काठमाडौं– धेरैजसो ‘सुगर-फ्री’ भनिएका खाद्य वा पेय पदार्थलाई गुलियो बनाउन चिनीको साटो प्रयोग गरिने एस्पर्टेम नामक तत्त्वबाट 'क्यान्सर हुन सक्ने' सम्भावनाबारे विवरणहरू सार्वजनिक भएका छन्। तर उक्त पदार्थ सेवन गर्न सुरक्षित मानिएको मात्राबारे विद्यमान व्यवस्थामा कुनै परिवर्तन भएको छैन।
यस्तो अवस्थामा नेपालका नियामक निकायहरू उक्त पदार्थको प्रयोगमा सावधान हुनुपर्ने विज्ञहरूले औँल्याएका छन्।
क्यान्सरको अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय निकाय आईएआरसी, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र खाद्य तथा कृषि सङ्गठन (एफएओ) अन्तर्गतको एउटा संयुक्त समितिले यसबारे अध्ययन गरेको थियो। जोइन्ट एक्स्पर्ट कमिटी अन फुड एडिटिभ्स (जेईसीएफए) द्वारा मानिसको स्वास्थ्यमा ‘एस्पर्टेम’ नामक गुलियो बनाउने पदार्थका प्रभावबारे गरिएको मूल्याङ्कन गत साता सार्वजनिक भएको हो।
मानिसहरूमा के कारणले क्यान्सर हुन्छ भन्ने प्रमाणहरू सीमित छन् र तिनै प्रमाणमा आधारित मूल्याङ्कनपछि एस्पर्टेमलाई आईसीआरसी वर्गीकरणको समूह 'टूबी'मा राखिएको छ। अर्थात् उक्त पदार्थलाई "क्यान्सर गराउन सक्ने सम्भावित वस्तु" मानिएको छ।यद्यपि "आईएआरसी वर्गीकरणले हामीलाई एस्पर्टेमबाट जोखिमको वास्तविक स्तरको बारेमा केही पनि नबताउने” ओपन यूनिभर्सिटीमा तथ्याङ्कशास्त्रका प्राध्यापक केभिन मक्कन्वेले बीबीसीसँग बताएका छन्।
जेईसीएफएले भने मानिसको शरीरको तौलअनुरूप प्रतिकिलो ४० मिलिग्रामसम्मको एस्पर्टेम सेवनलाई स्वीकार्य मानेको छ।
“कुनै समय खानामा एस्पर्टेम सुरक्षित हो भनियो, त्यसैले विशेषतः डाइअट वा सुगर-फ्री भनिने उत्पादनहरूमा चिनीको साटोमा हाल्न थालियो। अब फेरि अन्तर्राष्ट्रिय मूल्याङ्कनले यसले निम्त्याउन सक्ने जोखिमको पाटो देखायो भने हामी पनि उक्त पदार्थको प्रयोगको सन्दर्भमा सतर्क हुनुपर्छ,” खाद्य स्वच्छता तथा गुणस्तरविज्ञ जीवनप्रभा लामाले भनिन्।
उनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी पूर्वमहानिर्देशक हुन्।
नेपालले खाद्य सुरक्षा सुनिश्चित गर्नका लागि डब्ल्यूएचओ र एफएओले संयुक्त रूपमा बनाएको कोडेक्स मापदण्ड कार्यान्वयन गर्छ।
अध्ययनहरूको निष्कर्षमाथि विमर्श र विज्ञहरूको सुझावका आधारमा कोडेक्स मापदण्ड संशोधन गरिने लामाले बताइन्।
“नेपालले पनि त्यसलाई अनुसरण गर्नुपर्ने हुन्छ। तर त्यसअघि नै स्थानीय उत्पादकहरूलाई यसबारे चेतावनी दिनुपर्ने हुनसक्छ,” उनले भनिन्।
के भन्छ सरकार?
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपालमा बन्ने वा आयात हुने खाद्यान्न वा पेय उत्पादनको नियमन हुने गरेको छ।
“हामीले अन्तर्राष्ट्रिय मापदण्ड अपनाउने भएकाले एस्पर्टेमको प्रयोगबारे कोडेक्सको नयाँ निर्णयअनुरूप कामकारबाही अघि बढाउँछौँ,” उनले बीबीसीसँग भने।
यद्यपि अहिलेसम्म उक्त रसायनलाई खाद्य सामग्रीको रूपमा सूचीकृत गरिएकाले “तत्काल के गर्ने भन्नेबारे कुनै छलफल नभएको” उनले बताए।
अन्तर्राष्ट्रिय स्तरमा एस्पर्टेमले स्वास्थ्यमा गर्ने असरबारे चर्चा भएकाले यसको प्रयोग हुने स्वदेशी उत्पादन र आयात हुने खाद्यान्नको नियमन गरिन सक्ने प्रवक्ता महर्जन बताउँछन्।
उनले भने,”आयात हुने खाद्य उत्पादन त परीक्षण भएरै आउँछन्। विभागसँग आयात अनुमति लिँदा नै आयातकर्ताले के सामान कहाँबाट कोसँग कति ल्याउने भन्ने विवरणसहित ल्याब परीक्षण रिपोर्ट बुझाउनुपर्ने हुन्छ,“ उनले भने।
नेपालमै उत्पादन गरिरहेकाहरूको हकमा हाललाई एस्पर्टेम प्रयोगको मात्राबारे बुझ्ने र त्यसबारे आएको नयाँ जानकारी प्रवाह गर्न सकिने उनले जानकारी दिए।
“अन्तर्राष्ट्रिय स्तरमै यसको प्रयोगमा प्रतिबन्ध लगाइयो भने त नेपालमा पनि प्रयोग गर्न पाइँदैपाइँदैन।”
के हो एस्पर्टेम?
एस्पर्टेम कृत्रिम रूपमा बनाइएको गुलियो पदार्थ हो। यो चिनीभन्दा २०० गुना गुलियो हुन्छ र यसले मानवशरीरमा क्यालोरी नबढाई स्वाद दिन्छ।
सन् १९८० देखि खाद्य तथा पेय उत्पादनहरूमा यसको व्यापक प्रयोग हुँदै आएको डब्ल्यूएचओले जनाएको छ।
विशेषतः डाइअट पेयहरू, चूइङ गम, जेलाटिन, आइसक्रीम, दहीजस्ता दुग्ध उत्पादन, दन्तमञ्जन तथा खोकीको औषधि र चपाएर खाइने भिटामिनहरूमा यसको प्रयोग हुन्छ।
डाइअट कोक, कोक जिरो, सेभन अप फ्री र पेप्सी म्याक्सजस्ता लोकप्रिय पेयपदार्थमा एस्पर्टेम हालिएको हुन्छ।
त्यस्तै बजारमा उपलब्ध हुने र मधुमेहका बिरामीहरूले प्रयोग गर्ने "चिनीरहित" भनिने बिस्कुट र प्याकेटमा आउने जुसमा यसको प्रयोग हुने विज्ञहरू बताउँछन्।
रोचक कुरा कत के हो भने यो पदार्थलाई खाद्यसुरक्षा निकायहरूले अनुमोदन गरेका छन्। बीबीसीबाट