उमेर पुगेका व्यक्तिहरुमा स्ट्रोक धेरै देखिने भएकाले सबैभन्दा बढी जोखिममा ५० वर्ष माथिका मानिस नै हुन्छन्। त्यसपछि उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोलका समस्या भएका व्यक्तिहरु यो रोगको जोखिममा हुन्छन्।
यस्तै मुटु तथा रक्तचापसम्बन्धी समस्या भएका, अस्वस्थकर जीवनशैली जिउने, अत्यधिक मात्रामा धूमपान गर्ने, नशाभित्रै रगत जम्ने रोग भएकाहरु, गर्भनिरोधक औषधि खानेहरु, परिवारमा मस्तिष्कघात (स्ट्रोक)को इतिहास भएका व्यक्तिहरु पनि यसको जोखिममा हुन्छन्।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर हरेक वर्ष एक करोड ५० लाख मानिस मस्तिष्कघातको सिकार हुन्छन्। जसमध्ये ५० लाख मानिसको मृत्यु हुने गरेको छ भने ५० लाखभन्दा बढी पक्षघातका कारण शरीरको एउटा वा त्योभन्दा बढी भाग चलाउन नसक्ने अवस्थामा पुगेका छन्।
तथ्यांकअनुसार बाँकी रहेका ५० लाखमध्ये १५ लाखभन्दा बढी उपचारपश्चात सामान्य जीवनमा फर्कन सफल भएका छन्। यस्तै, ३५ लाख हाराहारीका बिरामी भने सामान्य विकलांगताका साथ बाँचिरहेका छन्। मस्तिष्कघात जीवनमा अप्रत्याशित रुपमा हुने र तत्कालै ज्यान जान पनि सक्ने समस्या हो।
समयमै उपचार पाएकाहरु सामान्य जीवनमा फर्कन सके पनि ढिलो गरी उपचारमा पुग्नेहरुमा शरीरको कुनै भागमा खोट रहने या पक्षघातजस्तो समस्याले सताउने भएकाले अरुको भरमा बाँच्नुपर्ने अवस्था हुन्छ।