परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी नर्सिङ प्रमुख हुन् आशालक्ष्मी प्रजापती। उनी पाँच वर्षदेखि अस्पतालमा नर्सिङ प्रमुखका रुपमा कार्यरत छिन्। नर्सिङ पेशामा भने उनी ४० वर्षदेखि सक्रिय छिन्। प्रजापतीसँग नर्सिङ पेशा, चुनौती र अहिलेको अवस्थाका विषयमा स्वास्थ्यखबरकी लक्ष्मी चौलागाईंले कुराकानी गरेकी छिन्। प्रस्तुत छ नर्स प्रजापतीले व्यक्त गरेको धारणा उनकै शब्दमा:
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा मैले २०५० सालबाट नर्सिङ अधिकृतका रुपमा सेवा सुरु गरेको हुँ। त्यसअघि २०४२ सालदेखी नै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सको रुपमा कार्यरत थिएँ। मेरो माइलो दाइले मलाई नर्स बन्न प्रेरणा दिनुभएको हो। त्यतिबेला के पढ्ने, के बन्ने भन्ने निर्णय परिवारले नै गर्थे। अहिले व्यक्ति आफैंले त्यस्ता कुराको निर्णय गर्छन।
पहिले र अहिले
प्राय पेशागत कुराहरुमा पहिले र अहिले धेरै नै समानता पाउन सकिन्छ। जस्तै सरकारी सेवा प्रवेशका लागि निश्चित परीक्षा पास गर्नुपर्ने नियम पहिले पनि थियो र अहिले पनि छ। मैलै यस पेशा सुरु गर्दाेको बखत पनि केही नर्सहरु बाहिर जाने चलन भने थियो। तर अहिले जस्तो व्यापक भने थिएन।
अहिले दक्ष नर्सिङ जनशक्ति बेरोजगार हुने, बल्ल बल्ल जागिर पाए पनि सेवा सुविधा निकै कम हुने जस्ता कारणले पनि विदेशिने क्रम पहिले भन्दा अहिले बढेको देखिन्छ। आकर्षक तलब तथा सेवा सुविधा पाउने लोभले धेरै नर्सहरु विदेशिन पुगेका छन्। सरकारी तलब स्केलले सामान्य जीवनयापनसम्म गर्न सकिने अवस्था छ भने निजी अस्पतालहरुमा नर्सहरुको श्रम शोषण हुने गरेको अवस्था विद्यमान छ।
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ५ सय तोकेको अवस्थामा निजी अस्पतालले भने १० –१२ हजारमा नै नर्सहरुलाई काम लगाउने गरेको अवस्था नेपालमा छ। अध्ययनका लागि गरिने लगानी, नर्सहरुप्रति हुने अपमानजनक व्यवहार, विदेशबाट नर्सहरुको बढ्दो माग लगायतका कारण नर्सहरु विदेशिन बाध्य भएका छन्।
एकदमै न्यून सरकारी कोटा तथा बढी मात्रामा नर्स उत्पादन जस्ता कारण पनि नर्सहरु विदेशिनुमा जिम्मेवार छन्। प्रसूती गृहबाट मात्रै एक वर्षमा १ सय भन्दा बढीको संख्यामा नर्सहरु विदेश पलायन भएका छन्।
नर्सहरुमाथि चिकित्सकको भन्दा बढी दुर्व्यवहार हुन्छ
नर्सका समस्याका विषयलाई सञ्चार माध्यमले समेत प्राथमिकता दिएनन्। पछिल्लो समय नेपालमा चिकित्सकहरुमाथि भएका गालीगलौच, कुटपिट तथा दुर्व्यवहारका घटनाहरु दिनहुँ जस्तो बाहिर आउने गरेका छन्।
धेरै अस्पतालहरुमा नर्सहरुमाथि समेत दुर्व्यवहार तथा कुटपिट भएका छन् तर पनि ती घटनाहरु भने नगन्य मात्रामा मात्रै बाहिर आएका छन्।
फ्रन्टलाइनमा रहेर डाक्टर भन्दा नर्सले नै बढी काम गर्नुपर्ने भएकोले पनि डाक्टरहरुलाई भन्दा बढी दुर्व्यवहार तथा कुटपिट नर्सलाई हुने गर्छ। यद्यपि सञ्चार माध्यमहरुबाट यस्ता घटना कम नै मात्र सुन्न पाइन्छ। जसका कारण नर्सहरु कुटपिट र दुर्व्यवहार सहेरै बस्न बाध्य छन्। यसका बाबजुति पनि नर्सहरुले सेवा छाडेका छैनन्। उनीहरु निरन्तर बिरामीको सेवामा खटिनै रहेका छन्। नर्सहरुको सुरक्षाका विषयमा आवाज बुलन्द बनाउन आवश्यक छ।
नर्सिङ पेशामा चुनौती
नर्सिङ पेशाको प्रमुख चुनौती भनेकै योग्यता, क्षमताअनुसार काम नपाउनु नै हो। नर्सिङमा मास्टर्स डिग्री गरेको भए पनि कतिपय नर्सहरु अनमीको काम गर्न बाध्य छन्। योग्यता अनुसारको दरबन्दी र कामको जिम्मेवारी नदिइनु निकै गलत कुरा हो। सरकारी अस्पतालमा ठिकै भएपनि निजी अस्पतालमा कार्यरत नर्सहरुको भने कुनै पनि प्रकारको पेशागत ग्यारेन्टी नै छैन।
ज्ञान र कामको हिसाबले नयाँ पुस्ता अझै अब्बल
काम तथा ज्ञानको हिसाबमा भन्ने हो भने नयाँ पुस्ता अझै अब्बल छन्। उनीहरुमा नयाँ नयाँ प्रविधिदेखि चिकित्सा क्षेत्रमा भइरहेका नयाँ विषयको ज्ञान छ। उनीहरु अपडेट भइहाल्छन्। नयाँ पुस्ताका नर्सहरु ज्ञानका हिसाबले अब्बल भएपनि केही नर्सहरुले गर्ने व्यवहार भने बिरामीमत्रै छैन। उनहरुको बोली सुमधुर नभएको पक्कै पनि हो। नयाँ पुस्ताका केही नर्सहरुले बिरामीसँग गर्ने व्यवहारमा सुधार भने ल्याउन पर्छ। धेरै नर्सहरुमा समस्या छैन तर केही नर्सको व्यवहारका कारण समग्र नर्सिङ पेशामा नै प्रश्न उठाइएको अवस्था छ।
योग्यता तथा क्षमता अनुसारको काम नपाउनु वर्तमान समयमा नर्सिङ पेशाका लागि एक समस्याका रुपमा देखा परेको छ। एक नर्सले २५–३० जना बिरामीको रेखदेख गर्नुपर्ने अवस्था छ।
नर्स बिरामीको अनुपात नमिल्दा नर्सहरु कामको अत्याधिक प्रेसरमा हुने तथा बिरामीप्रति नराम्रो व्यवहार हुने स्थिती आउने गर्छ।
अस्पतालमा बिरामीको चाप अनुसार नर्सिङ जनशक्तिको व्यवस्थापन गरिदिनका लागि सरकारसमक्ष मेरो अनुरोध छ। पढाइको लागत समेत उठाउन नसक्ने अवस्थामा आगामी दिनमा नेपालमा नर्सिङ जनशक्ति अभाव हुने स्थिती समेत आउन सक्छ।
नर्सहरुले बिरामीबाट पाउने प्रतिक्रिया
परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल प्रसूती सेवाका लागि स्थापना भएको विशिष्टिकृत अस्पताल भएकोले अन्य अस्पताल भन्दा यस अस्पतालले प्रदान गर्ने सेवा भिन्न छ।
यहाँ डेलिभरी हुन आउने महिलाहरुका लागि सबै सेवा निःशुल्क छ। डाक्टर नर्सहरुले सही उपचार गर्दागर्दै पनि कतिपय छिटपुट रुपमा अप्रिय घटनाहरु भने हुने गर्छन्। त्यस्तो समयमा हामीले गरेका सम्पूर्ण राम्रा कामहरुलाई बिर्सेर बिरामी तथा बिरामीका आफन्तले हामीमाथि अमानवीय हिसाबले दुर्व्यवहार गर्छन्।
चाहे कोरोना महामारी होस् या भूकम्पको प्रकोप डाक्टर नर्सहरुले सधैं फ्रन्टलाइनमा बसेर बिरामीको सेवा गरिरहेका हुन्छन्। कोरोना महामारीको समयमा समेत निजी अस्पतालबाट घर फर्काइएका धेरै केशहरु हामीले हेरेका छौं।
अलपत्र अवस्था पारी निजी अस्पतालले घर पठाएका बिरामीलाईहरुलाई त्यतिबेला हामीले रातीको १२ बजे समेत सेवा दिएका छौं। तर नर्सहरुले गरेको सेवाको खुलेर प्रशंसा भने कमै मात्रामा हुन्छ। नर्सहरुले दिएका सेवामा खुसीमा भएर धन्यवाद भन्नेहरु पनि हुन्छन्। त्यसकारण यो पेशामा गाली र ताली दुवै खाइन्छ।
जब जुम्याहा बच्चा जन्मिएपछि आमाको मृत्यु भयो
बिरामीको सेवामा फ्रन्टलाइन बसेर काम गर्दाे केही यस्ता घटना घट्छन्, जसले लामो समयसम्म हामी नर्सहरुलाई घोचिरहन्छ। केही दिन अगाडिको मात्र घटना हो, शनिबार रातको समयमा जुम्याहा बच्चाको डेलिभरीका लागि महिलालाई अस्पतालमा भर्ना गरिएको थियो।
डेलिभरीका लागि अब्जरभेसनका क्रममा हामीले उक्त महिलालाई औषधि दिएर राखिरहेका थियौं, तर ती महिलालाई एक्कासी सास फेर्न ग्राहो हुने तथा बडी सिस्टमले काम गर्न नसक्ने स्थिती आयो। हामीले हतार हतार उक्त महिलाको शल्यक्रिया गरी जुम्ल्याहा बच्चा समेत निकाल्यौं। तर आमासहित एक बच्चाको दुखद निधन भएको त्यो घटना सम्झिदाँ आज पनि नमज्जा लाग्छ।
डाक्टरहरुका अनुसार पल्मोनरी इम्बोलिज्मका कारण आमाको मृत्यु भएको थियो। यो डेलिभरीका क्रममा रक्त प्रवाहमा गडबडी ल्याउने स्वास्थ्य समस्या हो। यस्तो समस्या भएपछि बिरामी बाँच्नु एकदमै दुलर्भ हो। सक्दो प्रयास गर्दा पनि बचाउन सकिएन।