नेपालमा स्वास्थ्य सेवाको पहुँच तथा उपभोगमा ढिलाइ हुने गर्दछ। रोगको पहिचान गर्न ढिलो भएको कारणले पनि स्वास्थ्य सेवाको प्रयोगमा ढिलाइ हुन्छ। क्यान्सर रोगको कुरा गर्दा रोगको लक्षण नै पहिचान गर्न अलिक समय लाग्दछ। अझ कोलोरेक्टल क्यान्सर (ठूलो आन्द्रा वा मलाशयमा देखिने क्यान्सर) मा त रोगको पहिचान गर्नै वर्षौ लागेको देखिन्छ।
यो क्यान्सर उच्च विकसित राष्ट्रहरुमा बढि छ भने मध्यम तथा निम्न आय भएका राष्ट्रहरुमा पनि यसले प्रभाव पार्न थालेको छ। विश्व स्वास्थ्य संगठन (ग्लोबोक्यान) २०२० को अनुसार नेपालमा क्यान्सरका बिरामीहरुमध्ये करिब ९.३ प्रतिशत मानिसहरु यस क्यान्सरका बिरामी छन्। नयाँ क्यान्सरका बिरामीको संख्यामा यो रोग, मुख्य ५ मा पर्दछ। सोहि तथ्यांक अनुसार नेपालमा कोलोरेक्टल क्यान्सरका करिब ५.३ प्रतिशत नयाँ बिरामी छन्। ग्याष्ट्राइटिस् (आम भाषामा, ग्याग्याष्ट्रीक)को उपचार गराइरहेकी महिला, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आफू ठूलो आन्द्राको क्यान्सरको सिकार भएको थाहा पाउँदा छाँगाबाट खसेकोझैँ अनुभव गरेको बताइन्।
करिव दश वर्षदेखि पायल्सको दबाइ खाइरहेका बिरामीको मलशायको क्यान्सर प्रमाणित हुँदा उसलाई सुरुमा प्रमाणित रोगप्रति विश्वास लागेन तथा आफुले वर्षौँदेखि जुन स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग उपचार गराइरहेको उसप्रति शंका जाग्यो। क्यान्सरको विभिन्न प्रकारहरुमध्ये यो क्यान्सरको पहिचान गर्न ढिलाइ हुने गर्दछ। कोलोरेक्टल क्यान्सरको उच्च संक्रमण दर, मृत्युदरका साथै यसले निम्त्याउने आर्थिक संकटले गर्दा यसलाई विश्वव्यापी रुपमा जनस्वास्थ्यको चुनौतीको रुपमा लिइएको छ। सन् २०२० को अनुसार नै विश्वमा १९ लाख यस क्यान्सरका नयाँ बिरामी देखा परेको तथ्यांक प्रकाशित छ भने सन् २०४० मा सो संख्या बढेर करिव ३२ लाख हुने आकांडा छ। कोलोरेक्टल क्यान्सरबाट ९ लाख बिरामीले ज्यान गुमाउन परेको थियो।
सोही रिपोर्ट अनुसार, चीन र अमेरिकामा यस रोगका नयाँ बिरामीको संख्या धेरै छ जुन सन् २०४० मा पनि देखिने सम्भावना प्रबल छ। उमेर बढेसँगै कोलोरेक्टल क्यान्सरको सम्भावना बढ्दै जाने यस क्यान्सरले ३५(४० वर्षको व्यक्तिलाई मात्र छुन्छ भन्ने आम मानसिकता छ तर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा काम गरेको अनुभवले यो भ्रम हो भन्न सक्दछु। महिला र पुरुष दुवैमा देखापर्ने यो क्यान्सरलाई बदलिदो जीवनशैली तथा खानपिनले साथ दिएको छ।
जोखिमका कारक
उमेर बढेसँगै कोलोरेक्टल क्यान्सरको जोखिम बढ्ने
परिवार वा नजिकका आफन्तमा कसैलाई कोलोरेक्टल क्यान्सर भएको छ भने
शारीरिक गतिविधिको कमी
रातो तथा प्रशोधित मासुको अत्याधिक सेवन
फलफुल तथा सागसब्जीको कम सेवन
मोटोपन
जाँड रक्सी तथा सुर्तीजन्य पदार्थको सेवन
लक्षण
दिसामा रगत देखा पर्ने
दिसा गराइमा समस्या जस्तै पखाला, कब्जियत वा राम्ररी नहुने
पेट दुख्ने
बिना कारण तौल घट्ने
रक्तअल्पता
निरन्तर थकाइ
माथिका लक्षणहरु मानिसलाई सुरुवाती चरणमा भन्दा धेरैपछि देखापर्ने हुनाले यो रोगको पहिचानमा समय लाग्ने गर्दछ।
रोकथामका विधि
स्क्रिीनिङ वा चेकजाँच, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस
स्वस्थकर खानपान फलफूल, सागसब्जीको पर्याप्त भोजन
नियमित व्यायाम शारीरिक गतिविधि बढाउने
धुम्रपान तथा रक्सी त्याग्ने
परीक्षण वा स्क्रिीनिङ
दिसाको जाँच
क्लोनोस्कोपी
सिग्मोइडोस्कोपी
कोलोरेक्टल क्यान्सरको अवस्था र यसले भविष्यमा पार्न सक्ने चुनौतीलाई मध्यनजर गरेर जनस्वास्थ्यको उपाय अपनाएर स्वस्थ जीवन जिउनु पर्दछ। रोगले आर्थिक समस्या ल्याउनुका साथै बिरामी र उनका परिवारमा मानसिक तथा भावनात्मक तनाव दिने गर्दछ। त्यसैले, स्वस्थ्यकर जीवनशैली अपनाउँदै समय समयमा स्वस्थ जाँच गराउने हो भने भविष्यमा परि आउने भवितव्यबाट बच्न सकिन्छ।
(भूसाल जनस्वास्थ्य स्नातकोत्तरकी विद्यार्थी हुन्।)