काठमाडौं- उत्तरी गाजास्थित अस्पतालमा सयौँ बिरामीहरू फसेका र उनीहरू शारीरिक रूपमा दक्षिणतिर जान सक्षम नभएको प्यालेस्टिनी शरणार्थीहरूको मामिला हेर्ने संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखले बताएका छन्।
इजरेलले उत्तरी गाजामा निरन्तर बम आक्रमण गरिरहेको छ। प्यालेस्टिनी रेड क्रेसन्टका अनुसार गाजा सिटीस्थित -कुद्स अस्पताल क्षेत्रवरिपरि शृङ्खलाबद्ध आक्रमण भइरहेको छ।
इजरायली सेनाले अस्पताल खाली गर्न निर्देशन दिएको छ। तर अस्पतालका कर्मचारीहरूले त्यहाँबाट सघन उपचार कक्षमा भएका बिरामीहरूलाई अन्यत्र लैजान सम्भव नभएको बताएका छन्।
त्यहाँ शिशुहरूसहित सयौँ बिरामीको उपचार भइरहेको छ र अस्पताल परिसरमा झन्डै १४,००० गैरसैनिक नागरिकहरूले शरण लिइरहेको पनि बताइएको छ।
यूएनआरडब्ल्यूएका टम ह्वाइटका अनुसार चिकित्सक र अन्य सहायता संस्थाहरूले उत्तरी गाजास्थित अल-कुद्सजस्ता अस्पतालबाट बिरामीलाई अन्यत्र लैजान नसिकने बताएका छन्।
"उत्तरमा धेरै मानिसहरूले यूएनआरडब्ल्यूएका विद्यालयहरूमा आश्रय लिएका छन्, उनीहरूले अस्पतालमा आश्रय लिएका छन्," ह्वाइटले भने।
उनका अनुसार अस्पतालमा ठाउँ सार्न नसकिने अवस्थाका सयौँ बिरामीहरू छन्।
उत्तरी गाजामा सवारीसाधन र अरू उपाय नभएकाले धेरै मानिसहरू अन्यत्र जान सक्ने अवस्थामा छैनन्।
ह्वाइटका अनुसार मानिसहरू "निकै भोकाएका, तिर्खाएका र डराएका" छन्।
सिरिया र लेबननमा पनि आक्रमण
इजरेली सेनाले सिरिया र लेबननस्थित विभिन्न स्थानमा आक्रमण गरिएको बताएको छ। ती देशहरूबाट भएका रकेट हमलाको जबाफमा आफूले प्रत्याक्रमण गरेको इजरेलको दाबी छ।
इजरेली डिफेन्स फोर्सेसका अनुसार एउटा इजरेली लडाकु विमानले सिरियाली सीमाभित्र रहेको रकेट प्रक्षेपकहरूलाई लक्ष्य बनाई हमला गरिएको हो। बीबीसीबाट