काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा तीव्र गतिमा फैलने दादुराका बिरामी देखिन थालेको छ। मन्त्रालयले दादुराको महामारी नै देखिएको र अन्य जिल्लामा फैलन सक्ने भन्दै जोखिममा रहेका जिल्लामा खोप अभियान नै सुरु गरेको छ।
मन्त्रालयले सुनसरी मोरङ महोत्तरी बर्दिया दाङ सुर्खेत कैलाली कन्चनपुर र बाजुरा जिल्लाका ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन सुरु गरेको हो। खोप अभियान सुरु नभएपनि काठमाडौंमा दादुराका बिरामी फेला परिरहेका छन्। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ का चार जना बालबालिकामा दादुरा देखिएको हो।
मन्त्रालयले महामारीका रुपमा दादुरा फैलन सक्ने जोखिम रहेको भन्दै सबैलाई सचेत रहन र सुरक्षित रहन आग्रह गरेको छ। 'दादुरा रोग कोभिड-१९ भन्दा पनि तीव्र गतिले फैलिन्छ। साथै यसको मृत्युदर पनि उच्च रहेको छ। १ जना दादुरा संक्रमितले १८ जनासम्मलाई रोग सार्न सक्छन्,' मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, 'तसर्थ पहिला जति पटक दादुरा रुबेला खोप लगाएको भए पनि खोप अभियान चलेका ९ जिल्लाका नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी अनिवार्य एक मात्रा खोप लगाऔं र अकालमै मृत्यु हुनबाट जोगाऔं।'
दादुरा के हो?
दादुरा मिजल्स भाइरसबाट हुने अति संक्रामक रोग हो। यो रोग कुनै पनि उमेरको मानिसलाई र विशेग गरी बालबालिकालाई लाग्न सक्दछ। अति संक्रामक भएका कारणले गर्दा यो रोगले छिट्टै महामारीको रुप लिन सक्दछ। यो रोग कोभिड-१९ भन्दा पनि तीव्र गतिले फैलिन्छ। साथै यसको मृत्युदर पनि उच्च रहेको छ। १ जना दादुरा संक्रमितले १८ जनासम्मलाई रोग सार्न सक्छन्। यो रोग संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ।
दादुराका लक्षण
- उच्च ज्वरो आउनु
- खोकी लाग्नु
- आँखा रातो हुनु
- नाकबाट पानी बग्नु
- शरीरमा राता मसिना बिमिराहरु देखिनु
यो रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, श्वासप्रश्वासको कडा संक्रमण (निमोनिया) हुने, आँखामा समस्या भई अन्धोपन हुने, मस्तिष्कमा कडा खालको सुजन हुने वा मस्तिष्क ज्वरो आउने, कम्पन हुने, जस्ता जटिलताको कारण मृत्यु पनि हुन सक्ने सम्भावना हुन्छ। त्यसैले दादुराको चिन्ह वा लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ।
दादुराका बिरामी पत्ता लागेपछि गरिने उपचार तथा व्यवस्थापन
- शंकास्पद बिरामीहरुमा दादुराको लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने
- महामारी फैलन नदिन शंकास्पद बिरामीहरुलाई आइसोलेसनमा राख्ने
- हाच्छिउँ गर्दा, खोक्दा नाक र मुख सफा रुमालले छोप्ने
- व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिने। बेला बेलाम साबुन पानीले मिचिमिची हात धुने
- संक्रमित व्यक्तिलाई भिडभाड भएका सार्वजनिक ठाउँहरु नलैजाने र नपठाउने। घर भित्र हावा ओहोरदोहोर हुने, सफा र घाम लाग्ने कोठामा राख्ने
संक्रमित बालबालिकालाई स्याहार गर्ने व्यक्तिले मास्क लगाइरहने।
- दादुरा संक्रमित बालबालिकालाई साविकभन्दा बढी पोषिलो खानेकुरा खुवाउने गरौं। दादुरा भएका प्रत्येक बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार भिटामिएन ए खुवाउनुपर्छ।
दादुराबाट बच्न अपनाउन पर्ने रोकथामका उपाय
- ९ महिना र १५ महिनाका बालबालिकालाई दादुरा-रुबेला मिश्रित २ मात्रा खोप अनिवार्य लगाउने
- ५ वर्ष मुनि बालबालिका दादुरा-रुबेला खोप लगाउन छुट भएमा नजिकको स्वास्थ्य संस्थामा खोप लगाउने
- दादुरा-रुबेला भएका बिरामीको सम्पर्कबाट टाढा रहने
- ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई वर्षको २ पटक वैशाख र कात्तिक महिनामा भिटामिन ए क्याप्सुल खुवाउने
- बालबालिकालाई कुपोषण हुनबाट बचाउन पोषिलो खानेकुराहरु खुवाउने र सरसफाईमा ध्यान दिने