डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो। यो रोग विश्वका धेरै देशमा प्रकोपको रुपमा देखापरेको छ। डेंगु ज्वरो एडिस एजिप्टाई/एलबोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट मात्रै सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टेलाई टाइगर मस्क्युटो पनि भनिन्छ। यो रोग जुनसुकै उमेर समूहका व्यक्तिहरुलाई पनि लाग्न सक्दछ। डेंगु डेन १, डेन २, डेन ३ डेन ४ गरी चार प्रजातिका डेंगु भाइरसबाट लाग्दछ।
यो लामखुट्टेले सामान्यतया जमेको सफा पानीमा अण्डा पार्ने गर्दछ। एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुन्छ। एउटा लामखुट्टेले आफ्नो जीवनभर करीब ५०० देखी १००० वटासम्म अण्डा पार्ने गर्दछ। संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन्। यसको अण्डा पानी बिना पनि महिनौसम्म जिबित रहन सक्दछ। यो लामखुट्टेले सामान्यतया उज्यालोमा टोक्ने गर्दछ। डेंगु एउटा मानिसबाट अर्कोमा सोझै सर्दैन। हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ। र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त व्यक्ति रोगबाट संक्रमित हुन्छ। पोथी जातको लामखुट्टेलाई फुल पार्नका लागि प्रचुर मात्रामा प्रोटीनको आवश्यकता पर्ने भएकाले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ। भाले जातको लामखुट्टेले बोट बिरुवाको रस चुसेर आफ्नो जिवनयापन गर्दछ।
लक्षण तथा चिन्हहरु
. उच्च ज्वरो आउनु (१०२ देखी १०३ं फरेनहाईट)
. टाउको दुख्ने तथा पेट दुख्ने
. वाकवाकी लाग्ने
. आँखाको गेडी दुख्ने
. सम्पुर्ण शरीर वा जोर्नी दुख्ने
. रातोरातो बिबिराहरु देखापर्ने।
समयमै उपचार गर्न सकिएमा मृत्युदरलाई २ प्रतिशत भन्दा कममा झार्न सकिन्छ। विगत केही दशक देखि विश्वभर नै डेंगु रोगको संक्रमण अत्याधिक रुपमा बढ्दै गइरहेको छ। वितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणाले बढेको पाइएको छ। विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन्। १२८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिसहरु यस रोगको जोखिम क्षेत्रमा बसोबास गर्दछन्। प्रत्येक वर्ष झण्डै ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनुका साथै २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ।
नेपालमा डेंगुको इतिहासः
स्तनधारी जीव हुँदै मानिसमा सरेको अनुमान गरीएको डेंगुको उत्पत्ती झन्डै ५०० देखि १००० वर्ष पहिले भएको अनुमान गरीएको छ। नेपालमा पहिलो पटक सन् २००४ मा पहिलो बिरामी (विदेशी नागरिक) भेटिएको र सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लाहरुमा डेंगुका बिरामी भेटीएका थिए। सन् २०१० मा चितवन लगाएत रुपन्देही नवलपरासी लगाएतका जिल्लाहरुमा महामारीको रुपमा फैलिएको थियो। यो रोग विभिन्न उष्णप्रदेशीय तथा उप उष्णप्रदेशीय भागहरुमा तिब्र गतिमा फैलिएको पाइन्छ।
रोकथामका उपायहरुः पानी जम्न सक्ने भाँडाहरु जस्तै गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदीमा पानी जम्न नदीने। पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नसक्ने गरी ढाकेर राख्नुपर्दछ। कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टीतेल हालिदीने साथै जम्मा भएको पानी सफा गर्ने। घर वरपरका पानी जम्ने खाल्डाहरु पुरीदीने। घरका नजिकका पानी बग्ने नालीहरुमा बेलाबेलामा मट्टीतेल छर्कने गर्नुपर्दछ। बस्तीको वरीपरीका झाडीहरु सफागर्ने। बाहिर हिड्दा पुरा शरीर छोप्ने गरी कपडाहरु प्रयोग गर्ने। बच्चाहरुलाई बाहिर निस्कदा लामखुट्टे प्रतिरोधात्मक मलमहरु शरीरमा लगाउने।
डेंगुरोग नियन्त्रण र रोकथामका लागि हाल भई रहेका गतिवधिहरुः लामखुट्टेको बासस्थान खोजीगरी लार्भा नस्ट गर्नका लागी “खोज तथा नस्ट गर” अभियान कार्यक्रम।
डेंगुरोग नियन्त्रण र रोकथामका सम्बन्धमा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, पत्रकार, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र अन्य सरोकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम। डेंगुरोग नियन्त्रण ,रोकथाम तथा उपचारका लागी आवश्यक सामाग्रीहरुको उत्पादन तथा वितरण कार्यक्रम। स्वास्थ्य शिक्षा तथा सुचना केन्द्रबाट डेंगुरोग नियन्त्रण तथा रोकथामसम्बन्धी स्वास्थ्य सूचना प्रशारण तथा जनचेतना मुलक कार्यक्रमहरु संन्चालन भइरहेका छन्। यसमा हामी सबैको सहयोग र अपनत्वको खाँचो छ।
(लेखक स्वास्थ्यकर्मी हुन्।)