फंगल इन्फेक्सन
वीर, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छालाको उपचारका लागि पुग्ने बिरामीमध्ये पहिलो नम्बरमा एक्जिमाका बिरामी पर्छन् भने दोस्रो नम्बरमा रहेको समस्या हो, फंगल इन्फेक्सन (संक्रमण)।
गर्मीमा पसिना, वायुमा आद्रताको वृद्धि अनि शरीर गुम्सिनाले यो रोग लाग्छ। यो एक प्रकारको ढुसी (फंगाइ) को कारण हुन्छ। कास लाग्नु, खुट्टा पानी/हिलोले खानु, घाँटी वरपर सेतो दुबी आउनु, नङ पहेंलो हुनु, बाक्लो हुनु, दाद आउनु, १६ वर्षभन्दा मुनिका बालबालिकाको कपालमा खोइरो लाग्नु फंगल इन्फेक्सन हो।
फंगल इन्फेक्सन हुँदा हात र खुट्टाको औँलाको बीचमा चिलाउने, रातो हुने र छाला उप्किएर छालामा टिकटिक सेतो छाला देखापर्ने, छालामा गोलो रिङ आकार बन्ने, छालामा फोका उठ्ने, कपाल झरेर घाउ हुने लगायतका समस्या देखा पर्छन्।
पानीमा धेरै काम गर्ने, दिनभर जुत्ता लगाउनुपर्ने, कस्सिएको (टाइट) कपडा/भित्री वस्त्र लगाउने व्यक्तिमा फंगल इन्फेक्सनको समस्या बढी देखिने पाटन अस्पतालका प्रमुख कन्सल्टेन्ट छाला रोग विशषेज्ञ प्राडा भाष्करमोहन कायस्थले बताए। पाटन अस्पतालमा छालासम्बन्धी समस्या लिएर आउने करिब १ सय जना बिरामीमध्ये गर्मीमा फंगल इन्फेक्सनका २० प्रतिशतजति हुन्छन्।
‘गर्मी महिनामा पसिना गुम्सिन्छ। तापक्रम र पसिना गुम्सिदा संक्रमण हुने सम्भावना बढी हुन्छ,’ उनले भने।
समयै उपचार नगरे यो संक्रमण शरीरमा फैलदै जान्छ। फंगल इन्फेक्सन बढी गर्मी महिनामा बढी हुने भएकाले कस्सिएको र शरीर निकै गुम्सिने कपडा नलगाउन उनको सुझाव छ। फंगल इन्फेक्सन एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले तौलिया लगायत कपडाहरु साझा रुपमा प्रयोग गर्नु हुँदैन।
गर्मी महिनामा फंगल इन्फेक्सनको समस्या बढ्ने गरेको त्रिवि शिक्षण अस्पतालका छाला रोग विशेषज्ञ प्राडा द्वारिका श्रेष्ठ बताउँछन्। यो अस्पतालमा करिब २ सयमध्ये २० जना बिरामी फंगल इन्फेक्सनको हुने गरेको उनले बताए। वीर अस्पतालमा फंगल इन्फेक्सनको समस्या लिएर जाने बिरामीको संख्या करिब ३८ जना हुन्छन्।
ब्याक्टेरियल संक्रमण (घाउ–खटिरा)
छालासम्बन्धी देखिने अर्को आम समस्या हो, ब्याक्टेरियल संक्रमण। बच्चा र वयस्कहरुमा देखिने ब्याक्टेरियल संक्रमण फरक हुन्छन्।
बच्चाको नाकको वरिपरि पहेलो घाउ आउँछ। यो घाउ दुख्दैन, चिलाउँदैन। खुट्टामा ठूला पिपका फोकाहरु आउँछ। टाउकोमा स–साना पिलो आउने पनि हुन्छ। कुनै ठाउँमा चोट लाग्यो भने ब्याक्टेरियल संक्रमणका कारण पाक्ने समस्या पनि हुन्छ।
ब्याक्टेरियल संक्रमण दुई किसिमको हुन्छ। एक, प्राइमरी ब्याक्टेरियल संक्रमण र दोस्रो, सेकेण्डरी ब्याक्टेरियल संक्रमण। सरसफाइको कमी लगायत विभिन्न कारणले आफैँ घाउ–खटिरा आउनु प्राइमरी ब्याक्टेरियल संक्रमण हो। चिलाएको ठाउँमा, दाद आएको भागमा कन्याउँदा ब्याक्टेरियल संक्रमणका कारण घाउ पाक्नु सकेण्डरी संक्रमण हो।
ब्याक्टेरियल संक्रमण सरुवा रोग र सरसफाइको कमीका कारण हुने भएकाले बालबालिकामा सहजै सर्ने पाटन अस्पतालका डा कायस्थले बताए। मधुमेह भएका बिरामीलाई पनि घाउ–खटिरा आउने समस्या भइरहन्छ। बालबालिकामा हुने संक्रमणको समयमै उपचार गर्न आवश्यक रहेको उनले बताए।
‘बच्चामा छालामा हुने ब्याक्टेरियल संक्रमण छ भने समयमै उपचार चाहिन्छ। समयमै उपचार भएन भने मिर्गौला रोग निम्त्याउन सक्छ,’ उनले भने।
अभिभावकलाई आफ्ना बच्चाको सरसफाइमा ध्यान दिन, समस्या छ भने समयमै उपचार गर्न र फोहोरमैलामा खेल्न नदिन उनको सुझाव छ।