एजेन्सी- इजरायली आक्रमणका कारण प्यालेस्टिनको गाजा क्षेत्रका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन्। आक्रमणमा परेर घाइते भएकाहरुले अस्पताल भरिँदा उपचार गर्नसमेत कठिन भएको छ। शव व्यवस्थापन गर्ने ठाउँ अभाव भएका कारण चिसो सामान ढुवानी गर्ने गाडीमा शव राख्न थालिएको छ।
प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि इजरायलले गाजा पट्टीमा पूर्ण नाकाबन्दी गरेको छ। अहिले अस्पतालमा जेनेरेटरबाट विद्युत् आपूर्ति भइरहेको भए पनि आजदेखि जेनेरेटरको इन्धन अभाव हुनसक्ने बीबीसीले जनाएको छ।
पछिल्लो ४८ घण्टामा उत्तरी गाजाका ११ लाखमध्ये ५ लाखभन्दा धेरै आफ्नो थातथलो छाडेर पलायन भएका छन्। उनीहरु तुलनात्मक रुपले सुरक्षित मानिएको दक्षिणी क्षेत्रतर्फ लागेको जनाइएको छ। तर, त्यहाँका बासिन्दाले गाजामा कतै पनि सुरक्षित ठाउँ नभएको बताएका छन्।