वर्षातको समयमा आउने बाढी-पहिरोबाट निम्तिने विपत्ति र धनजनको क्षतिलाई लिएर पूर्वतयारीहरु हुने गरेका छन्। बर्खायाममा प्राकृतिक विपद मात्रै होइन, मानव स्वास्थ्यमा पनि विपद आउने गर्छ। यही मौसममा सरुवा रोगहरु निम्तिने र फैलिने जोखिम बढी हुन्छ।
सरुवा रोग सार्ने किटाणु यही समयमा सक्रिय हुने भएकाले महामारी निम्तिने जोखिम रहन्छ। वर्षातको समयमा पानी तथा खानेकुराहरु फोहोर हुने र हावामा ओस बढ्ने गर्छ। रोगबाहक झिंगा र लामखुट्टे लगायतलाई यही मौसम अनुकल हुन्छ। विभिन्न स्थानमा जम्ने फोहोर पानीका कारण झिंगा, लामखुट्टे, भुसुना तथा अन्य किटाणु मौलाउँछन्। सरुवा रोग फैलाउने यस्ता माध्यमहरु जति मौलाउँछन्, त्यति नै बढी रोग सार्ने क्षमतामा बढोत्तरी हुन्छ।
वर्षायाममा झाडापखला, हैजा, टाइफाइड, भाइरल, जण्डिस, आउँ, निमोनियाँ, औलो, डेंगु, कालाजार, रुघाखोकी, पेटमा इन्फेक्सन, छालामा फंगस, आँखा पाक्ने जस्ता रोगको संक्रमण बढ्ने गर्छ। वर्षातको समयमा आउने बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिले पनि सरुवा रोगको संक्रमण फैलाउने खतरा रहन्छ।
बाढी-पहिरो गएको क्षेत्रमा शुद्ध पिउने पानीको समस्या हुन्छ। पानीको स्रोत दूषित हुनुका साथै खानेकुराको समेत समस्या हुने हुँदा ती प्रभावित क्षेत्रमा रोगहरु बढ्ने गर्छन्। त्यस्तो बेला प्रभावित क्षेत्रका मानिसहरु एकै ठाउँमा बस्नुपर्ने तथा फोहोर बढी हुने हुँदा सरुवा रोगको उत्पत्ति मात्रै होइन, फैलिने दर समेत बढी हुन्छ।
गर्मी र वर्षातको समयमा हुने अधिकांश रोग खानपान र सरसफाइसँग जोडिन्छन्। व्यक्तिगत र पारिवारिक सावधानी नै रोगबाट जोगिने सबैभन्दा उत्तम उपाय हो। त्यसैले यस्तो बेला खानेपानीमा विशेष ध्यान दिनुपर्छ। सकेसम्म उमालेर वा शुद्धीकरणका विधि अपनाएर मात्रै पानी पिउने बानी बसाल्नुपर्छ। खाना पनि बाहिर खाँदा बासी, सडेगलेको पर्ने कुरामा विशेष ख्याल पुर्याउनुपर्छ।
आफू वरिपरिको वातावरणको सरसफाइ त्यस्ता रोग नियन्त्रणको अर्काे उपाय हो। जस्तोः लामखुट्टेका माध्यमबाट सर्ने रोगहरुका लागि उनीहरु अनुकुल बासस्थान बन्न नदिनु नै नियन्त्रणको उपाय हुन्छ। सरुवा रोगबाट जोसुकै ग्रसित हुन सक्छन्। तर उच्च जोखिममा भने बालबालिका र वृद्धवृद्धा हुन्छन्। उमेरजन्य कारणले पनि जोखिम समूह रहेकाले उनीहरुको खानपान र अन्य कुरामा विशेष ध्यान दिन आवश्यक हुन्छ। यस्ता विषयमा नागरिकमा तहमा सचेतना फैलाउनुपर्छ।
सबै मौसममा देखिने रोगहरुका लागिभन्दा यस्ता मौसमी रोगका लागि सरकारको तयारी कमजोर देखिन्छ। समग्र तथ्यांकमा सर्नेभन्दा नसर्ने रोगको समस्या बढी देखिएका कारण पनि सरोकारवालाहरु अन्यमा केन्द्रित छन्। तर नेपाल जस्ता विकासोन्मुख देशमा निश्चित मौसममा देखिने सरुवा रोगको प्रकोप पनि डरलाग्दो नै देखिन्छ। सरुवा रोगका कारण भइरहने धनजनको क्षतिलाई रोक्ने प्रयास भइरहे पनि पूर्ण प्रभावकारी देखिँदैन।
पूर्वतयारी नपुग्दा ढिलो गरी लिइने एक्सनका कारण धैरै नागरिकको ज्यान जोखिममा परेका विगतका प्रशस्त उदाहरण छन्। त्यसैले संघीय, प्रदेश र स्थानीय सरकारले वर्षातमा हुने बिरामका लागि एकीकृत संयन्त्र बनाउन जरुरी छ। जुन संयन्त्र समस्या पर्नेवित्तिकै सक्रिय बनोस्। परेपछि मात्रै तातो लाग्ने स्वभावका सरकारी संयन्त्रहरुलाई केही नपर्दै त्यसका लागि तयारी अवस्थामा राख्न सम्बन्धित निकायको ध्यानाकर्षण होस्।
सरुवा रोगलाई लिएर तयार पारिएका उपचार प्रणालीलाई वर्षायाममा बढी सक्रिय बनाउन जरुरी हुन्छ। स्थानीय तहमा फैलिएका स्वास्थ्य संस्थालाई अहिलेको मौसममा फैलिन सक्ने सरुवा रोगका लागि परिचालित गर्नुपर्छ। उनीहरुकहाँ पठाइने औषधि र गरिने तयारी तिनै रोग केन्द्रित हुनुपर्छ। यसरी गरिने तयारी मात्रै वर्षामा आउने रोगको बाढीका लागि भरपर्दो तटबन्धन हुन सक्छ।
सचेतना र सतर्कताले मात्रै वर्षायाममा फैलिने रोगविरुद्ध लड्न सकिन्छ। व्यक्ति, परिवार, समाज र सरकार दुवैले यो उपाय अपनाउनुपर्छ।