ इन्जाइम प्रचुरमात्रामा प्रवाहित हुने गर्दछ। जसले बोसो ज्वलन प्रकृयालाई प्रशस्त उकासिदिन्छ। बिहान खाली पेटमा ग्लाइकोजिनको सतह न्युन हुन्छ र त्यस अवस्थामा कफी आधा गिलास पिएर एरोविक व्यायाम गरेमा कफीमा हुने क्याफिनले बोसो ज्वलन प्रकृया २०० प्रतिशतले बढी प्रभावकारी हुन्छ।
तर शरीरमा क्याफिनको मात्रा धेरै बढ्ने गरी खाली पेटमा बढी कफी पिएर व्यायाममा लागे हाइपोग्ल्यासेमिया हुने खतरा रहन्छ। तसर्थ यदि शरीरमा जम्मा भएको बोसोका कारण भएको स्थुलताको समस्याबाट उम्कनु छ भने अपथ्य भोजनबाट टाढा रहि योजनाबद्ध डाईटका साथै नियमित यथेष्ट एरोविक र एनोरोविक व्यायाम गर्नुपर्दछ।
--शिवलाल श्रेष्ठ, प्रथम मिस्टर नेपाल